सुचना, समाचार र मनोरन्जन

थानेश्वरको गीतमा पुष्प खड्कालाई ‘एक्सन-कट’ गर्दै माओत्से (फोटा र भिडियो सहित)

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

गायक थानेश्वर गौतमको नयाँ गीत “छुट्नलाई पो रैछ क्यारे” को छायाँकन पोखरामा गरिएको छ । कलाकार माओत्से गुरुङको निर्देशनमा तयार हुँदै गरेको म्युजिक भिडियोमा मूख्य अभिनयका रुपमा नायक पुष्प खडका र जानु पाखरेल रहेका छन् । म्युजिक भिडियो मार्फत नेपाली कलाकारिता क्षेत्रमा पर्दा उघारेका पुष्प यतिबेला चलचित्र क्षेत्रमा समेत व्यस्त नायकको रुपमा परिचित छन् भने जानु पोखरेलको उक्त गीतमा पहिलो अभिनय हो । उनले यही गीतमार्फत नै अभिनयमा डेब्यू गरेकी छिन् ।

गीतमा महिला आवाज शान्ति श्री परियारको रहेको छ । सँगीत थानेश्वर आफैले दिएका हुन् ।

करिब ६ लाख लगानीमा तीन दिन लगाएर छायाँकन गरिएको गीत दुई प्रेमीप्रेमीका बिचको जिवनकथामा आधारित रहेको निर्देशक माओत्से गुरुङले बताएका छन् । उनका अनुसार प्रेमीप्रेमीका शारिरिक वा भौतिक रुपले एक हुन सक्दैनन्, त्यही पनि उनीहरु एकअर्कालाई माया गर्न छोडदैनन जस्ता कथावस्तु गीतमा प्रस्तुत गरिएको छ ।

माओत्से गुरुङले गीतको भाव मन छुने भएकाले आफू निर्देशनका लागि तयार भएको बताए । उनले गीतको छायाँकन पोखराका रमणीय ठाउँमा गरिएको बताए । पोखराको नाट्यक्षेत्रमा अभिनय गर्दै आएका कलाकारलाई समेत म्युजिक भिडियोमा समेटिएको छ ।

गुणस्तरिय म्युजिक भिडियोका लागि अब काठमाडौं नै धाइराख्नु नपर्ने माओत्से गुरुङको दाबी छ । लगानीसँगै राम्रो टीम छनोट गरिएको खण्डमा पोखराबाट पनि स्थापित म्युजिक भिडियो निर्माण गर्न सकिने उनले बताए । यो भन्दा अगाडि गुरुङले ‘रुपै राम्रो रुपातालको’ र ब्रोसिस ब्याण्डको ‘मृग नयनी’ लगायतका गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

गायक थानेश्वर गौतमलाई माओत्से गुरुङसँग सहकार्य गर्न पहिलेदेखिको इच्छा थियो । आज आएर मात्रै सो इच्छा पूरा भएको उनले बताए । उनले भने,“माओत्से गुरुङ मलाई मन पर्ने कलाकार हुनुहुन्छ । उहाँको कलाको म प्रशंसक हुँ । उहाँ सँग काम गर्ने पहिलेदेखिको इच्छा थियो । समय जुरेको थिएन । कोरोना महामारीमा समय जुर्यो ।”

अभिनयसँगै कथावस्तुमा पनि माओत्से गुरुङ अब्बल रहेको उनले बताए । गीतको न्यायका लागि निर्देशनमा गुरुङलाई रोजेको उनले उल्लेख गरे । लकडाउनको दुई महिना अगाडि रेकर्डिङ भएको गीतमा प्रभा बर्तौलाको शब्द छ । जून गीतको म्युजिक भिडियोको छायाँकन बन्दाबन्दीका कारण रोकिएको थियो । असोज १३ गतेदेखि सुरु गरिएको म्युजिक भिडियोको छायाँकन आज सकिने उनले बताए । गायक गौतमले अबको १० दिन भित्र गीतलाई सार्वजनिक गर्ने तयारी सहित काम भइरहेको जानकारी गराए । गौतमको यसअघि लगभग ४ सयको हाराहारीमा गीत सार्वजनिक भइसकेको छ । जसमध्ये रामप्यारी चलचित्रको ‘छमछमती पाउजु बजाएर नाँच’, ‘स्याङजा गए पाल्पा गए बटौलीमा गइन’, ‘गाजल लगाइनछौं’ लगायतका गीत अलि बढी चर्चामा छन् । थानेश्वर पोखरामा छायाँकन गरिएको उक्त गीतबाट समेत आशावादी देखिन्छन् ।

नायक पुष्प खडका माओत्से गुरुङको निर्देशनमा काम गर्न सहज भएको बताउँछन् । एक अग्रज कलाकारको निर्देशनमा अभिनय गर्न पाउँदा खुशी लागेको उनले बताए । म्युजिक भिडियोमा आफू एक प्रेमीको रुपमा देखिएको उनले जानकारी गराए । आफ्नो म्युजिक भिडियो करिअरमै सबैभन्दा बढी समय लगाएर छायाँकन गरिएको म्युजिक भिडियो माओत्से गुरुङद्वारा निर्देशित रहेको उनले उल्लेख गरे । गीतबाट पुष्प पनि आशावादी देखिन्छन् । उनले भने,‘माओत्से गुरुङको कलाकारिताको म प्रशंसक थिए । आजबाट निर्देशनको पनि प्रशंसक भए । फरकशैली उहाँमा पाएको छु । आशा छ गीतले राम्रै सफलता पाउनेछ ।’

पछिल्लो समयको म्युजिक भिडियो निर्माणलाई पुष्प समयको परिवर्तनको संज्ञा दिन्छन् ।

तस्बिर / भिडियो : प्रेम थापा, परिचय नेटवर्क

कमेन्ट्स
Loading...