सुचना, समाचार र मनोरन्जन

नाम खोज्ने होइन, काम गर्ने इमान्दार नेतृत्वको खोजीमा छौं : मनकुमार श्रेष्ठ(अन्तर्वार्ता)

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल

पोखरा /

पोखरा महानगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अगाडि सारेको थियो । केही समय अघि यसले चर्चा पनि खुबै पायो । त्यसपछि विस्तारै सेलाउँदै गयो । अहिले फेरि प्रतिष्ठानका विषयमा पुन: चर्चा हुन थालेको छ । महानगरमा बन्ने प्रज्ञा प्रतिष्ठानको नेतृत्व कस्तो हुनुपर्ने विषयमा बेलाबेलामा छलफल समेत भइरहेको अवस्था हो । यस्तैमा पोखरा महानगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन समिति बनाई आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । जसको विज्ञ सदस्यका रूपमा मनकुमार श्रेष्ठ पनि रहेका छन् । पोखरा महानगर प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया कहाँ पुग्यो त सोही विषयमा श्रेष्ठसँग परिचय नेटवर्ककर्मी सन्तोष बस्यालले कुराकानी गरेका छन् :

  • पोखरा महानगर प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया कहाँ पुग्यो ? महानगरको प्रतिष्ठानमा कस्तो नेतृत्व सिफारिस गर्दै हुनुहुन्छ ?

हामी निरन्तर संवाद छौं । छनोट समितिमा रहेका हामीले स्वेच्छाचारी भूमिका निभाउनुभन्दा पनि महानगरमा बन्न लागेको प्रतिष्ठानलाई सबैले अपनत्व गर्न सक्ने कसरी बनाउन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिएका छौं । क्रियाशील संघ संस्थाहरू, एकेडेमी जिम्मा पाएर निपूर्णका साथ कार्यकाल सम्पन्न गरेर आउनुभएका प्राज्ञज्यूहरू, सम्बन्धित विधाका व्यक्तिहरूसँग राय—सल्लाह सुझाव लिने काम भइरहेको छ ।महानगरले बनाउन लागेको एकेडेमी स्थानीय तहमा नयाँ अभ्यास हो । यहाँ चुनौती र अवसर दुवै छन् । कम्तीमा प्रतिष्ठानमा नेतृत्व गरेर भोलि जानुहुने साथीहरूले चुनौतीलाई अवसरमा बदल्न सक्ने हुनुपर्छ । अन्य एकेडेमीमा कार्यरत प्राज्ञहरूले पनि यहाँबाट केही सिक्न सकोस् भन्ने हाम्रो चाहना हो । तसर्थ नेतृत्व छनोटमा दुई चार वटा कुरामा हामीले विशेष ध्यान दिएका छौं ।१.सम्बन्धित विधा वा क्षेत्रमा विशेष दख्खल वा योगदान पुर्‍याएका व्यक्ति२.विभिन्न संस्था(वाङ्मय संस्था) हरूले विश्वास गरेको वा अपनत्व लिन सक्ने व्यक्ति३.व्यवस्थापकिय पनलाई चुश्त दुरूस्त राख्न सक्ने व्यक्ति४.बोलीमा भन्दा काममा विश्वास गर्ने, कसैको अनावश्यक प्रलोभनमा नपर्ने, केवल संस्थाको हित चाहने,सफलतालाई मात्रै होइन असफलता वा कमजोरीलाई पनि सहर्ष स्वीकार गरी निरन्तर लागि पर्न सक्ने व्यक्ति ।

त्यसैले त्यो टीममा हामी महिलाको, जनजातिको, युवाको, उत्पीडितको अनि सम्बन्धित विधाको समेत प्रतिनिधित्व गर्ने व्यक्तिको खोजी गरिरहेका छौं । यी सबै कुराहरू खोज्दा केही समय ढिला हुनु स्वाभाविक हो । तर अब हामी करीब तयारीको अन्तिम क्षणमा छौं । अबको केही दिनमै यसले पूर्णता पाउनेछ ।

  • महानगरको नेतृत्व नेकपाले गरिरहेको र यहाँ पनि नेकपा निकट सांस्कृतिक मोर्चाको नेता भएको पृष्ठभूमिमा प्रतिष्ठानको नेतृत्व समावेशी खालको नआउने भन्ने चर्चा छ नि ? के भन्नुहुन्छ ?

 म अलि बढी नेल्शन मण्डेलाको जीवनीबाट प्रभावित छु । राम्रा काम गर्नेहरू हाम्रा पनि हुन् भन्ने कुरामा म विश्वास राख्छु । त्यसैले यो एकेडेमी आफैैंमा परिणाम खोज्ने ठाउँ हो । जहाँ पसिनामा विश्वास गरिन्छ । आफ्नो विधामा विश्वास गरिन्छ । भोलि के हुन्छ हैन आज के गरें भनेर प्रत्येक समयको समीक्षा गर्नेहरूले नै अवसर पाउँदैछ । यी मैले भनेका शब्दहरू पात्र आइसकेपश्चात आफैं मूल्याङ्कीत हुनेछन् ।पात्रहरूको विषयमा मलाई कसैको दबाब छैन । मैले पार्टीको अध्यक्षज्यू सँग पनि सल्लाह गरेको छु । मेयर मानबहादुर जिसीज्यूको पनि केही आफ्नै इन्टेन्शन छ कि भनेर पनि बुझ्ने प्रयास गरेको छु । तर उहाँहरूको सुझाव पनि रङ्ग पोतिएको हैन सम्बन्धित विधामा भावना पोतिएको आउनुपर्छ भन्ने छ । त्यसैले हामी खुल्ला हृदयका साथ छलफलबाट सबैको भावनाको प्रतिनिधित्व हुने गरी सिफारिस गर्ने तयारी गर्दैछौं ।

  • प्रतिष्ठानको सदस्य सचिवमा महानगरकै प्रमुख कार्यकारी रहने प्रावधान छ । के यसरी बनाइएको पदेन सदस्य सचिवले प्रतिष्ठानलाई प्राथमिकतामा राख्न सक्लान् ?

नगर सभाले ऐन पास गरिसकेको छ । अहिले हामीले गर्ने भनेकै ऐनले दिएको निर्देशन अनुसार नै हो । जहाँसम्म महानगर प्रमुख कार्यकारी सदस्य सचिव रहने भन्ने कुरा छ । उहाँको व्यवस्थापन पाटोलाई मध्य नजर गर्दै यो विषयले छलफलमा समेत राम्रै स्थान पाएको हो । मेयर साबले सबैको भावना बुझेरै पौषको नगरसभाबाट यसलाई सच्चाएर लैजाने प्रतिज्ञा गर्नुभएको छ । त्यसैले हामी पनि मेयर साबको शब्दलाई स्मरण गर्दै आशावादी बनेका छौं । अबको नगर सभाले ऐन सच्याउला ।

  • संघमा तीन वटा प्रष्ठिान हाल पनि कार्यरत नै छन् । प्रदेशमा पनि प्रतिष्ठान बन्दैछ । यस्तो अवस्थामा महानगरमा पनि यो आवश्यक हो र ? वा भनौं यसलाई प्रतिष्ठान नभनेर महाशाखा वा अर्को कुनै संरचना बनाउन सकिँदैन थियो र ? यस्ता गतिविधिले प्राज्ञ हुनुको वजनमा ह्रास ल्यायो भनेर पनि कतिपय अग्रजहरुको मत छ राखेका छन् नि ?

विसं २०१३ सालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाले एकेडेमीको परिकल्पना गर्नुभयो । सोही अनुसार २०१४ साल अषाढ ९ गते ‘नेपाली साहित्य कला एकेडेमी’को रूपमा यसको स्थापना भयो । विसं २०३१ सालमा पुन: नाम परिवर्तन भई ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ बन्न पुग्यो । २०६४ सालमा गणतन्त्रको स्थापना पश्चात फेरि यसको नाम परिवर्तन भएर ‘प्रज्ञा प्रतिष्ठान’ राखियो अथवा सोही समय तीन वटा एकेडेमीको आवश्यकता महसूस भयो र संगाीत तथा नाट्य, साहित्य र ललितकला गठन गरियो । आज तीनै वटा एकेडेमी गतिशील छन् । एकेडेमी गठन भएकै ६३ वर्ष तीन महिना पुग्यो । देशमा गणतन्त्र आएपश्चात सरकार नै संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजित भएको छ । यो समयको माग हो । त्यसरी नै साहित्य, संगीत, भाषा, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रमा चाहिँ के परिस्कृति आवश्यक छैन ? म त भन्छु यस्ता प्रतिष्ठित संस्थाहरू सरकारकै लगानीमा गाउँगाउँ सम्म पुर्‍याउनुपर्छ । यदि त्यसो गर्न सकियो भने हाम्रा संस्कृतिहरू हामी नयाँ पिढीमा हस्तान्तरण गर्न सक्छौं वा जोगाउन सक्छौं ।जहाँसम्म महानगरको कुरा छ, मौलिक सृजनात्मक वातावरण महानगरमा निर्माण गर्न पर्दैन ? के महानगरमा विद्धान तथा प्रतिभाहरूको सम्मान आवश्यक छैन ? भाषा, साहित्य, संस्कृति तथा सामाजिक शास्त्र सम्बन्धि अध्ययनको अन्वेषण के महानगरले गर्नुपर्दैन ? सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको प्रत्यक्ष सहभागिता के यहाँ आवश्यक छैन ? हाम्रा मौलिक संस्कृतिहरू जो लोप हुने अवस्थामा छन् त्यसको संरक्षणको आवश्यक महानगरमा छैन ? त्यसैले यसको आवश्यकता मनन् गरेर नै मेयर साबले एकेडेमीको प्रस्ताव ल्याउनु भएको हो । जो ऐतिहासिक हुन्छ । त्यसलाई हामीले केवल निस्वार्थ भावले सहयोग गरेका छौं ।अर्को कुरा प्रतिष्ठान भन्ने नभन्ने विषय त्यति उपयुक्त नहोला । महानगरले एउटा सर्वोच्च संस्थाको कल्पना गरिरहेको छ । जुन संस्था सम्पूर्ण वाङ्मय संस्थाहरूको पनि संरक्षक वा अभिभावकत्व लिने संस्था हो । यसले गर्ने कार्य र प्राप्त हुने प्रतिफल सिङ्गो महानगरसँग जोडिन्छ भने नाम प्रज्ञा प्रतिष्ठान राख्न के फरक पर्‍यो ? अनि प्रतिष्ठित संस्थामा जिम्मेवार प्राप्त गर्ने साथीहरूलाई प्राज्ञ भन्न किन अप्ठ्यारो मान्नुपर्‍यो ? त्यसैले मेरो त आग्रह नामको पछाडि हैन कामको विषयमा चर्चा गरौं भन्ने हो । यसको सफलतासँगै हाम्रो पनि सफलता ठान्यौ भने सबैको हित हुन्छ ।

  • अन्त्यमा, यहाँ त जनसांस्कृतिक महासंघ गण्डकी प्रदेशको नेतृत्व पनि गरिरहनुभएको छ । नेपालमा नै पहिलो पटक गण्डकी प्रदेशमा प्रज्ञा प्रतिष्ठानको विधेयक पारित भएर अब गठन प्रक्रिया शुरू हुने चर्चा चलिरहेको छ । त्यसको नेतृत्व गर्ने सम्भावित उम्मेदवारमा यहाँको पनि नाम बजारमा सुन्न पाइन्छ । यसमा के भन्नुहुन्छ ?

चर्चा स्वाभाविक हो । किनकि यसै क्षेत्रमा निरन्त छु । निरन्तर मात्र हैन नेतृत्वदायी भूमिका पनि निभाउँदै आएको छु । जहाँसम्म मेरो विषय हो, त्यो गौण छ । मेरो यो समयमा एउटै मात्र उद्देश्य छ कि राम्रो अनि इच्छाशक्ति भएका श्रष्टाहरूलाई त्यो जिम्मा दिन सकियोस् । बजारमा अहिले सबै थरिका मान्छेहरू दौडमा हुनुहुन्छ । कोही इमान्दार हुनुहुन्छ भने कोही नामका निम्ती मात्रै लाग्नेहरु हुनुहुन्छ । यदि भोलि यो अवसर नामका निम्ती मात्रै लाग्नेहरूले पाए भने कल्पना गर्नुस् संस्थाको हालत के होला ? त्यसैले विशेष गरी इमान्दार, क्षमतावना, इच्छाशक्ति, उत्कृष्ट व्यवस्थापक अनि त्यो पदमा बस्दा व्यक्तिको कारण पदको पनि गरिमा बढाउने श्रष्टाहरू पठाउन पायो भने सिङ्गो गण्डकी प्रदेशकै इज्जत बढ्थ्यो भन्नेमा छु । त्यसैले हामी यस्ता विषयमा पनि छलफल गरिरहेका छौं ।

कमेन्ट्स
Loading...