सुचना, समाचार र मनोरन्जन

पोखरा विमानस्थलमा ८० प्रतिशत यात्रु बोकेर आइपुग्यो बुद्धको विमान

  •  
  •  
  •  
  •  

प्रकाश कोइराला
पोखरा /

पोखरा विमानस्थलमा ८० प्रतिशत यात्रु बोकेर बुद्द एयर अवतरण गरेको छ । कोरोना भाइरसका कारण विगत ६ महिनादेखि ठप्प भएको आन्तरिक हवाई उडान आजदेखि सुरु भएपछि बुद्ध एयरले पहिलो उडान गरेको हो ।

कोरोना महामारीका समयमा सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै उडान गरिएको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर परासरजंग पाण्डेले जानकारी गराए । उनका अनुसार बुद्ध एयरमार्फत पोखरा आउने ५८ यात्रु स्वदेशी हुन् । विदेशी यात्रु एक जना पनि नभएको उनले बताएका छन् ।

सरकारले अनुमति दिएको खण्डमा जोमसोम, जुम्ला, सिमिकोट लगायत नेपालका हरेक पहाडी क्षेत्रमा उडान भर्न तयार रहेको पोखरामा सोमबार आयोजित गरिएको पत्रकार सम्मलेनमा जानकारी गराइएको छ । विमानयात्रामा भाडादर भने यथावत रहने बताइएको छ ।

विमान कम्पनीले यात्रा गर्दा यात्रुलाई फेससिल्ड अनिवार्य रुपमा उपलब्ध गराउने भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको छ । आजबाट उडानको लागि सबै तयारी पूरा भएको नागरिक उड्ययन प्राधिकरणले यसअघि जनाएको छ ।

उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाइएको पोखरा विमानस्थलका प्रहरी नीरिक्षक रामभक्त भट्टराईले जानकारी गराए ।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको थियो । सोमबारदेखि वायु सेवा कम्पनीले सत प्रतिशत यात्रु भरेर उडान गर्न पाउने छन् ।

कमेन्ट्स
Loading...