सुचना, समाचार र मनोरन्जन

विरेन्द्रले नामाकरण गरेको ‘शान्ति वन’ साँघुरिँदै : संरक्षण कम, फडानी बढी (फोटो र भिडियो )

सन्तोष बस्याल
पोखरा / 

विसं २०३८ सालमा राजा विरेन्द्र शाह ३७ औैं जन्मोत्सवको अवसरमा पोखरा आए । सो अवसरमा राजाले वनलाई अवलोकन गर्ने अवसर पाए । विरेन्द्रलाई यहाँको वातावरण शान्त लाग्यो । फलस्वरूप उक्त वनको नाम शान्ति वन हुन गयो ।

शन्ति वनको पूरा क्षेत्रफल दुई सय २५ रोपनी थियो । पोखरा महानगरपालिका ९, १० र ११ मा फैलिएको शान्ति वनलाई पहिले वैरागी बन भन्ने गरिन्थ्यो । रामघाटमा बैरागीहरूको बाक्लो बस्ती भएकाले तत्कालीन समयमा वनको नाम बैरागी राखिएको थियो । पछि राजा विरेन्द्रले शान्ति वन भनेर नामाकरण गरेको कुरा शान्ति यात्रा किताबमा स्पष्ट उल्लेख गरिएको छ ।

पहिलेदेखिनै शान्ति वन क्षेत्रलाई वन विज्ञान संस्थानले हेर्थ्यो । वडा ९ को शान्ति वन क्षेत्र मन्त्रिपरिषदबाटै निर्णय भएर वन विज्ञान क्याम्पसको भोगाधिकारमा छ । तर वडा नं १० मा भएको शान्ति वन क्षेत्रको रेखदेखका लागि विसं २०५८ सालमा वन विज्ञान अध्ययन संस्थानले आर्थिक भार नपर्ने गरी पत्र दिए पनि विभिन्न निकायबाट चासो नहुँदा वनको क्षेत्रफल खुम्चिँदो अवस्थामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष सम्झनादेवी अधिकारी बताउँछिन् ।

महानगर र प्रदेशको वन संरक्षणमा ध्यान नपुग्दा इतिहास बोकेको शान्ति वन पातलिँदै गएको छ । विभिन्न विकासको नाममा वन विनाश गरिएको छ । तत्कालीन समयमा पोखरा उपमहानगरपालिकाका मेयर कृष्ण थापा हुँदा पोखरा १० क्षेत्रभित्र रहेको शान्ति वनको २५ रोपनी जग्गा शवदाहगृहलाई छुट्याइएको थियो । स्थानीयबाट तारन्तार विरोध भएपछि शवदाह बन्न पाएको थिएन । अहिले फेरि पोखरा १० कै शान्ति वन क्षेत्रमा स्थानीयको विरोध हुँदाहुँदै शहरी विकासको केन्द्रीय बजेटबाट विद्युत्तीय शवदाहगृह बनाउन खोजिएको छ ।

वन फडानी गरेर बस्ती नजिक शवदाहगृह बनाउँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपर्ने अध्यक्ष अधिकारीको बुझाई छ । उनका अनुसार पोखरा १० रामघाटमा बनाउन लागिएको शवदाहगृहले नागरिकको उठीबास लगाउने निश्चित छ । बौद्ध अर्घौ सदनको जग्गा भन्दै शान्ति वनमा अनावश्यक बल प्रयोग गरेर रातारात डोजर लगाउनु निन्दनीय भएको उनले बताइन् । स्थानीयलाई खबरै नगरी, वातावरणीय मूल्यांकन नै नगरी आफ्नै अडानमा मात्र सरकारले शवदाहगृह बनाउन खोजेको गुनासो उनको छ ।

https://youtube.com/watch?v=etQepEAXbcE%3Fwmode%3Dtransparent%26rel%3D0%26feature%3Doembed

सम्झना अधिकारी रामघाट क्षेत्रमा बसोबास गर्न लागेको ३५ वर्ष भयो । पहिले र अहिलेको शान्ति वनमा उनी आकाश जमिनको फरक पाउँछिन् । पहिले एउटै ढिक्का फैलिएको शान्ति वन अहिले टुक्राटुक्रा भएको सम्झना बताउँछिन् । भन्छिन्, ‘शन्ति वन अब पहिलेको जस्तो रहेन । पहिले घना जंगल थियो । पृथ्वीचोक निस्कन पनि डर लाग्थ्यो । पोखरा ९ क्षेत्रमा जंगलको भाग रहेता पनि पोखरा १० मा भने जंगलको तीन भागमा एक भाग पनि छैन । विभिन्न संघसंस्थाहरूले च्याप्ने, वनविनास गरी अनावश्यक रूपमा संरचना निर्माण गर्ने प्रवृतिले यसको अस्तित्व हराएको महसूस हुन्छ ।’

बचेको वनलाई संरक्षण गर्ने गरी पार्कसहितको व्यवस्थापन गर्न सके लाभ लिन सकिने सम्झनाको बुझाई छ । पोखरा ९ क्षेत्रमा रहेको भागलाई वन क्याम्पसले हेरिरहेको छ । तर उक्त क्षेत्रको समेत सोचेजस्तो स्तरोन्नति हुन सकिरहेको छैन ।

एक वर्ष अगाडिसम्म उक्त क्षेत्रमा वनभोजका कार्यक्रम उल्लेखनीय हुन्थे । जसले वातावरण प्रदुषण गर्थ्यो । वनभित्र भएका चराचुरुङ्गीहरूको आवाज समेत सुन्न मुस्किल पर्थ्यो । कारण थियो- अनावश्यक ध्वनि तरङ्ग । त्यसपछि क्याम्पसले वनभोज कार्यक्रममा रोक लगाएको छ । वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष ३० लाख विनियोजन गरेकोमा उक्त रकम गार्डेनलगायत विद्यार्थीको अध्ययन अनुसन्धानका लागि खर्च गरिएको क्याम्पसका प्रमुख विनोद हेजुले जानकारी गराए । उनले भने, ‘पोखरा ९ मा भएको शान्ति वन क्षेत्रलाई हामीले कम्पाउन्ड घेरी संरक्षण गरिरहेका छौं । गत वर्षको प्रदेश सरकारको बजेटले उक्त क्षेत्रमा गार्डेन निर्माणको काम अगाडि बढ्यो । अहिले पनि डिभिजन वन कार्यालय मार्फत १० लाख विनियोजन भएको छ । सो रकम पनि वनको स्तरोन्नतिका लागि खर्च गर्ने तयारीमा छौं ।’

वन विनाशले विकास सम्भव छैन । कालान्तरमा यसले सबैलाई दु:ख दिने निश्चित छ । जथाभाबी वन फडानी गरी बस्ती बसल्दा बाढीपहिरोले सताएका उदाहरण हाम्रो समाजमा धेरै छन् । त्यसैले महानगर, प्रदेश सरकार, वन विज्ञान अध्ययन संस्थान, वन क्याम्पस र डिभिजन वन कार्यालयले समयमा ध्यान पुर्‍याए शान्ति वनको अस्तित्व जोगिने सम्झना बताउँछिन् ।

पोखरा ९ को क्षेत्रभित्र रहेको शन्ति वनका केही तस्बिरहरु :

तस्बिर र भिडियो : प्रेम थापा, परिचय नेटवर्क

कमेन्ट्स
Loading...