सुचना, समाचार र मनोरन्जन

दार्जलिङबाट पोखरा आएर तरक्की गरेकी गायिका

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल

पोखरा / 

नेपाली गीतसँगीत क्षेत्रको उत्थानमा दार्जलिङको महत्वपूर्ण योगदान छ । त्यहाँका थुप्रै कलाकारहरु नेपाली गीत गाएरनै स्थापित भएका छन् । तिनै स्थापित हुने कलाकारमा पर्छिन अजुदा थापा । पोखरालाई कर्म थलो बनाएर तरक्की गर्ने गायिका मध्ये हुन् उनी ।

आजभन्दा २४ बर्ष अघि अजुदाथापा (४३) सँगीतकै शिलशिलामा पोखरा प्रवेश गरिन् । वि.सं २०३४ साल फागुन १८ गते दार्जलिङको सुखेपोखरीमा जन्मिएकी उनी एक साँगीतिक टोलि सँग पोखरा आएकी थिइन् । पोखरामा राम्रो भए काम गर्ने, नभए घुमेर फर्किने उनको योजना थियो ।

सानै उमेरमा बुबा–आमा गुमाएकी अजुदाले १० कक्षा दार्जलिङकै स्कुलबाट पास गरिन् । तीन दाजुभाईकी एक्ली बहिनी उनले दाइकै साहरामा स्कुल पढ्ने मौकापाइन् । घरमा हँुदा होस या स्कुलमा होस, जति बेला पनि उनी गीत गुनगनाई रहन्थिन् । उनी भन्छिन्, ‘दार्जलिङमा गीत सँगीत भनेपछि सबै पागल हुन्छन् । सायद त्यहि भएर होला गीत गाउने भनेपछि साह्रै रमाइलो लाग्थो ।’

‘तु सायर हे…’ बोलको हिन्दी गीत पहिलो पटक उनी ८ कक्षामा हुँदा गाएकी थिइन् । जसले स्कुलमा सबैको मन जित्यो । दार्जलिङमा हिन्दी गीत धेरै सुनिने हुँदा उनले हिन्दीगीत नै बढी गाउने गर्थिन् । नेपाल आएपछि भने उनले चलचित्र ‘युग देखि युगसम्म…’ को ‘तीनपाते डाँडा काटेर…’ बोलको गीत गाएकी थिइन् ।

सानैदेखि गायन क्षेत्रमा रुची भएपनि यसरी पेशा बनाउँछु भनेर अजुदाले कहिल्यै सोचेकी थिइनन् । गाउँदै गीत–सँगीतको बारेमा बुझँदै गर्दा यो क्षेत्रमा कसरी घुलमिल भइन् उनी आफैलाई पत्तो छैन । तर आज उनी यहि पेशामा रमाएकी छिन् । भन्छिन्, ‘अब त म सँगीत बिना अधुरो छु । जीवनको अन्तिम पथसम्म यो बाहेक अरु विकल्प छैन ।’

अजुदा सँगीतनै सिकेर यस क्षेत्रमा आएकी भने होइनन् । अनुभव र परिवेशले उनलाई गायिका बनायो । पोखरा आइसकेपछि एक हप्ता जति सँगीत शिक्षा लाक्पा लामा सँग भने लिइन् । उनी भन्छिन्, ‘कुनै कुरा सिक्ने भन्दा पनि आफुमा इच्छा शक्ति हुन आवश्यक पर्ने रहेछ । सायद यहि भएर अहिलेसम्म टिक्न सकिरहेकी छु ।’

आफुले गरेको कामबाट अजुदा सन्तुष्ट रहेको बताउँछिन् । ‘कलाकारिता क्षेत्र भनेको अरुलाई मनोरञ्जन गराउने क्षेत्र हो’, उनी भन्छिन्, ‘आफु जस्तोसुकै अवस्थामा भएपनि अरुलाई मनोरञ्जन गराउनु पर्छ ।’ लामो समय अजुदा पोखराको पुरानो रेष्टुरेण्ट ओपन हाउसमा आबद्ध रहिन् । पुराना हिन्दीनेपाली गीत उनको आवाजबाट सुन्नेहरुको जमात पनि पोखरामा बाक्लो छ । कति आए कति गए तर उनको निरन्तरता र लगावले उनलाई यो स्थानमा पुर्याएको आभाष हुन्छ ।

अनभुवका आधारमा अजुदा भन्छिन,‘पहिला–पहिला रेष्टुरेण्ट तथा बारमा गाउने महिला कलाकारलाई गलत नजरले हेरिन्थ्यो । सकारात्मक दृष्टिले हेर्ने मानिसहरु कमै भेटिन्थे । त्यतिबेलाको सामाजिक परिवेशनै त्यस्तै थियो ।’ अहिले साँगीतिक क्षेत्रमा विस्तारै परिवर्तन हुँदै गएको उनी पाउँछिन् । रेष्टुरेण्टमा गाउने महिला कलाकारहरुको अवस्था अहिले पहिले जस्तो नभएको उनी बताउँछिन् । हरेक किसिमले महिलालाई सहयोग गर्न थालिएको छ ।

धेरै अवसरहरु आएपनि समय दिन नपाउँदा महिलाहरु अझै अवसरबाट बञ्चित हुनुपरेको उनी बताउँछिन् । भन्छिन, ‘विवाह नगर्दा समाजको चिन्ता, विवाह पछि परिवारको चिन्ता र छोराछोरी भएपछि उनीहरुको चिन्ताले कलाकारितामा महिलाहरु कुण्ठित हुुनुपरेको अवस्था छ ।’

‘महिलाहरुमा पनि धेरै क्षमता छ । तर घर परिवारबाट टाढा हुन नसक्दाँ अवसरहरु धेरै गुमाउँनु परेको छ ।’

पहिला र अहिले गीत सँगीतमा पनि निकै फरक रहेको अजुदा सुनाउँछिन्् । उनी भन्छिन्, ‘पहिला–पहिलाको गीतहरुमा छुट्टै मिठास हुने गथ्र्याे । पछिल्लो समय गीतसँगीतको बजार झनै साँघुरो हुदै गएको छ । चर्चाको हुटहुटीमा गीतको मौलिकता लाई बिर्सेका छौ हामी कलाकारले ।’

पूर्वाधारको विकास सँगै गीतसँगीतमा विकृती पनि आएको उनको बुझाइ छ । केही राम्रा गीतहरु पनि यो बिचमा सिर्जना भएको उनी बताउँछिन् ।

‘चोलि फाट्यो मखमल…’, ‘कहाँ बाट आयौ तिमी…’, ‘धौलागिरी अञ्चल…’, ‘वनमा फूल्यो लाली गुराँस…’, आहा रारा गोल्ड कप गीत लगायतका उनका थुप्रै चर्चित गीतहरु छन् । उनले नेपाली भाषामा मात्र नभई थकाली भाषाको गीतमा समेत आवाज दिएकी छिन् ।

भजनबाट उनको गीतसँगीतको औपचारिक रेकर्डिङ सुरु भयो । ‘चौरीको गोठमा म जाँदा…’ उनको तेस्रो रेकर्डिङ गीत हो जसलाई दर्शकस्रोताले खुबै मन पराएका थिए । हाल सम्म अजुदाको आवाजमा करिब ९० बढी रेकर्ड भइसकेका छन् । यतिमात्र नभई उनीसँग थुप्रै स्टेज शोहरुको अनुभव छ ।

२२ बर्ष देखि पोखरामा निरन्तर सँगीत सँघर्षले उनलाई मेलोडी गायिकाको रुपमा परिचित गराइन्छ । दार्जलिङकी अजुदा थापाको विवाह समेत पोखरामानै भयो । कन्दरा ब्याण्डका ड्रमर तथा सँगीतकार सुनिल थापासँग उनको प्रेम विवाह भयो । सँगीतबाटनै उनीहरुको जोडी जुर्यो ।उनीहरुका एक छोरा एक छोरी छन् ।

सँगीत क्षेत्रमा लागेर मात्र बाँच्न सकिने आधार निकै कम रहेको उनको अनुभव छ । भन्छिन्,‘अहिले एउटा गीत रेकर्ड गरेर मात्र हुँदैन त्यहिअनुसार भिडियो चाहिन्छ । बजारमा आएपनि दर्शकले मन पराउनु हुन्छ, राम्रोसँग चल्छ भन्ने पनि छैन ।’

सँगीतमा लाग्ने नयाँ पुस्तालाई सँगीतको बारेमा राम्रो शिक्षा लिएर आउन उनको आग्रह छ । सिक्ने मौका अहिले नै हो । जति सकिन्छ सँगीतका बारेमा सिकेर आउँदा सजिलो हुने उनले सुझाइन् । भविष्यको योजनाको के छ ?भनेर सोध्दा अजुदा भन्छिन्, ‘आफ्नै एउटा एल्बम निकाल्ने ठुलो योजना छ । त्यो समय मेरो जिन्दगीमा अवश्वरणीय क्षण हुनेछ ।’

तस्वीर : अजुदा थापाको फेसबुकबाट

कमेन्ट्स
Loading...