सुचना, समाचार र मनोरन्जन

अमेरिकामा रहेका फिल्मकर्मीहरुको पहिलो भेला सम्पन्न

काठमाडौं  : 

अमेरिकामा रहेका नेपाली फिल्मकर्मीहरुको पहिलो भेला सकिएको छ । आर्थिक तथा अन्य समस्यामा रहेका नेपाली फिल्मकर्मीहरुलाई बेला बेलामा आर्थिक सहयोग प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा निर्माता, निर्देशक तथा कलाकारहरुबीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली फिल्मको विकास र बिस्तारमा कसरी सहयोग पु¥याउने भन्ने विषयमा छलफल भएको निर्देशक सुमन दाहालले बताए । उनका अनुसार अमेरिकाको विभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका नेपाली फिल्मकर्मीहरुको भेटघाट कार्यक्रम अमेरिकामा पहिलोे पटक सफलतापूर्वक सम्पन्न भएको छ । अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा जुलाई २९–३० भएको उक्त भेलामा फिल्मकर्मीहरुले परिवार सहितको उपस्थिति जनाएका थिए ।

सो भेटघाटमा करिव ६० जना फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । उपस्थित हुनेहरुमा निर्देशक किशोर सुब्बा ,दिनेश कार्की ,कृष्ण चापागाई ,गोपाल चन्द्र लामिछाने ,अनिल संगौला,सुमन दाहाल, शिवहरी पौडेल ,मनोज तिमिल्सिना तथा बिकास घले रहेका थिए भने अभिनेताहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति रहेको थियो । अभिनेत्रिहरूमा अरूणा कार्की, सम्झना खड्का अनुशुया श्रेष्ठ वन्तको उपस्थित थिए भने अन्य कलाकारहरुमा गोपाल अधिकारी ( ट्वाकेन्द्र ),निर्मातामा ध्रुव वन्त , पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो ।

यसैगरी गायिका पविता परियार ,गायक तिलक श्रेष्ठ ,कलाकार रंजन बुढाथोकी ,गीतकार अग्नि शर्मा ,नृत्य निर्देशक देवी थापा, निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए । उक्त भेटघाट कार्यक्रमको खानपिनको व्यवस्था बबी संग्रौला(पत्नी अनिल संग्रौला)ले गरेकी थिइन् भने सहयोगीको भूमिका दिपक मणि शर्माले गरेका थिए ।

निर्देशक अनिल संग्रौलाले आयोजना गरिएको उक्त कार्यकममा उपस्थिति जनाउनु हुने सबैमा आभार व्यक्त गरे । अर्को वर्ष अझ धेरै चलचित्रकर्मी जम्मा भएर चलचित्र उधोगलाई धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिवद्धता सहित सो भेला सम्पन्न भएको पनि दाहालले बताए । निर्देशक सुमन दाहालका अनुसार यस भेटघाटपछि अर्को वर्ष पनि भेटघाट कार्यक्रमको आयोजना गरिने समेत बताए ।

कमेन्ट्स
Loading...