सुचना, समाचार र मनोरन्जन

नेपाली चिया काका र अम्रिकाने विलियम

  •  
  •  
  •  
  •  

जिएस नेपाली /

                                                                              अमेरिका अनुभव…

अमेरिकाको नर्थक्यारोलिना राज्यस्थित आइसभिल सहर पोखरा जस्तै पर्यटकीय र पहाडले घेरिएको सुन्दर उपत्यका हो । यसै आइसभिलदेखि दक्षिण पूर्वमा घुमघामका लागि महत्वपूर्ण पर्यटकीय स्थल छ ‘चिम्नी रक’ । विशाल पहाड र पखेरामा रहेको ठूलो चट्टानमा अमेरिकाको राष्ट्रिय झण्डा सधंै फरफराइरहेको हुन्छ । तल बोड नदी, लुरे ताल साथै वरपर जङ्गल र पहाड देख्दा मलाई नेपालको कुनै अनकन्टार पहाडी पखेरामा छु जस्तो भान हुन्छ । त्यहाँसम्म पुग्ने बाटो, फलामे सिँढी र पूर्वाधार संरचना देख्दा झसङ्ग हुन्छ, मन नेपालमा भए पनि ज्यान त अमेरिकामा पो रहेछ भन्ने । फेदीमा बग्ने बोड नदी किनारै किनार फराकिलो राजमार्ग छ । हाइवे आसपास सानो बजार छ । त्यही सानो बजारमा छ विलियमको कफी अन दि रक्स । नाम सुन्ने वित्तिकै महसुस तपाईंलाई पनि भयो होला के रहेछ भन्ने ।

संसारकै भूस्वर्ग जस्तो सुन्दर देश नेपालको पर्यटकीय सहर पोखरादेखि उत्तर झण्डै २५ किमि टाढा ५ हजार ५ सय ८७ मिटर उचाइको मर्दी हिमाल छ । साथमा अत्यन्त मनमोहक हेरेर र देखेर धित नमर्ने ‘भर्जिन फिस्टेल’ पनि । यिनै दुई दिदीबहिनी हिमालको काखमा ४२ सय मिटर उचाईमा छ ‘मर्दी हिमाल भ्युप्वाइन्ट’ । तल दक्षिणतर्फ पोखरा उपत्यका र अरू तिनतिर हिमाल नै हिमाल देखिन्छ । अमेरिकाको ‘चिम्नी रक’ मा जस्तै यहाँको भ्यु प्वाइन्टमा पनि चन्द्रसूर्य अंकित नेपाली झण्डा फरफराइ रहेको एक चियापसल छ । मर्दी हिमाल पदयात्रामा प्रख्यात उक्त चिया पसलका सञ्चालक हुन ‘चिया काका’ उर्फ टङ्कप्रसाद गौतम ।

‘कफी अन दि रक्स’ का विलियम कलेज ग्राजुयट भएपछि के गर्ने भन्ने सोच्दै थिए । उनले कलेजमा ‘एन्टिक कलेक्सन’ विषय पढेका थिए, रुचि र चासो पनि त्यसैमा थियो तर धेरै पैसा थिएन । जहाँ इच्छा त्यहाँ उपाय भने झैं विलियमले ‘चिम्नी रक’ मा गएर चियाकफी पसल खोल्ने बिचार गरे । कफी सपलाई फ्युजन गराए एन्टिक सामान कलेक्सन र फोटोग्राफीको । वार्षिक १ करोड ७० लाख पर्यटक घुम्न आउने सो चिम्नी रक स्टेट पार्कको प्रवेशद्वार नजिकै रहेको उनको कफी सप छ । पूरानो चिजवस्तुको सङ्ग्रहसँगै उनको मेहनतपूर्ण साजसज्जा देखेर अनौठो कफी सपमा पर्यटक भित्र छिर्ने वित्तिकै अचम्म मान्छन् । विलियमको चियापसलमा नै फोटो खिच्ने स्टुडियो पनि छ, जसमा पूरानो जमनाको अमेरिकन पोशाख लगाएर फोटो खिच्न पाइन्छ । त्यहाँ सानो पुस्ताकलय पनि छ, कफीको चुस्कीसँगै केही पाना पढ्ने सुविधाका साथै फोटोकपी गर्न पनि पाइन्छ । चकलेट, विस्कुट र केही क्युरियोको सामान देखिन्छ । विलियम भन्छन्– पर्यटक खासमा कफी खान आउँछन् तर यो सबै जिनिस देखेर अर्कै आनन्दमानेर जान्छन् ।

नेपालमा सन् २०१९ मा सबैभन्दा धेरै १२ लाख पर्यटक आएको आकडा छ । यी मध्ये केही विदेशी र धेरै नेपाली गरी हजारांै पर्यटक मर्दी हिमाल पदयात्रामा आउँछन । मुख्य गन्तव्य भ्युप्वाइन्ट पुग्न हाई क्याम्पबाट २ घण्टा ठाडै उकालो हिड्नुपर्छ । हाइ क्याम्पमाथि न पानी पाउँछन् न त कुनै पक्की घर नै । चिया काका हाइ क्यापमा रहेको आफ्नै भतिजाको ट्रेकर्स होटलमा बस्छन् । झिसमिसे विहान ४ बजे चिया काका उठ्छन् र होटलमा रहेका सवै पर्यटकलाई उज्यालो हुन लाग्यो, उठ् बाटो लाग, भन्दै कराउँदै उकालो लाग्छन् । उनी त्यो उचाइको उकालोमा पर्यटक झै रित्तै वा क्यामेरा भिरेर जाँदैनन् । उनले त चियाका लागि पानी, चियापत्ती, चिनी र अन्य बिस्कुट चकलेटको पोकाहरू भाँग्रामा हाल्छन् अनि सिधै उकालो लाग्छन् ।

३५ सय मिटर उचाइको हाइ क्याम्पबाट ४२ सय मिटरको भ्युप्वाइन्ट पुग्न सामान्य मान्छेलाई २ घण्टा लाग्छ । तर त्यो ठाडो उकालो ५० कटेका चिया काका भारी बोकेर डेढ घण्टामा उक्लिन्छन् । सँगै हिँडेका पर्यटक भ्युप्वाइन्ट पुग्दा नपुग्दै उनको चिया उम्ली सकेको हुन्छ र तिनै आगन्तुकलाई त्यो चिसो सिरेठो चल्ने डाँडोमा तातो चियाले स्वागत गर्छन् । पूर्वबाट सूर्योदयले ज्योति छरेर वरिपरीका सेता हिमाललाई सुनौलो रंगले लेपन गर्दाको मनमोहक दृश्य क्यामेरामा कैद गर्न त सकिएला तर शब्दमा वर्णन गर्न कठिन छ । तातो चियाको चुस्कीसँगै चिसो हिमाल हेर्दा घुम्न जाने जो कोही प्रकृतिप्रेमी मन प्रफुल्लित बन्छन् । निकै फरासिला र रमाइला चिया काका त्यसै डाँडोको फेदी कास्की कै सिदिङ गाउँका बाहुन हुन् । पहिले उनी हाइ क्याम्पतिर गोठ आउँथे, उनैका दाजुले हाइक्याम्पमा होटल व्यवसाय गरेपछि उनले पनि माथि भ्युप्वाइन्टमा चिया व्यापार गर्न थालेको दशक भइसकेछ ।

सन् २०१२ मा नेपाल सरकारले औपचारिक रूपमा मर्दी हिमाल रुट खोलेपछि उनी निरन्तर यही पर्यटकलाई चिया खुवाइरहेका छन् । उनी भन्छन्– नयाँनयाँ मान्छेसँग दिनहु भेट हुन पाउँदा र यो अति मनोरम तथा विकट चिसो ठाउँमा तातो चियाले सवैलाई खुसी बनाउन पाउँदा म पनि रमाउँछु चियामा चिनी घोलिए झै । यहाँ आउने पर्यटकलाई कुन हिमालको नाम के हो ? उचाई कति छ ? जिन्दगी के रहेछ ? भन्ने उत्तर बताइ रहन पाउँदा मनै हरर हुन्छ । धेरैले मसँग सेल्फी खिच्छन अनि यो उचाइमा आएको प्रमाणित गराउँछन्, म मान्छेदेखेर दंगचित पर्छु । हिमाल जसरी नै टङ्कप्रसाद गौतम पनि चियाकाकाको नामले प्रख्यात छन् । त्यहाँ पुग्ने जो सुकैले पनि गौतमले बनाएको तातो चिया खाएका छन्, सेल्फी खिचेका छन अनि सामाजिक सञ्चालमा भाइरल भइरहेका छन् । नेपालको पर्यटन डिस्कोर्समा चियाकाका पर्छन पर्दैनन् थाहा छैन् । तर काठमाडांै गेस्ट हाउसका कर्ण शाक्य, यति गु्रप र अन्य घनाढय एवम् पहुँचवाला साहुहरू मात्र पर्यटन व्यवसायीमा स्वघोषित अब्बल मानिदाँ थुप्रै चिया काकाहरू ओझेलमा परेका छन् ।

अमेरिकाका विलियम जसले पर्यटकलाई केवल कफी बेच्छन्, उनी आफ्नो र सरकारसँग खुसी छन् । उनी आफू अन्टरपे्रनियर बनेकोमा गद्गद् छन् । आफ्नो काम सजिलै गरेका छन् अन्य भौतिक सुविधा, नीति नियमको व्यवस्था त सरकारले नै मिलाएको छ । उनले त सरकारलाई असल नागरिकका हैषियतले वार्षिक कर तिरे पुग्छ । विलियमले यो पंक्तिकारसँग भनेका थिए– अमेरिकाको कुनै धनी व्यवसायीको भन्दा मेरो हैषियत कम छैन् । तर हाम्रा चिया काका टङ्कप्रसादलाई पर्यटन व्यवसायी भन्ने कि नभन्नेमा नै शंका छ । समाज, सरकार र पर्यटन नीति नै उनका लागि अस्पष्ट छ ।

चिया काकाले आफ्नै बलबुता र परिश्रमले ७ सय मिटर तलको हाइ क्याम्पबाट दिनहुँ पानी र सरसामान बोकेर ४२ सय मिटर उचाइको नाङ्गो डाँडामा चिया बेचिरहेका छन् । पर्यटकको सेवामा खटिएका वास्तवमा उनी सच्चा पर्यटनकर्मी हुन् । चियासँगै उनले पर्यटनको प्रवक्ता भएर हिमाल र नेपाल चिनाइरहेका छन् । पर्यटक विरामी भएमा वा समस्या भएमा उद्धार गर्छन्, फोन गरी रेक्क्यु हेलिकप्टर बोलाउँछन्। चिया काका रमाइलो पारामा भन्छन्– चिनजानका कारणले नै कयौं पटक फोकटमा हेलिप्टर चढेर पोखरा पुगेको छु । हेलीमा नै सामान मगाइदिन्छु । कसैले हेपेर चिया पसेले भने पनि धरैको सम्मान पाएको छु ।

चिया काकाको गुनासो पनि छ, पैसाका लागि मात्रै व्यवसाय गरेको त होइन तर पनि मानवीय सेवा पनि परि आउँदा गरेको छु । उमेरमा त उकालो ओरालो गरिएकै छ । तर कति दिन सकिएला र खै, बुढेसकालमा के गर्ने सोच्न भ्याएका छैनन् उनले । आफ्नै गाउँमा सामान्य घर छ, चियाले नै छोराछोरी पढाएका छन् । प्रकृतिको काखमा काम गर्दा रमाएका छन् । पर्यटनले चिया काका जस्ता हजारौं पर्यटकका सहयोगीलाई सुखदुःखमा साथ दिने नीति बनाउनु हितकारी हुन्छ ।

कमेन्ट्स
Loading...