सुचना, समाचार र मनोरन्जन

प्रिय सोफिया, प्रगति र परिर्वतनमा पृथकता छ

जिएस नेपाली /

                                                                                        अमेरिका अनुभव….

अमेरिकाको फ्लोरिडा राज्यमा जन्मे हुर्केकी सोफियाको उमेर ३० वर्ष मात्रै हो । सोफियाले फ्लोरिडाको टेम्पा सहरमा हाइस्कुल सकेर भर्जिनिया युनिभर्सिटीबाट मास्टर्स डिग्री गरी रोजीरोटीको खोजी गरी । विभिन्न ठाउँमा काम गर्दै जाँदा उसलाई क्यालिफोर्निया मन परेछ । कारण थियो, यहाँको हावापानी र काम गर्ने राम्राराम्रा कम्पनी । त्यसैले सान फ्रान्सिको बे एरिया सानहोजेमा घर किनेर बस्दै आएकी रहिछ ।

म नेपालबाट भाग्य खोज्न अमेरिका हानिएको थिएँ । म उबर ड्राइभर, तर मेरो मुख्य गरी खाने पेशा यो थिएन । यात्राप्रेमी भएकाले फुर्सदमा केही थप आय आर्जन गर्न मैले उबर चलाउन थालेको ३ वर्ष भैसकेको थियो । उबर नेपालको ट्याक्सी ड्राइभर जस्तै काम भए पनि केही भिन्नता छ । यसमा एपबाट बुकिङ हुने र पैसा पनि यात्रुले सिधै नदिएर उबरमार्फत् आउँछ , त्यसैले खास पैसा माग्ने झन्झट पनि हुँदैन । यात्रु र ड्राइभर दुवैको सबै जानाकारी उबर कम्पनीलाई हुने हुँदा कुनै डर पनि हुँदैन ।

एकदिन म उबरको एप खोलेर एप्पलको हेडक्वाटर नजिकै कुपर्टिनोमा थिएँ । उही यात्रु सोफियाको घन्टी बज्यो । म उसको लोकेसनमा पिकअप गर्न गएँ । हेर्दामा सुन्दर र राम्री, चिटिक्क परेको लुगा लगाएकी, गोरी सोफियासँग भेट भयो । अझ् भनौं मेरो कारमा नै सवार उसलाई कुपर्टिनोबाट झण्डै ४५ मिनेटको दूरीमा रहेको सानफ्रान्सिस्को एयरपोर्ट जानु थियो । एसएफओ एयरपोर्ट जान समथर १०१ हाइवे लिए पनि हुन्छ र डाँडैडाँडा मनोरम दृश्य हेर्दै जाने २८० हाइवे लिए पनि हुन्छ तर मेरो प्राय रोजाई रमणीय बाटोको नै हुने गर्छ । बिहानको समय व्यस्त हाइवे २८० मा हामी गुड्दै थियौँ । मैले १०६ दशमलव ५ एफएम बजाइरहेको थिएँ । यो सिलिकन भ्यालीमा बज्ने धेरै रेडियो मध्य मलाई अति मनपर्ने एफएम रेडियो हो ।

आरजे जुवलले आफ्नो प्रिय कार्यक्रम ब्रेकिङ जुवलमा भन्दै थिए– एरिजोनाको एक अनकन्टार ठाउामा ७ दिनका लागि समय बिताउन सक्ने मान्छेको खोजी भैरहेको छ । जस्लाई २० लिटर पानी दिइने छ केही सीमित खानेकुरा अनि केही अन्य बन्दोबस्तीका कुरा । तर त्यस स्थानमा न त बिजुली नै हुनेछ न त पानी । न त बाटो न त समाज । २० लिटर पानीले नै खाना बनाउने देखि नुहाउनेसम्म गर्नुपर्नेछ । यस्ता यावत कुरा जुवलले रेडियोमा बोलिरहँदा पछाडि बसेकी सुन्दरी सोफिया अचम्म  मानेर जिब्रो टोक्दै पानी बत्ती नभएको ठाउमा कसरी बाँच्न सकिन्छ है भन्दै मलाई सोध्दै थिइन । अमेरिकाको सुविधासम्पन्न समाज, परिवारमा हुर्केकी जवान केटी सोफियालाई अभाव र कष्टकर जिन्दगी केवल सिनेमाका कथा र दृश्य थिए ।

उवर चलाउँदाको अनुभवले सिकाएको कुरा यात्रुसँग उसको मनोभावना नबुझी धेरै बोल्नु हुँदैन किनकी कोही धेरै बोल्न रुचाउँदैनन् । आफ्नै संसारमा मग्न हुने धेरै अमेरिकनको स्वभाव हुन्छ । सामान्य हाई, हेलो जस्ता औपचारिक शब्दवाहेक धेरै यात्रु खासै कुरा गर्दैनन् । कोही रिसाहा खालका हुन्छन् भने कोही हँसिला कुरा गर्न चाहने फतुरा पनि हुन्छन् । बोल्नेसँग नबोले फेरि कति मिन रहेछ अर्थात् नेपालीमा ठ्याक्कै भन्दा घोसे रहेछ भन्ने ठान्छन् । बोल्नेसँग बोलेर बाटो काट्दा रमाइलो पनि हुन्छ । मैले पनि सोफिया भाव बुझेँ, उनी निकै फतुरी सुन्दरी जस्तो लाग्यो । अनि मलाई त्यसैबेला गाउँको याद आयो । मैले भने– यदि तिमीले मेरो भनाइमा सत्यता ठान्छेउ भने म तिमीलाई मेरो आफ्नै वास्तविक जीवनयात्रा भन्छु, सुन्न चाहान्छौ ? सोफियाले निकै जिज्ञासु भएर कान थापी, म भने मेरो वाल्यकालको अवस्थाका भोगाई सम्झदै ऊ बेलाको मेरो गाउाको बारेमा भन्न थालेँ । रेडियोको आवाज कम गर भन्दै उनले निकै चाख मानेर सुन्दै गइन । मैले आफ्नो काहनी सोफियाको कानमा यसरी सुनाएँ–

मेरो वास्तविकता २० वर्षको उमेरमा मात्र घरमा बिजुली बत्ती बालेको हुँ । त्यस अघि हामी मट्टीतेलको टुकी बाल्थ्यौ । टुकी बालेर नै मैले हाइस्कुल सके । हाम्रो घरबाट करिब १५ मिनेट हिँडेर पघेँरोमा पानी लिन जानुपर्थ्यो । बाल्टिन वा गाग्रीमा ल्याएको पानि निकै जतन गरेर खर्च गर्नु पर्थ्यो । नुहाउन त हप्ता दिन कुर्नु पर्थ्यो । स्कुल जान १ घण्टा पैदल हिड्नु पथ्र्यो । प्राय हामी स्कुल पनि खाली खुट्टा जान्थेऊ । नुहाउनका लागि हप्तामा एक पटक स्कुल विदा भएको दिन कतै पधेँरातिर वा खोलातिर जानु पथ्र्यो । हामीलाई हाम्रो अभिभावकले बर्षमा एक पटक अझ् बडा दसैंमा एक जोर कपडा ल्याइदिनु हुन्थ्यो । बाँकी समय तिनै लुगा सिलाएर टालेर लाउथ्यौँ । हामीले दाउरा बालेर पकाएर खाएर नै हुर्कियौं । घर नजिक ट्वाइलेट थिएन, घरबाट नजिकैको पाखोतिर वा खोल्सा, जंगलतिर जानु परथ्र्यो ।

निकै उत्सुक र आश्चर्य हुँदै बिचबिचमा सोफियाले टुकी भनेको के हो ? जस्ता प्रश्न गर्दा त्यसको उत्तर खोज्न मलाइ नै गाह्रो हुन्थ्यो । लालटिन अर्थात् ल्यानट्रनको पूरानो रूप भनेर व्याख्या गर्नु पथ्र्यो । मैले आफ्नो अतीत भन्दै गएँ– मेरो गाउँबाट अझ् मोटरबाटो पुग्न ४ घण्टा पैदल यात्रा गर्नु परथ्यो । हाम्रो घरमा चाहिने नुन, मट्टीतेल जस्ता बजारबाट ल्याउनु पर्ने आवश्यकीय सामाग्री डोकोमा बोकेर ल्याउनु पथ्र्यो । करिब पन्ध्र वर्ष हुँदा मात्र मैले मोटर देखेको थिएँ । मोटर २ सय मिटर पर देख्दा डराएर तर्सिदै टाढा भागेको थिएँ ।

सोफिया अचम्मित हँुदै पटकपटक ‘ओमाई गड’ भन्दै वा ‘रियल्ली यु किडिङ मी’ भन्दै मन्त्रमुग्ध थिई । नहोस् पनि कसरी, जन्मदै अंग्रेजी बोल्दै सुव्यवस्थित अस्पिटलमा जन्मी, घरको एट्याच बाथरूममा चिसो तातोमा नुहाई, पिजाबर्गर खाई, दिनहुँ नयाँ कपाडा फेर्दै बस चढेर स्कुल गई बिचरीलाई मैले भोगेका दुःख सुन्दा कथा जस्तो लाग्नु स्वभाविक हो । सानहोजेदेखि सानफ्रान्सिस्को जोडने हाइवे २८० नेपालको पहाडजस्तै डाँडैडाँडा बनाएको छ । यो हाइवेमा मेरो कारको स्पिड ८० पर आवर माइल अर्थात् १२० किलोमिटर प्रतिघण्टा हाँक्दै हुँईकिइरहेको थियो । मेरो इतिहासका सत्य कुरा सुन्दै जाादा सोफिया निकै उत्सुकता पूवर्क जिब्रो टोक्दै ‘आर यु सियोर’ भनेर सत्यता खोज्दै थिई । यसैबिच उसले भनि– तिमीले कहिले सिक्यौ त गाडी चलाउन ? म केही वर्ष अगाडि अमेरिका आएपछि नै यही कार चलाउन सिकेँ भने । कक्षा ४ पढदा एविसिडी सिकें तर कक्षा १० पास हुने बेलासम्म राम्रोसँग अंगे्रजीमा आफ्नो परिचय दिन आउदैनथ्यो । अमेरिका आएर यहाँको नियम कानुन बुझेर अंग्रेजीमा दिएको प्रश्न पास गरी ड्राइभर लाइसेन्स निकालेँ । सोफियाले थपि– अस्ती भर्खर कार सिकेका तिमीले बच्चाबाट नै कार सिकेका अमेरिकन झै यो हाइवेमा कुसल ड्राइभरको पहिचानसहित यो स्पिडमा यात्रु लिएर राम्ररी कार चलाइरहेछौ । मान्छे पनि ह्यानडसम छौ, अंग्रेजी पनि राम्रो बोल्छौ, त्यसकारण तिमीले त त्यो ठाउँबाट यो ठाउँसम्म, त्यो अवस्थाबाट यो अवस्थासम्म निकै प्रगति गरेछौ है ? मैले उसको प्रतिक्रिया भुईंमा खस्न नपाउँदै भनि दिए– म यसलाई प्रगति नै भन्दिनँ, परिर्वतन अवश्य हो । परिर्वतन र प्रगतिमा केही फरक छ जो आम मान्छेले छिट्टै बुझ्दैनन् पनि । मैले पनि आदर्शका केही कुरा ्छाँटदै भने मलाई लाग्छ वास्तविक प्रगति भनेको खुसी हो । जो खोज्न अमेरिका आएको थिएँ तर मात्र परिर्वतन अर्थात् सुख रहेछ यहाँ । किनकी म जति धेरै खुसी त्यो गाउँमा, त्यो प्रकृतिमा थिएँ, यहाा मात्र सुखी छु । मलाई देख्नेले मेरो प्रगति देख्छन् होला तर त्यो दृष्टिभ्रम मात्रै हो, मैले केवल परिर्वन देखेको छु , भोगेको छु । यही परिर्वतनलाई खुसी भएको अभिनय गर्दै सुखी जिन्दगी बिताउने प्रयत्नमा छु । म जस्ता प्राय सवै आप्रवासीको तीतो यर्थाथ यही हो । सोफिया र म यात्राभरि निकै मिठा जीवन भोगाइका कुरा गर्दै थियौं ।

कुरै कुरामा सानफ्रान्सिस्को एयरपोर्टको टर्मिनल २ आइसकेको पत्तै भएनछ । उ मेरो कारबाट झरी, कसक्क अँगालो हाल्दै हग गरि । ‘यू आर सो इन्टेस्टिङ म्यान, इटइज माइ टिप्स’ भन्दै २० डलरको नोठ हातमा थमाएर हँसिलो मुहारको मुस्कान दिई । सोफिया आफ्नो सुटकेस बोकेर ‘बाइबाइ, सि यु’ भन्दै सिकागो जान जहाज काउन्टरतिर लम्किइ । मलाई किनकिन १ घन्टा अगाडिको अन्जान मान्छे अहिले आफन्तजस्तो लाग्यो, मन भारी भयो । फेरि मैले आफैलाई सम्झाएँ, म त केबल उबर ड्राइभर, यात्रामा यात्रु त कति आउँछन जान्छन् । फेरि कारको स्टेरिङ समाउँदै, ‘आँधी खोला उर्लेर आयो…… लोकप्रिय लोकगीत घन्काउँदै हाइवे १०१ को बाटो सानहोजे तिर हुइकिएँ ।

कमेन्ट्स
Loading...