सुचना, समाचार र मनोरन्जन

लोकतान्त्रिक लब्ली हिलबाट देखेको कुपर्टिनो

  •  
  •  
  •  
  •  

जिएस नेपाली /                                                                             

                                                                                       अमेरिका अनुभव

प्यारो पोखराको घाँचमा लब्ली हिल जस्तै अमेरिकामा कुपर्टिनो छ । सान्ताक्लारा काउन्टीको जुनिपेरा सेरा २ सय ८० फ्रिवे र ८५ हाइवेको जक्सन । नजिकै फुट हिलवेबाट कृस्टेरेओ सडक हुँदै रेन्चो सान एन्टेनियो हिल, मेरो लागि पोखराको लब्ली हिल हो ।

जनयुद्धको समाप्तीपछि २०६२ चैत्र अन्त्यमा नेपालभर गणतन्त्रका लागि दोस्रो जनआम्दोलन चलिरहेको थियो । आम्दोलनको अग्रणी पोखरा पनि तातेको बेला कफ्र्यु र जुलुस भैरहे । यसैबिच पोखराको नजिकै लब्ली हिल डाँडोमा धेरै टाढाबाट पनि देखिने गरी जमिन खनेर निकै मेहनतले चौरमा लोकतन्त्र जिन्दावाद लेखिएको थियो । यो लोकतान्त्रिक लब्ली हिल आज पनि त्यही छ । गणतन्त्र आइसक्यो, लेखिएको नारा मेटियो, झार पलायो तर जनताको आकाङ्क्षा भने लब्ली हिल डाँडो झै निरिह बनिरहेको छ ।

लब्ली हिलमा बिहान मर्निङ्वाक जानेको त भिड लाग्छ नै, त्यसमाथि टुप्पोमा पुगेर नजिकैका उत्तर्तर्फ माछापुच्छे« हिमाल, अन्नपूर्ण हिमश्रृंखला र त्यसको फेदीमा लमतन्न पसारिएको पोखरा उपत्यका मन लोभ्याउने दृश्य हुन् । पोखरा उपत्यका देख्दा मलाई हरेक क्षण कुपर्टिनो हिलको याद आइरहन्छ । अर्थात् अमेरिकाको पश्चिम क्यालिफोर्निया राज्य, सानफ्रान्ससिस्को सहर नजिकैको सिलिकन भ्याली झै लाग्छ।

कामले थकित भएका ज्यान, खासगरी साँझपख नजिकैको डाँडो उक्लेर आराम गर्दा अझ् त्यहाबाट देखिने सिलिकन भ्याली र बत्तीका चहकमहक देख्दा म सधँै उही प्यारो पोखरामा छु झै लाग्छ । कुपर्टिनो सिटी क्षेत्र भित्र नै पर्ने हुँदा यसलाई कुपर्टिनो हिल पनि भनिन्छ । माथि डाँडोमा पुगेपछि समग्र सिलिकन भ्याली देखिन्छ । त्यहाँ बस्नका लागि केही बेन्चहरू राखिएका छन् । त्यहाँबाट देखिने दृश्यहरूको विवरणसहित कुपर्टिनो र समग्र सिलिकन भ्यालीको वस्ती विकासको इतिहास लेखिएको डिस्पेबोड पनि छ । कुपर्टिनो यति व्यवस्थित छ कि तलबाट उक्लदाँको थकाइ र गलाईलाई भुलाइ दिन्छ । देखिने दृश्य र त्यहाँको बस्ने वातावरणले उमङ्ग थपिदिन्छ ।

  • कुपर्टिनो हिलबाट पनि नजिकैको एप्पलको हेडक्वाटर एप्पल पार्क, केही तल गुगलको हेड क्वाटर, पूर्वतिर फेसबुकको हेडक्वाटर केही उत्तरतिर स्टानर्फोड युनिभर्सिटी, दक्षिण सानहोजेतिरका इन्टेलका मुख्य उत्पादन भवनहरू र केही पर इलेक्ट्रोनिक कार टेस्लाको मूल उत्पादन कम्पनी आदि देखिन्छ ।

पोखराको लब्ली हिलबाट देखिने बगर, महेन्द्रपुल, पृथ्वीचोक, मालेपाटन, बैदाम, पार्दी, रामबजार, भेडीँफारम र समग्र पोखरा उपत्यका तथा वरपरका डाडाहरूले मन प्रफुल्ल बनाउँछ । कुपर्टिनो हिलबाट पनि नजिकैको एप्पलको हेडक्वाटर एप्पल पार्क, केही तल गुगलको हेड क्वाटर, पूर्वतिर फेसबुकको हेडक्वाटर केही उत्तरतिर स्टानर्फोड युनिभर्सिटी, दक्षिण सानहोजेतिरका इन्टेलका मुख्य उत्पादन भवनहरू र केही पर इलेक्ट्रोनिक कार टेस्लाको मूल उत्पादन कम्पनी आदि देखिन्छ । विश्वबजार ढाकेका उत्पादन कम्पनीको मुख्य केन्द्र एकै नजरमा आँखा अगाडि देख्न पाउँदा विज्ञान र प्रविधिको चमत्कार गज्जव लाग्छ।

अमेरिकाको पूर्वी भागमा सन् १७७६ मा व्रिटिस सरकारबिरुद्ध १३ वटा राज्यले विद्रोह गरिरहँदा यता क्यालिफोर्नियामा भने मेक्सिकन स्पेनिसले राज्य विस्तार गर्दै कुपर्टिनो लगायत सिलिकन भ्यालिमा बस्ती बिस्तार गर्दै थिए । जब अमेरिकाले मेक्सिकोलाई सन् १८४७ मा हरायो तब संयुक्त राज्य अमेरिका (युएसए) मा क्यालिफोर्निया गाभियो । अनि मात्र यो उपत्यकामा विकासको लहर सुरू भयो । अहिले यही सहरले विश्व बजारको कम्प्युटर प्रणाली, डाटा, सर्चिड. तथा नेटवर्किङ लगायत सामाजिक सञ्जाल फेसबुक, युट्युव नियन्त्रण गरिरहेको छ । संसारलाई मुठीमा लिएर बसेको छ भन्दा अतिशयोािक्त नहोला ।वर्षको चार महिना हिउँदमा मात्र पानी पर्ने यो अर्ध मरूभूमि आज विज्ञान प्रविधि र अन्य भौतिक विकासले विश्वकै महङ्गो ठाउँमा परिणत भएको छ । ४७ वर्ग माइल क्षेत्रफलको यो सिलिकन भ्यालीमा ३० लाख मानिस बस्छन् । एप्पल, गुगल, फेसबुक, इन्टेल, सिस्को र स्टानफोर्ड विश्वविद्यालय जस्ता ठूला संस्थाको मुख्यालय भएकाले लाखांैले रोजगार पाएका छन् । अध्ययन र अवसरको रोज्जा ठाउँ भएकाले पनि यहाँको जनघनत्व ह्वात्तै बढेको छ । सहर, राज्य र देश विकासको नुमना हेर्न अन्त जानु पर्दैन । उन्नति र प्रगतिको पर्यायवाची बनेको छ ।

अब के गर्ने यसघडी म त लब्ली हिलमा छु , उत्तरतर्फ अन्नपूर्ण र माछापुच्छ«ेले मलाई देखेर मुस्कुराई रहेको भान हुन्छ । पूर्वको काहुँ डाँडोतिर हेर्छु । धरहरा छ ठिकै छ, काहुँ पाखो पनि पोखरा महानगरपालिकाको भूभागमा समेटिएको छ । गाउँबाट सहरमा रूपान्तरित हुँदैछ । काहुँको फेदीमा पृथ्वीनारायण क्याम्पस, नेपालको स्टानफोर्ड विश्वविद्यालय जस्तै मनिपाल कलेजकोठूला ठूला भवन देखिरहेको छु । उही स्टानफोर्ड कै कलरका रातासेता भवन । सुन्छु त्यो त पोखराको कुनै व्यावसायिक घरानाले किन्यो रे । अन्तत्वगोत्वा जनतालाई राम्रो सेवा सुविधा दिए निजी, सामुदायिक, सरकारी जसले चलाए पनि फरक पर्दैन । सेवामा सास्ती भयो भने अमेरिकाले चलाउँदा नि विरोध हुन्छ । तर नाफाखोरी प्रवृत्ति पोखरेली र पोखरालाई घातक हुनसक्छ ।

लब्ली हिलबाट देखिने पृथ्वीचोकस्थित बसपार्क आज व्यक्तिगत सम्पत्तिमा रूपान्तरण भएको हामी हेरिरहेका छौं । बसपार्क खुम्चिएको देख्दा मरिच चाउरिएको याद आउँछ । पोखरेलीको बसपार्कको सपना केबल चुनावी भाषणमा फासफुस भयो । पोखराभन्दा धेरै पहिले नै बटौलीले व्यवस्थित बसपार्क बनाइसकेको छ । कामना गरौं पोखराको अहिलेको एयरपोर्ट भोलि कुनै व्यक्तिले दावी नगरुन, महानगरले पैसा आउँदा भनेर कुनै व्यक्तिलाई आधा शब्ताब्दी भोगचलन गर्न नदेओस् । भावी पुस्तालाई पोखरा हेर्ने ठाऊँ राखि दिनुपर्छ ।

लब्ली हिलको पनि अगाध माया लाग्छ । चोक र बाटाका चौतारी भत्किसके, पोखरी नासिए, अव सहरका खुल्ला ठाउँमा सपिङ महल बन्दै छन् । यो स्वदेशी आँखाले देखेको त्यो विदेशी कुपर्टिनो मनमोहक छ । सान्ताक्लारा सहरको हरियाली, जताततै पार्क र खेलकुद मैदान अनि व्यवस्थित बसोबास जस्ता मानव निर्मित सौन्दर्यले सिगारिएको छ । तर हामीलाई प्रकृतिले दिएको सुन्दरता र बरदानलाई बचाउन पनि हम्मे हम्मे परिसकेको छ । विदेशी दाताले संरक्षणका नाममा हाम्रा जैविक कुराहरू डाँडो कटाइसकेका छन् ।

लगभग सिलिकन भ्याली जति नै क्षेत्रफल भएको हाम्रो पोखरा उपत्यकामा ५ लाखको जनसंख्या छ । उस्तै क्षेत्रफल भएको सिलिकन भ्यालीमा बसोबास र आधुनिक सहरीकरणले ढाके पनि ठूला चाक्ला सडकहरू माकुराको जालो सरह छन, सफा छन् र व्यवस्थित छन । तर हाम्रो सहरमा आपतकालीन अवस्थाका साथी एम्बुलेन्स र बारुणयन्त्र नछिर्ने साना गल्ली छन् । अव्यवस्थित बसोबास क्षेत्र र सार्वजनिक जग्गाजमिन अतिक्रमणले हाम्रो प्राकृतिक सौन्दर्यलाई हानी नोक्सान पु¥याइरहेको छ । योजना र विकासमा स्थानीय निकाय, प्रदेश सरकार र संघ सरकार तथा विभिन्न संस्था वा दातासमेत लागि परे पनि विकासको फल उत्साहजनक छैन । यहाँ त ‘नेपाल गयो मुखिया कूलो ल्यायो सस्तै, कुलो लग्यो वर्षाले जस्ताको तस्तै’ भने झै भएको छ । एक पटक पोखरालाई योजनाविद्ले सिलिकन भ्यालीको लेन्सबाट हेर्ने मात्रै हो भने कागजी फूलभन्दा सुन्दर देखिन्छ ।

कमेन्ट्स
Loading...