केहि वर्ष यता सर्वाधिक चर्चामा रहेकी मोडल हुन् अञ्जली अधिकारी । उनको व्यस्तता अन्य मोडलको भन्दा बढि नै छ । हरेक गीतका लागि गीतका सर्जकहरुले अञ्जलीलाई भिडियोमा राख्न रुचाउँछन् ।
अञ्जली अधिकारी भनेपछि सायद नचिन्ने कमै होलान् । नेपाली लोक तथा दोहोरी गीतमा अञ्जली अधिकारी जमेकी मोडल हुन् । करिब दुइ वर्ष अघि रिलिज भएको ‘गलबन्दी च्यातियो तिमीले तानेर,बोल माया’ गीतले सर्वाधिक चर्चा पायो । गायक तथा मोडल प्रकाश सपुतसँग अभिनय गरेको उनको यो गीतको भिडियो दर्शक तथा स्रोताले एकदमै मन पराए । लोकगीतमा एदकमै धेरै पटक हेरिएको गीतका रुपमा समेत यस गीतले चर्चा पायो ।
प्रकाश सपुत र शान्तीश्री परियारले गाएको यस गीतले अञ्जली अधिकारीलाई थप दर्शकमाझ परिचित बनायो । यस अघि सयौ म्युजिक भिडियोमा नाचेकी अन्जलीलाई अर्को गीत ‘बोल माया’ले पनि उतिकै साथ दियो। यि दुइ गीतले अञ्जली अधिकारीको व्यस्तता यति धेरै बढायो कि उनले दिनमा ३ वटा गीतमा समेत नाच्नु पर्यो । उनले अघिल्लो वर्षको तीजको भिडियो मात्रै ८० भन्दा बढिमा अभिनय गरेकी थिइन् । अञ्जलीले करिब ७ वर्षको अवधिमा २ हजारभन्दा बढि गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
वि.स.२०७३ सालबाट म्युजिक भिडियोमा प्रवेश गरेकी अञ्जलीले पहिलो गीत नै राम्रो पाएकी थिइन् । गायक बद्र पंगेनी र मिरा गिरीले गाएको ‘खरबारीमा घाँस काट्दा मायाले डोको समाइदियो’ हो । करिब ७ वर्ष अघि उनले यहि गीतको म्युजिक भिडियोबाट आफुलाई दर्शकमाझ प्रस्तुत गरेकी थिइन् । गीतले राम्रो चर्चा पाएता पनि पहिलो गीत भएर होला उनको चर्चा सिमित मात्रामा चलेको थियो । बर्दिया सोरहवा ७ सिमरामा जन्मिएकी अञ्जली अधिकारीसँग भोला अधिकारीले गरेको संक्षिप्त कुराकानी:

भिडियो तिर निकै व्यस्त हुनुहुन्छ है ?
ठिकै छ । पहिलाको तुलनामा अहिले अलिक कम गरेको छु ।
पहिलाको तुलनामा भन्नाले नि ?
पहिला तीन कै भिडियोहरुमा काम हुन्थ्यो । अहिले अहिल चुजी जस्तै भएको छु । सिमित मात्रामा काम गरिरहेको छु ।
मैले सुने अनुसार तपाईले अघिल्लो तीजमा मात्रै ८० भन्दा बढि भिडियोमा अभिनय गर्नुभएको थियो रे ? मैले सुनेको सहि हो की गलत प्रष्ट पार्दिनुपर्यो ?
तपाईले सुन्नु भएको कुरा सहि हो । अघिल्लो वर्षको तीजको भिडियो मात्रै मैले ८६ वटामा नाचेको थिए । टेलिभिजन हेर्यो कि मेरो मात्रै बज्थेँ ।
बुवा आमाको सपार्टेबाटै त नाच्नगानमा प्रवेश गर्नुभयो होला नि ? एक्लै त यहाँसम्म आउँदा कठिन हुनछ नै ?
नाईँ ,घरपरिवारबाट नाचगानमा मलाई सपार्टे थिएन । उनलाई गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम तथा भजनहरुमा नाच्दा पनि बुवा दाजुले गाली गर्ने गर्नुहुन्थ्यो । नाचगान भन्दा पढाईमा ध्यान दिन घर परिवारले जोड गर्नुहुन्थ्यो । तर, मेरो मन चाही पढाई भन्दा नि बढि नाचगानमा गयो ।
सानैबाट नाच्न घर परिवारबाट बन्देज हुँदा हुँदै पनि कसरी नाच्न सिक्नुभयो ?
हो नि , मलाई सानैबाट नाच्न एकदमै मन पर्ने । स्कुलमा हुने डान्स कम्पिटिसनमा भाग लिन्थेँ र मज्जाले नाच्थेँ । स्कुलमा हुने हरेक कार्यक्रममा म नाचमा प्रथम नै हुन्थेँ । स्कुलमा मैले नाचेको देखेर सर मिसहरुले पनि मलाई एकदमै सपोर्ट गर्नुहुन्थ्यो । तर, म पढाईमा भने ठिकठिकै थिए । स्कुलमा पढाई सँगसँगै नाचलाई पनि अगाडी बढाई रहे ।
स्कुलका सबै सरहरुले तिमीले काठमाडौं जानुपर्छ र हिरोइनमा भाग लिनुपर्छ भन्ने खाल्का सुझावहरु दिनुहुन्थ्यो । मनमा चाँही मलाई पनि कलाकार बन्छु भन्ने थियो तर, कसरी बन्ने के बन्ने भन्ने नै थिएन । नाच्न मलाई कहिलै लाज नै लागेन । तर, मैले अहिलेसम्म कुनै डान्स सेन्टरमा गएर नाच सिकेको चाँही छैन । अब सिक्ने रहर छ ।
नाचमा तपाई प्रफेक्ट भइसक्नु भएको जस्तो लाग्दैन ? यतिको चलेपछि किन नाच सिक्नु ?
नाच भनेको सिक्ने नै हो । सिक्नका लागि चलेको न चलेको भन्ने नै हुँदैन जस्तो लाग्छ । मैले धेरै सिक्न बाँकी नै छ ।
राष्ट्रिय कलाकार बन्छु भन्ने रहर कहिलेबाट जागेको थियो नि ? कि टिभीमा हेरेर यस्तै बन्छु भन्ने थियो ?
म १३,१४ वर्षको हुँदाको बढैयाताल बर्दियामा महोत्सव भएको थियो । यति ठुलो मेला महोत्सवमा म कहिले स्टेजमा चढेर नाच्ने होला भन्ने लाग्थ्यो । राष्ट्रिय कलाकारहरु जसरी स्टेजमा नाचेर मैले दर्शकहरुलाई कहिले देखाउने होला भन्ने ममा भावना जागेको थियो । म अरु कलाकार जस्तै कहिले बन्छु होला लाग्थ्यो । तर, मलाई घरमा नाचगान तिर पुरा बन्देज थियो । घरमा क्यासेट बजाएर नाच्दा त गाली गर्नुहुन्थ्यो भने झन् स्टेजमा के दिनुहुन्थ्यो र ? तै पनि लुकी लुकी घरमा स्कुलमा नाच्थेँ ।(उनले गहिरो भावमा भनिन) ।
पहिलो पटक महोत्वसमा नाचेको केहि सम्झना छ ?
छ नि किन नहुनु । बर्दियाकै बास्कडी भन्ने ठाउँमा मेरो दिदीको घर छ । म चाँही घरको कान्छी छोरी हो म भन्दा माथी चाँही मेरो दिदी र दाई हुनुहुन्छ । दिदीको त्यो समयमा नै बिहे भइसकेको थियो । दिदीको गाउँमा मेला महोत्सव पनि लागिरहेको थियो । दिदीको घर पुगेपछि आज पशुपति शर्मा आउदै हुनुहुन्छ भन्ने हल्ला थियो । पशुपति शर्मा आउने भएपछि सबैजना सल्लाह गरेर महोत्सवमा गयौ । तर, पशुपति शर्मा त्यो दिन भएर भोलीपल्ट आउनुहुने रहेछ । त्यो दिन चाँही बद्रि पंगेनी दाईको गाउने पालो रहेछ ।
बद्रि दाई लगायत अन्य कलाकारहरु पनि हुनुहुन्थ्यो । हामी त्यहाँ पुग्दा बद्री पंगेनी दाईले गीत गाउदै हुनुहुन्थ्यो । उहाँले गीत गाउदा स्टेजमा आएर जो राम्रो नाच्छ उसलाई पुरस्कार दिने भन्नुभयो । मलाई फेरि नाच भनेपछि हुरुक्कै म नाच्न दौडेर गइहाले । किनभने मलाई जित्नु भन्दा पनि नाच्नुमा इन्ट्रेस थियो । अनि मैले अगाडी गएर नाचे । नाच्दा खेरि म पहिलो भएको थिए । आयोजकले झ्याली गरेर अरुलाई नै पहिलो बनाए । म नाचेको बद्रि दाईने हेरिरहनु भएको रहेछ । उहाँले फेरि अर्को गीत ‘सुर्खेत बुलबुल ताल’ गाउँदा नाच्नेलाई पुरस्कार दिने घोषणा गर्नुभयो । उहाँले गीत गाउनन्जेल नाचेको नाचै गर्नुपर्ने सर्त राख्नुभएको थियो । मैले उहाँले गीत गाउनन्जेल नाचे । मैले नाचेको देखेपछि बद्री दाईले स्टेजमा बोलाएर पाँच सय पुरस्कार दिनुभयो र नाम सोध्नुभयो ? तिम्रो इच्छा के हो ?भनेर सोध्नुभयो,मैले मोडल बन्ने भने तर मेरो परिवारबाट चाही मलाई सपोर्ट छैन भने । किनभने मलाई आमाले बाहेक कसैले पनि यसमा सपोर्ट गर्नुहुन्न थियो ।
त्यो पाँच सय के गर्नुभयो नि ?
खै के के किनियो अहिले विर्षे ।
यसरी स्टेजमा नाचेपछि बद्री पंगेनीले काठमाडौं हिड, म भिडियोमा खेलाउँछु भन्ने कुरा गर्नु भएन ?
उहाँले मलाई तिम्रो इच्छा के छ भनेर सोध्नुभएको थियो । कार्यक्रममा कलाकारहरुले गीत गाइसकेपछि विदाईको बेला तिम्रो इच्छा के छ भन्नु भयो ? उहाँलाई मैले हिरोइन बन्ने भने । यो समयमा म कक्षा ८ मा पढ्दै थिए । अनि उहाँले तिमी एसएलसी चाँही देउ,कलेज उतै भर्ना गरे हुन्छ । डान्स गरे पनि पढ्न चाँही पर्छ है भन्नुभयो ।
उहाँले (बद्री पंगेनी) ममा प्रतिभा छ भन्ने लागेर होला मेरो बुबा आमा र दाइसँग कुरा गर्नुभयो । बुबा आमालाई यो नाच भन्ने नै पटक्कै मन नपर्ने,उहाँहरुले मान्नु भएन । बुवा आमाले काठमाडौं पठाउने कुरा नमानेपछि एसएलसी सके लगत्तै फेरि बद्रि दाईले घरमा आउनु भयो । उहाँले फेरि सम्झाउनुभयो । बुबा र दाजुले बैनी बिग्रिन्छे भनेर काठमाडौँ पठाउन मान्नु भएन । बद्रि दाई त्यतिकै काठमाडौं आउनुभयो । मैले वि.स.२०७१ सालमा एसएलसी दिएपछि आफ्नै ढिँपीले म आफै काठमाडौं आए ।
पहिलो पटक काठमाडौं आएपछिको अनुभव कस्तो रह्यो ?
सानै थिए । काठमाडौं आएपछि मेरा संघर्षका दिन सुरु भएछन् भन्ने लाग्यो । काठमाडौं आएपछि मैले के काम पाउँथे र ? बद्री दाईकै ‘निरमाया दोहोरी साँझ’मा नाच्ने काम गरे । यो बेला आफुसँग रुम भाडा तिर्न पैसा पनि थिएन । पैसा नभएपछि लोक तथा दोहोरी गायिका कल्पना दाहालसँग रुम सेयर गरेर बसे । यहाँ करिव ६,७ महिना बसे । त्यसपछि मैले अर्की गायिका मिरा गिरीको रुममा बसे । उहाँसँग म ३ महिना बसे । पहिलो वर्ष मेरो यसरी यसरी नै कट्यो ।
मेरो फ्यामिली प्रब्लम पनि बढ्दै गयो । मेरो बुबा अत्यन्तै बिरामी हुनुभयो । अहिले पनि बिरामी नै हुनुहुन्छ । मैले एसएलसी सकेपछि पढ्छु भन्ने सपना सपना मै सिमित रह्यो । कहिले हस्पिटल कहिले कता,कहिले कता मेरो समय यतिकै बित्यो । समय मिलाएर कलेज भर्ना हुन्छु भन्ने थियो तर, आर्थिकस्थिति कमजोर भएको हुनाले सकिनँ । पढाई नभए पनि आफ्नो डान्स र कामलाई भने फोकस गरिरहे ।
दोहोरी साँझमा काम गर्नेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ भन्छन् ? तपाईलाई कस्तो व्यवहार गर्थे ।
मैले दोहोरी साँझमा काम गर्दा खेरि निकै हेपाई सहे । कतिपय कुराले मन दुख्थ्यो तर कसैलाई भन्न सक्ने अवस्था थिएन । दोहोरी साँझमा काम गर्दा हेर्ने दृष्टिकोण पनि फरक थियो । म आफुले आफैलाई त सहि सोच्न सक्दिनँ भने मान्छेले मलाई सहि सोच्छन् भन्ने पनि त छैन । मलाई लाग्छ मान्छेहरुले जतिसम्म सोच्ने क्षमता छ त्यतिसम्म सोच्छन् भन्ने लाग्छ । उहाँहरुको सोच नै त्यस्तो प्रवृद्धिको छ त म के गरौँ । उहाँहरुले मलाई गलत सोच्नु भयो भनेर काम छोड्न पनि सकिनँ ।
सानोमा सिक्न नपाएको डान्स यहाँ सिक्ने मौका पाए भन्दा केहि फरक पर्दा त ?
मैले जति पनि नाच्न सिके त्यो दोहोरीसाँझमा नाचेर नै हो । मेरो दोहोरीसाँझ कल्चर जस्तो भयो । अहिलेसम्म मैले बाहिर कुनै डान्स सेन्टरमा नाच सिकेको छैन । अब चाही डान्स सिक्न मन छ ।
मैले परिवारकै कुरासँग अलिकति जोड्न चाहे ? अघि परिवारमा आर्थिक कमजोर थियो भन्नुभयो । तपाईको परिवार आर्थिक हिसावले कस्तो थियो ?
मेरो परिवारको आर्थिक हिसावे निकै कमजोर थियो । यतिसम्म थियो कि एसएलसीमा विज्ञान र गणितमा विषय फेल हुँदा दुइ वटा विषयको ट्युसन पढेको ९ हजार ५ सय रुपैयाँ बुझाउनु पर्ने भयो तर हामीसँग थिएन । त्यो तिर्नका लागि आमाको सानो मंगलसुत्र थियो त्यो बेच्नका लागि नेपालगंज बजार गएर बेच्यौ । मंगलसुत्रको दाम ९ हजार मात्रै भयो । अझैँ बुझाउँनु पर्ने पाँच सय पुगेन । आमाले खोजेर त्यसमा पाँच सय थपेर ट्युसनको फिस बुझाइयो । आर्थिक हिसावले त्यो समय हाम्रो निकै कमजोर थियो ।
पछि एलएलसी पास गर्नुभयो कि त्यतिकै रह्यो ?
मैले एसएलसीको ब्याक लागेको विषय राम्ररी पढेर पास गरे । त्यहि एसएलसी दिएको समयमा काठमाडौ आए हो । कलेज चाही गाउँमा नै भर्ना गर्ने र परिक्षा दिन मात्रै जाने भन्ने हिसावले काठमाडौं आए । तर,यतिमै मेरो पढाई यात्रा रोकियो । मेरो मोडल बन्ने चाहाना साँघुरिदै थियो । उता पढाई पनि छैन । म निकै राजधानीमा संघर्ष गर्न थालेको हो ।
काठमाडौं आएको कति वर्षमा म्युजिक भिडियो खेल्ने अवसर पाउनुभयो ?
काठमाडौं आएको २ वर्षपछि बल्ल बद्रि पंगेनी र मिरा गिरी दिदीले गाउनुभएको ‘खरबारीमा’बोलको गीतमा नाच्ने अवसर पाएको हो । यो भिडियोमा नाच्दाखेरि मलाई यति प्रेसर आयो कि कुरा सोच्न पनि कठिन छ । बद्रि दाईले तिमीले यो गीतमा राम्रो गर्न सकेनौ भने घर जाँदा हुन्छ भन्नु भयो । उता पढाई छोडिसके यता करियर कै पहिलो पाटोमा बद्रि दाईले यसो भन्नुभयो । मैले यो गीत जसरी नी राम्रो गर्नुपर्छ भनेर काम गरे । पछि भिडियो रिलिज हुँदा राम्रै प्रतिक्रिया आयो । त्यसपछि पनि मैले मेहनत गर्न छोडिनँ । अझैँ गीतको भिडियोहरु पाउन थाले । पहिलो भिडियोमा नै राम्रो काम गरेछु भन्ने लाग्यो ।
मोडल बाहेक अरु कुन–कुन पेशामा लाग्ने तपाईको रुचि थियो?
यदि पढाईमा तेजिलो भएको भए म स्टाफ नर्स बन्थेँ होला या अरु नै केहि हुन्थेँ होला । मेरो सपना नायिका बाहेक एयर होस्टेज बन्ने थियो सायद यहि बन्थेँ होला । तर, मेरो यि केहि चिज नभएर नै मोडल बनेको हो ।
पढाई कतिको महत्वपुर्ण रहेछ अहिलेको अवस्थामा ?
पढ्न सके त राम्रो हो नि । मेरो मामिलामा अर्थात पढाईको पाटो कमजोर थियो । पढ्ने भनेको पनि भविष्यमा केहि न केहि बन्न कै लागि हो । मेरो विचारमा के लाग्छ भने पैसा कमाउन कै लागि पनि पढ्ने त हो । अरुले पढेर अन्त काम गर्नुभयो उहाँहरुको भयो, मैले नाचे यताबाट कमाए । पढाई आवश्यक नभएको भनेको चाही होइन है फेरि पढाई पनि आवश्यक छ । मेरो पढाई थिएन । मैले दोहोरीसाँझमा काम पाए । फेरि दोहोरीसाँझमा काम गरेपछि डिउटी राती १–२ बजेसम्म हुन्थ्यो । अनि रुममा पुगेपछि फेरि विहानै ५ बजे सुटिङ स्थलमा बोलाउनुहुन्थ्यो । त्यहाँ पुग्नै पर्यो । मेरो सुत्ने समय पनि २ घण्टा भन्दा हुँदैन थियो । कहिलेकाँही त लाग्थ्यो घरतिरै जाउ कि के हो भन्ने पनि ।तर, मैले हिम्मत हारिन । काम गरिरहे । किनभने मैले घर परिवारलाई पनि राम्रो काम गरेको छु है भनेर देखाउनु थियो ।
अघि बुबा आमाले छोरी नाचेको रुचाउनुहुन्न भन्नु भएको थियो ? पछि केहि कुराकानी भयो ?
म काठमाडौं आएपछि मेरो बुबा र दाजुहरु कोही पनि मसँग बोल्नुहुदैन थियो । मसँग बोल्ने भनेको आमा मात्रै हुनुहुन्थ्यो । मेरो घरपरिवारसँग करिब चार वर्ष भन्दा बढि समय बोलचाल बन्द भयो । म यहि गीतसंगीतमा आएकै कारणले गर्दा हो । किनभने मैले बुबा र दाजुको इच्छा विपरित यो क्षेत्रमा लागे । उहाँहरु मलाई पढाउन चाहानुहुन्थ्यो ।
तर, मैले पढाई छाडेर मोडलिङतर्फ लागे । मैले थुप्रै म्युजिक भिडियोमा काम गरेता पनि घरकाले राम्रो मान्नु भएन ।चारवर्षपछि मैले खेलेको ‘गलबन्दी,बोला माया’ जस्ता गीत हिट भएपछि मात्र उहाँहरु मसँग नजिक हुनुभयो । अहिले उहाँहरुले छोरी गलत रैनछ भन्ने बुझ्नुभयो ।
नयाँ नयाँमा म्युजिक भिडियो खेल्दा पारिश्रमिक नपाउने,पाए पनि थोरै भन्ने सुनिन्छ । तपाईको मामिलामा के भयो ? भिडियो खेलेको पारिश्रमिक राम्रै पाउनुहुन्थ्यो ? कि फ्रिमा खेल्नुभयो ?
सुरु सुरुमा म्युजिक भिडियोमा काम गर्दा मैले पैसा नै पाउँदिन थिए । कुनै कुनैमा चाँही मैले ५ सय पाएको छु । नत्र पैसा नै दिदैन थिए । मेरो संघर्षको दिन भएर पनि होला पैसा नदिएका । तर,पछि पछि मैले खेलेको गीतहरु चल्न थालेपछि पारिश्रमिक पाउन थालेको हो ।
म्युजिक भिडियोको काम अबेरसम्म हुने गरेका छन् । उता दोहोरीसाँझमा जाने समय चाँही कसरी मिलाउनुहुन्थ्यो ?
दिन भरि सुटिङमा नाच्थेँ । साँझ परेपछि दोहोरीसाँझ अबेला भए पनि पुग्थेँ । खाना घरमा भन्दा पनि बढि बाहिर नै हुन्थ्यो । साँझ दोहोरीसाँझमा खाइन्थ्यो भने दिउँसो समयमा सुटिङमा नै हुन्थ्यो । अभावै अभावमा चलेको थिए । मैले पारिश्रमिक माग्ने कुरा पनि भएन किनभने आफु चल्नु थियो । त्यो चल्नका लागि भए पनि पारिश्रमिक माग्न आँट आएन । यति पारिश्रमिक मागे भने मलाई फेरि नखेलाउलान् कि भन्ने अर्को चिन्ता थियो । दोहोरीसाँझमा काम गरेको पैसा पनि खासै हुँदैन थियो । टिप्सकै भरमा गुजरा चलाउनुपर्ने अवस्था थियो । मैले पैसा नआए पनि सुरु सुरुका दिनमा थुप्रै म्युजिक भिडियोहरुमा काम गरे ।
गीतको भिडियोको काम सकिना साथ फेरि दोहोरीसाँझमा गएर नाच्नुपथ्र्यो । भिडियो राती ९ बजे सकिए पनि दोहोरीसाँझ पुग्नै पर्ने हुन्थ्यो । किनभने भिडियोमा नाचेको पैसाले मात्र जिविका चलाउन सक्ने अवस्था पनि थिएन । यसरी नाचेको नाचै गरेर मेरो खुट्टामा खिल पल्टिएको थियो । दोस्रो लकडाउनमा मात्रै खिलको उपचार गरेको हो । समय नभएर ।
साइड डान्सर भए पनि भिडियोमा नाच्नु भयो कि ?
मैले साइड डान्सर भएर चाही कहिलै काम गरिनँ । मुख्य रोलमा नै मैले काम गरेको हो । त्यो समयमा अहिलेको जस्तो सजिलो तरिकाले भिडियो पाउन मुस्किल थियो । डिमाण्ड गर्न पनि गाह्रो ।
अहिले त १५ सेकेन्डको टिकटकमा भिडियो भाइरल भए मेरो पारिश्रमिक यति उति भनेर डिमाण्ड गरेको पाउछु । पहिला कहाँ यस्तो थियो र ? सबै एकसे एक मोडलहरु थिए । उनीहरुसँग आफु प्रतिष्पर्धा गर्नुपर्ने हुन्थ्यो । त्यस कारण मैले कहिलै यो गीतमा यति दिए खेल्छु नत्र खेल्दिनँ भन्ने नै थिएन ।
भिडियो खेलेर कतिसम्म पारिश्रमिक पाउनुहुन्थ्यो । न ढाँटी भन्नु त ?
त्यो समयमा कसैले पाँच सय दिन्थे त कसैले हजार दिन्थेँ । त्यहि पैसा बोकेर फर्किनु पथ्र्यो । पाँच हजार भन्दा बढि कसैले पनि पारिश्रमिक दिएको मलाई थाहा छैन ।
अबको योजना के छ ?
यहि भिडियो तिर नै काम गर्ने नै हो । अरु त खासै त्यस्तो केहि छैन ।