सुचना, समाचार र मनोरन्जन

यस कारण छाडे अनमोलले फिल्म ‘एक्स नाइन’

काठमाडौं : 

फिल्म बन्ने न बन्ने हल्लै हल्लाकाबीच प्रचार गरिएको फिल्म ‘एक्स९’बाट अभिनेता अनमोल केसीले हात झिकेका छन् । उनले फिल्ममा अनुबन्धित हुँदा लिएको पारिश्रमिक समेत फिर्ता गर्दै फिल्मबाट बाहिरिएका हुन्।

उनले निर्माण टिमले निर्धारित समयमा छायांकन सुरु नभएको र आफूले अरु फिल्मलाई समय दिनुपर्ने भएकाले फिल्म छाडेको आरोप लगाउदै बाहिरिएको जानकारी दिए । उनले यस फिल्मका लागि शरीर कसिलो र मोटो बनाउन जिम लगायतका राम्रै मिहिनेत गरेका थिए । यहि फिल्मबाट अनमोल शाकाहारीबाट मांसाहारी समेत भएका थिए । तर फिल्ममा अनुबन्धित भएको एक वर्ष वितिसक्दा पनि निर्माण नभएपछि फिल्मबाट आउट भएको दावी गरेका छन् ।

यस फिल्ममा निर्माण टिमले बलिउड सुपरस्टार सुनिल सेट्टी अनुबन्धित भएको खबर छरेको थियो । उनीहरुले सुनिलसँग मुम्बईमा फोटो समेत खिचाएर सामाजिक सञ्जालमा नै पोष्ट गरेका थिए । तर, अहिलेसम्म फिल्मको छायांकन सुरसार भएको छैन । धेरै फिल्ममेकरलाई यो फिल्म बन्छ कि बन्दैन भन्नेमा शंका लागेको छ ।

यो फिल्ममा निर्माण टिमले अन्य अभिनेतामा पुष्प खड्का, सौगात मल्ल, अनुपविक्रम शाहीलगायतलाई फिल्ममा अनुबन्ध गरेको थियो । यसमा अनमोल बाहेक कोही बाहिरिएका छैनन् ।

फिल्ममा साइन गर्दै आउट हुने अनमोल केसीले पहिलो पटक भने गरेका होइनन् । यस अघि अनमोलले फिल्म साइन गरेर छोडेको फिल्ममा ‘ब्याचलर बन्टी’, ‘हनी बनी’ लगायत रहेका छन् । अनमोलले यो फिल्ममा काम गर्नका लागि सर्वाधिक पारिश्रमिक लिएको चर्चा चलेको थियो । उनले अहिलेसम्मकै बढि ७० लाख लिएको हल्ला चलेको थियो तर,आधिकारिक कसैले बताएका छैनन्।

कमेन्ट्स
Loading...