सुचना, समाचार र मनोरन्जन

अन्नपूर्ण गाउँपालिकाले थाल्यो १५ शैय्याको अस्पताल निर्माण

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण सुरु गरेको छ ।

सरकारले देशैभर एकै पटक शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत सोमबार अन्नपूर्णले पनि आफ्नै अस्पताल निर्माणको काम थालेको हो । गाउँपालिकाले १८ करोड भन्दा बढी लागत स्टिमेट निकालेर टेण्डर समेत आह्वान गरिसकेको छ ।

कतिपय गाउँपालिका र नगरपालिकाहरुले जग्गाको खोजी समेत गर्न नसकेको अवस्थामा अन्नपूर्णले ठाउँ सुनिश्चित गर्दै टेण्डरको सूचना निकालेको छ ।

‘अहिलेसम्म सूचना कसैले निकालेको रेकर्ड छैन । शिलान्यास गरेका फोटा त आउला तर कहाँ बनाउने भन्ने टुंगो छैन,’ पालिका अध्यक्ष यूवराज कुवँरले भने, ‘सबै अलमलमा छन् । देशभरमै टेण्डर प्रक्रृयामा जाने अन्नपूर्ण पहिलो हो ।’ अस्पतालको कुवँरले नै शिलान्यास गरेका हुन् ।

उनले सहरमा भएका ठूला अस्पतालहरुले दिने सरहकै सुविधा दिने गरी संरचना र उपकरण व्यवस्थापन गर्ने बताए । ‘पोखराको भन्दा सुविधा सम्पन्न अस्पताल बन्छ । विकसित मुलुकमा भएका जस्तै सेवा सुविधा हुन्छ । बत्ती नहुँदा सोलारको व्यवस्था हुन्छ । उपकरण अत्याधुनिक हुन्छ,’ उनी भन्छन्, ‘यहाँ आउने विरामी आधा त हिमाल हेरेर निको हुन्छ ।

स्वच्छ हावाले ६० प्रतिशत विरामी निको भैसक्छन् । शहरमा जस्तो अस्पतालमा बस्दा नाक थुनेर बस्नुपर्ने अवस्था यहाँ आउँदैन ।’ साढे २ वर्षको म्याद नेपाल सरकारले दिएपनि यो अस्पताल डेढवर्ष भित्रै निर्माण सक्ने कुवँरको दावी छ । तीन तले भवनमा ५८ वटा कोठा हुनेछ । शौचालय र स्नान कक्ष छुट्टै बनाईने छ ।

टेण्डरको अवधी १ महिना हुने र त्यसपछि अध्ययन सहित सम्झौता गरेर काम थालिहाल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । ‘२०७९ जेठ मसान्तभित्र सक्नुपर्ने गरी सूचना निकालिएको छ । तर हामी त्यो भन्दा पहिले अस्पताल बनाईसक्छौं,’ उनले भने, ‘जनप्रतिनिधिको कार्यकाल सकिनु अघि नै अस्पतालबाट सेवा सुरु हुन्छ । हाम्रा लागि यो गौरवको योजना हो ।’ पालिकाले प्रदेश सरकारसँगको साझेदारीमा अन्नपूर्ण ५ मा हाईवे अस्पताल बनाईरहेको छ । ‘सामुदायिक स्वास्थ्य इकाईहरु बनेका छन् । विशिष्टिकृत स्वास्थ्य सेवा बाहेक सबै उपचार पालिकाभित्रै हुन्छ,’ अधिकारीले अघि भने, ‘यो अस्पताल बनेपछि स्वास्थ्यका कारण हुने वसाईसराईं रोक्छ । बरु सहर गएकाहरु गाउँ फर्कन्छन् ।’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अन्नपूर्ण गाउँपालिका अध्यक्ष धर्म तमुले संघीयताले विस्तारै प्रतिफल दिन थालेको भन्दै यसलाई संस्थागत गर्न जनस्तरबाट सहयोग आवश्यक रहेको बताए ।

कांग्रेसका सभापति मनपति भण्डारी अस्पताल निर्माणको निगरानी गरी पूर्ण क्षमतामा सञ्चालनका लागि खवरदारी गर्न आग्रह गरे । अन्य राजनीतिक पार्टीका प्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरुले समेत तल्लो तहमा यति ठूलो अस्पताल बन्दा खुशी व्यक्त गरे । साङ्केतिक तस्बिर

कमेन्ट्स
Loading...