सुचना, समाचार र मनोरन्जन

बाँच्नेहरूले सहिदलाई बिर्सन मिल्दैन

सुरेश रानाभाट /       

                                                                                         विचार…                                                                                             

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चरा सपूत मरेर नगए

कवि भूपि शेरचनले ‘सहिदहरूको संझनामा’ कविता लेखे र ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहमा सञ्चयन गरी राखे । आजसम्म पनि यो कविताको मूल्य र महत्व उत्तिकै सान्दर्भिक छ । व्यवस्था परिवर्तनका लागि विभिन्न समयमा आन्दोलन भए र परिवर्तन पनि भयो तर अवस्थामा सुधार आएको छैन् । सत्ता, सरकार र प्रतिपक्षमा रहनेहरूले अग्रजको बलिदान र त्यागलाई आत्मसात गरेका छैनन् । सहिदलाई सम्मान दिन कन्जुस्याईं भएको छ । वि.सं. २०१२ सालबाट माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउन थालियो । माघ १६ गते सहिद दिवस बनाउने परिपाटीमा सरकार उदासिन देखिएको छ । सार्वजनिक विदा खारेजीमा माघ १६ पनि परेको छ । यसले सहिदप्रतिको आस्थालाई घटाएको छ । सहिद दिवस केवल दिवस मात्रै होइन सहिदलाई संझनका लागि सम्मान हो ।

मुलुकमा सहिदहरूको सङ्ख्या कति छ गृहमन्त्रालय बेखबर छ । वास्तविक सहिद जगमा पुरिएका छन् र सतही सहिदको मान र सान बुर्जा भएर रहेको छ । गण्डागोलमा मारिएकाहरूको नामवलीले सहिद शब्दलाई नै अपमानित गरेको छ । वास्तवमा आफ्नो माटो, संस्कृति, अस्तित्व, स्वतन्त्रता र मुक्तिको खातिर छातीमा ठोली थाप्ने र गलामा फाँसीको माला स्वीकारी बलिदान दिने बहादुर नै मरेर अमर हुने हो र सहिदमा दर्ज हुने हो । स्वार्थको सिमारेखाभन्दा माथि उक्लिए मुलुक र जनताका लागि त्याग गर्न सक्ने ल्याकत भएको व्यक्तिलाई सहिद मानिएको छ । हरेक देशले राष्ट्र बन्नु पूर्व सामाजिक, आर्थिक, विभेदविरुद्धको आन्दोलन र शोषण दमन, थिचोमिचो, अन्याय अत्याचार अन्त्यका लागि राजनीतिक क्रान्ति गरेर स्वतन्त्रता र प्रजातन्त्रको वहाली गरेका ऐतिहासक घटनाहरू हाम्रा सामू छर्लङ्ग छन् । ज्यानको बलिदान दिने सहिद र जेलनेल भोग्नेहरू नेता भएका दृष्टान्तहरू छन् । समवेत् सपना देखर हिँडेकाहरू बाँचेकै कारण नेतृत्वमा पुगेका हुन ।

काठमाडौँमा सहिदको संझनामा सहिद गेट बन्यो र कालगतिले मरेका राजा त्रिभुवनको शालिक सबभन्दा माथि राखेर चार सहिदको अपमान र खिल्ली उडाइयो ।

विश्व इतिहास हेर्दा हरेक देशमा सहिदहरू छन् । नेपालको सहादतको अभिलेख हेर्न हो भने राणा शासनका प्रवर्तक जंगबहादुर राणाको विरुद्धमा प्रचारप्रसार गरेका पल्टनका लाहुरे लखन थापालाई वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडिको रुखमा झुण्ड्याएर मारिएको थियो । उनलाई नेपालको पहिलो सहिद पनि भनिएको छ । राणा शासन विरुद्ध सङ्गठित अभियान चलाएका चार सहिदले नै वास्तवमा साहदतको विरासत छोडेर गएका छन् । वि.सं. १९९७ सालको माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारियो । राजा त्रिभुवनका व्यायम गुरु धर्मभक्त माथेमालाई मारियो । माघ १४ गते दशरथ चन्दलाई शोभाभगवतीमा नरशमशेर राणाले होली हानी हत्या गरे, माघ १५ गतेको राती १० वजे नर शमशेरले नै गंगालाल श्रेष्ठलाई रुखमा बाँधेर गोली हानी हत्या गरे पनि मुक्तिको सपनालाई हत्या गर्न सकेनन् र २००७ सालमा प्रजातन्त्रको घाम उदाइ छाड्यो । काठमाडौँमा सहिदको संझनामा सहिद गेट बन्यो र कालगतिले मरेका राजा त्रिभुवनको शालिक सबभन्दा माथि राखेर चार सहिदको अपमान र खिल्ली उडाइयो ।

शासकहरूलाई आलोचना अप्रिय लाग्थ्यो । विरोध र विद्रोह दमनका लागि ज्यान लिने सजाय नै नागरिक तर्साउने प्रपञ्च थियो । ब्राह्मण हत्या अपराध हो भन्ने भयले टंकप्रसाद आचार्यलाई चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याएर आजीवन कारावासको सजायँ दिएका हुनाले आचार्यलाई जिउँदो सहिद मानिएको छ । पूर्णनारायण प्रधानलाई सर्वस्व हरणसहित ज्यान सजाय सुनाइएको थियो । पछि उनको सजायलाई आजन्म कैदमा बलिएको थियो । रामहरि शर्मा, गणेशमान सिंह, चूडाप्रसाद शर्मा चन्द्रमान सैँजूलगायतको सर्वस्वसहित जन्मकैद सजाय गरियो । कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यवथित, चन्द्रमान मास्के, धर्मरत्न यमीलाई सर्वस्वसहित १८ वर्षको कैद सजाय दिइएको तथ्य इतिहास बोल्छ ।

पञ्चायती तानाशाहीका विरुद्धमा आवाज बुलन्द गरे वापत ज्यान लिइएका र जेलनेल हालिएका व्यक्ति, २०३६ सालको विद्यार्थी आन्दोलनमा मारिएका देशका कर्णधार, २०४६ सालको जनआन्दोलनमा मारिएका व्यक्ति, ६२÷०६३ सालको दोस्रो जनआन्दोनमा मारिएका नागरिक सहिद सूचिमा रहनु स्वाभाविक नै हो । वास्तविक सहिदको अवमूल्यन गर्दै सरकारले पटक पटक सहिदको फेहरिस्त थप्दै गयो । पार्टीका कार्यकर्ता, दुर्घटनामा ज्यान गुमाएका कालगतिले मरेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकाहरू सोलोडोलो सबैलाई सहिद घोषणा गरिएको छ । सजिलै सहिद घोषणा गरिकाहरूको पनि तथ्याङ्क अप्राप्य छ । ०६२÷६३ को दोस्रो जनआन्दोलनमा सहिद भएकाको सङ्ख्या २६ र मधेश आन्दोलनका क्रममा सहिद भएकाहरू ३० जनाभन्दा बढी रहेका छन् । आजभोलि श्रद्धाञ्जलीमा एउटा चलन स्थापित छ, ज्ञात अज्ञात सहिदका नाममा मौन धारण गर्ने । मुलुकमा सहिदको सङ्ख्या बढ्ने तर महिमा र गरिमा घट्दै जाने क्रमले हाम्रो संस्कारमा ह्रास आइरहेको संकेत गर्छ । संविधान लेखन र जारी अवधिमा मधेश आन्दोलनले सहिदको संख्या थप्यो । नाकाबन्दी गराउने सिलसिलालाई समेत जोड्दा ५ दर्जन सहिदको कोटामा परे र राहत मागे । आन्दोलनमा मारिने कार्यकर्तालाई सहिद घोषणा गरेर अबमूल्यनसँगै लासको मूल्य निर्धारण गर्नु सहिदप्रतिको बदमासी हो ।

सहिद गेटमा माल्यार्पण गरेर, लौनचौरको सहिद पार्कका सम्बोधन गरेर मात्रै सम्मान हुँदैन । लोभीपापी मानसिकताबाट माथि उठ्न आवश्यक छ । सहिदको महिमागानमा समय र शब्द खर्चनु व्यर्थ छ । सहिदको महत्व नेताले भन्दा जनताले राम्रोसँग बोध गरेका छन् । कुरा ठूला गरेर काम नगर्नुभन्दा सानासाना काम गरेर नागरिकको मन जित्नु पर्छ । देश समृद्ध र समुन्नत बनोस, नागरिकहरूमा अमनचयन होस्। स्वतन्त्रता अभिव्यक्ति रहोस भन्ने चाहना नै वास्तवमा सहिदका सपना हुन् । शासकहरू आफैले आत्मसात र समीक्षा गर्ने हो भने यो कुरा स्पष्ट हुन्छ । सत्ताको कुर्सीमा पुगेपछि सहिदको बलिदान भुल्ने परम्परा हिजोदेखि कै हो ।

१० वर्षसम्म चलेको शसस्त्र जनयुद्धमा मर्ने र मारिने सहिद भए । तत्कालीन माओवादीले आफ्ना तर्फबाट मारिएका ७ हजारलाई घोषणा गर्दै जनही १० लाख रुपैयाँको प्याकेज दियो । विचारका लागि मरेकालाई नेतृत्वले उचित सम्मान गर्नु पर्ने थियो भएन् । सहिद दिवसलाई हल्काफुल्का किसिमले हेर्न दृष्टिकोणमा परिमार्जन आवश्यक छ । सहिद त अजर अमर हुन्छ, ऊ मरेर पनि नागरिकको मुटुको ढुकढुकीसँगै गुञ्जिरहेको हुन्छ । भौतिक देह समाप्त भए पनि सहिदको आत्मा जनमनमा रहेको हुन्छ । व्यवस्था फाल्नका लागि मात्रै नभएर अवस्था सुधारका लागि मार्गदर्शन दिने सहिदलाई विर्सनु आत्मघात हो । सहिद सबैका साझा सम्पत्ति हुन र हुनुपर्छ । सहिदको भावना कदर गर्नु नागरिक र नेताको गहन जिम्मेवारी पनि हो । सहिदको मर्म कत्तिको गहकिलो हुन्छ भन्ने कुरा हरेक देशले आफूले सम्मान गरेको राष्ट्रिय नायक वा सहिद स्मारकमा विदेशी आगन्तुकहरूलाई लैजान्छन् । छिमेकी भारतले महात्मा गान्धीको समाधिस्थल राजघाटमा विशिष्ट पाहुनालाई लैजानु यसैको उपज हो । हाम्रोमा सहिदगेटसम्म लगेर चार सहिदलाई देखाउने फुर्सद हुँदैन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा सहिद दिवसका सन्दर्भमा जारी गरिएको विज्ञप्तिमा देश र जनताका लागि आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । जहाँनिया राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन सहजै देशका लागि आहुति दिने चार महान् सहिद तथा प्रजातन्त्र पुनःस्थापना एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने वीर सपुतहरू सदा हामी सबैको लागि पथप्रदर्शक र आदर्श व्यक्तित्वका रूपमा रहिरहने मर्म छ । ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्दा मात्र महान् सहिदप्रतिको सञ्चा श्रद्धाञ्जली हुनेछ । सहिदहरूको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पार्न र उनीहरूले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको र रहिरहने प्रण समेत मुख्यमन्त्री गुरुङले व्यक्त गरेका छन् ।

सरकार सहिदहरूप्रति सकारात्मक छैन् । वलिदानको ऐतिहासिक दिन सहिद दिवसको विदा कटाएर सरकारले सहिदको साहस र बलिदानलाई सिधै अस्वीकार, अनादर र अवमूल्यन गरेको छ । ती सपूतहरूले तानाशाही शासकहरूसँग पौँठेजोरी नखोजेको भए ज्यान बचाएर धन कमाउने थिए । मुलुक कति समयसम्म अँध्यारोको बर्को आढेर बस्ने थियो कुनै अनुमान गर्न सकिदैन्थ्यो । कवि भूपिले भने जस्तै घुम्ने मेचमाथिको अन्धो मान्छेले माल पाएर चाल पाएनन् । वास्तवमा हामीले फेर्ने सास, खाने गास, बस्ने बास र लिने स्वतन्त्रतामा सहिदको योगदान छ । बाँचेकाहरूले आफ्नो कर्तव्य बुझेर सहिदलाई संझदा मुलुकलाई घाटा छैन् । वीरता र बहादुरीको कथा एकै रातमा सिर्जना भएका होइनन् । दूध दहीमा रूपान्तरण भएपछि फेरि दूध हुँदैन र नौनी बन्ने प्रक्रिया हुन्छ । हामी बाँचेकाले सहिदलाई विर्सन मिल्दैन । चेतना निर्माण गरिदिने सहिदलाई उच्च कोटीको सम्मान र सलाम ।

suresh.ranabhat@gmail.com

Leave A Reply

Your email address will not be published.