सुचना, समाचार र मनोरन्जन

अरुण थापाको सम्झनामा पोयुसापले सांगीतिक कार्यक्रम गर्ने

  •  
  •  
  •  
  •  

पोखरा /

पोखरेली युवा सांंस्कृतिक परिवारले सदाबहार गायक अरुण थापाको सम्झनामा शनिबार सांगीतिक कार्यक्रम गर्ने भएको छ । उनको २२ औं स्मृति दिवस अवसरमा अरुण थापा स्मृति दिवस–सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

गीतसंगीतमार्फत गायक थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको पोयुसापका अध्यक्ष मोती भुजेलले बताए । अध्यक्ष भुजेलका अनुसार सो कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधी क्लब’ मा सम्पन्न गरिने तयारी रहेको छ ।

पोयुसापका संस्थापक सदस्य समेत रहेका थापाको वर्षौंदेखि निरन्तररुपमा स्मृतिमा सांगीतिक कार्यक्रम गर्दै आएको परिवारले यो वर्ष पनि निरन्तरता दिएको पोयुसापका संगीत संयोजक एमडी काफ्लेले बताए ।

कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भव्य गर्ने तयारी गरिएको बताए ।

संस्थाका संगीत विभाग सल्लाहकार गायक विनोद बानियाँले सो कार्यक्रम फेसबुक र युट्युब च्यानलमार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रबन्ध मिलाइएको बताए ।

२००९ मा जन्मिएका थापा २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेको पोयुसापका पूर्व अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । गुरुङकै ‘कतै टाढा तिमीबाट पुगें भने म..’ नै अरुणको पहिलो रेकर्ड भएको गीत हो ।
अरुण थापाले पोखरामा पहिलो पटक तीसको दशकमा पोयुसापमा पनि पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेका थिए । उनको २०५६ सालमा निधन भएको हो ।

कमेन्ट्स
Loading...