सुचना, समाचार र मनोरन्जन

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने

काठमाडौं :

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंमा हुने भएको छ। बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजना हुन जानकारी दिइयो ।

फर्न इभेन्ट्सले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले यो अवार्ड पहिलोपटक भारत बाहिर आयोजना हुन लागेको जानकारी दिए। उनले भविष्यमा अन्य अन्तरराष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने बताए।

समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कुरा थाहा भएको छ । पत्रकार सम्मेलनमा आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘कोभिड १९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ’ उनले भने ।

नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री,अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंह सहित झण्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता हुनेछन् । कार्यक्रममा नेपालको सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने छ ।

पत्रकार सम्मेलनमा अत्यन्तै छोटो समयका बाबजुद पनि भारतबाट आउने सेलिब्रेटीहरुलाई नगरकोटको साइट सिन गराउने योजना रहेको जानकारी गराउँदै सांग्रिला भोयाजका प्रवन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रवर्धननमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

‘उहाँहरुको समय अभावका कारण नगरकोटको भ्रमण पछि पशुपतिनाथ दर्शन गराउने योजना बनाएका छौं,’ प्रवन्ध निर्देशक खनालले भने ।

अवार्ड समारोहमा नेपालको तर्फबाट सृजना शुत्रले सहभागिता जनाएको छ भने सजल जंग के.सी.ले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिएका छन् ।

कमेन्ट्स
Loading...