सुचना, समाचार र मनोरन्जन

विवादै विवादमा अवार्ड : ग्यारेन्टी भएपछि मात्रै अवार्ड समारोहमा पुग्छन् कलाकार

काठमाडौ । नेपालमा अवार्ड कार्यक्रम भन्यो कि धेरैले नाक खुम्च्याउन गरेका छन् । प्रत्येक वर्ष १०÷१५ वटासम्म अवार्ड हुने नेपालमा कोरोनापछि न्युन भएको छ । अहिले अवार्ड कार्यक्रम विवाद नै विवादमा फसिरहेको छ ।

विदेश जानका लागि अवार्ड किन्ने कलाकार र आयोजक बिचको खरिद बिक्रीका कारण अहिले अवार्डको महत्व घट्दै गएको छ । फेरि नेपालमा पछिल्लो समय कलाकारहरु अवार्ड पाइन्छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अवार्ड समारोहमा पुग्ने गरेका छन् । नत्र कार्यक्रममा आयोजकका आफन्त र अवार्ड पाउने कलाकार मात्रै रहन्छन् ।
यस कारण नेपालमा बाँडिने अवार्डमा फिल्मकर्मीहरुकै रुची मर्दै गएको देखिन्छ । सरकारित तहबाट बाँड्ने अवार्डमा समेत अहिले विवादको पोको बनेको छ । चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट बाँड्ने राष्ट्रिय अवार्डदेखि प्राइभेट कम्पनीहरुले वितरण गर्ने अवार्ड विवादै विवादमा मुछिएको छ । गत वर्ष सरकारले दिने अवार्ड समारोहमा अभिनेता सरोज खनालको कबोटमा बसेको एक तस्विर समेत भाइरल बनेको थियो । सरकारी अवार्ड आफ्ना र आफन्त नजिकलाई बाँड्ने गरेको आरोप लाग्दै आएको छ ।
निष्पक्ष अवार्ड वितरण नभएको भन्दै अभिनेता दीपकराज गिरी, गायक राजेश पायल राई लगायतका कलाकारहरु अवार्ड पाएता पनि अवार्ड लिन जाँदैनन् । दीपकराज गिरीले केहि वर्ष अघि अवार्ड वितरणमा आफुलाई नबोलाउन र अवार्ड कार्यक्रममा सरिक नहुँने उद्घोष गरेका थिए । गायक राजेश पनि अवार्ड कार्यक्रममा अरुलाई जान सल्लाह दिदै एक साता अघि भएको म्युजिक खबर अवार्डमा गएनन् । उनले आफुले अवार्ड कार्यक्रममा नजाने गरेको उल्लेख गरे ।

अवार्ड पाए मात्र कार्यक्रममा पुग्छन् कलाकार

नेपालका पछिल्लो समय चर्चामा रहेका कलाकार पल शाह र पूजा शर्मा अवार्ड पायो कि दौडिहाल्ने गरेका छन् । उनको उपस्थितिमा कार्यक्रम रोचक हुने र माहोल तातिने भन्दै विषेश गरि पल र पुजालाई कार्यक्रममा निमन्त्रण गरिने गरेको पाइन्छ । कोरोना महामारीको समयमा दैनिक म्यूजिक भिडियोमा अभिनय गरेका पल शाहलाई अवार्ड कार्यक्रमको नोमिनेशनमा पर्नु सामान्य कुरा हो । किनेभने उनले जति म्युजिक भिडियोमा अभिनय कसैले पनि गरेका छैनन् । उनले पाउने अवार्डलाई हरेक मान्छेले राम्रो मानेका छन् । तर, अवार्ड नपाउने कार्यक्रममा पल उपस्थित हँुदैनन् भन्ने कुरा पनि बाहिर आइरहेको हुन्छ ।

सोमवार भएको ‘जीवन्त नेपाल म्यूजिक भिडियो अवार्ड’ मा पल र पूजा दुवै उपस्थित भएका थिए । उपस्थित हुनासाथ कार्यक्रममा धेरैले उत्कृष्ट मोडलको अवार्ड पल र पुजाको पोल्टामा भन्ने थाले । किनभने केहि वर्ष यता पल र पूजा जुन–जुन म्यूजिक भिडियोको अवार्ड कार्यक्रममा पुगेपनि खालि हात फर्किनु परेको छैन । नभन्दै दुवैजनाले अवार्ड प्राप्त गरे ।
गत असोजमा भएको ‘नेपाल बेष्ट म्युजिक अवार्ड’ मा पूजाले उत्कृष्ट मोडलको अवार्ड जित्नु र पलले पपलुर मोडलको अवार्ड हात पारेका थिए । त्यस्तै मंसिरमै भएको तेस्रो ‘एपिक नेपाल म्युजिक अवार्ड’ कार्यक्रममा आधुनिक मोडलको अवार्ड पाएका थिए ।

सोमवार भएको ‘जीवन्त नेपाल म्यूजिक भिडियो अवार्ड’ कार्यक्रममा गायिका एलिना चौहान, संगीतकार अर्जुन पोखरेल,शम्भुजित बास्कोटा, कुन्ती मोक्तानका साथमा गायिका मेलिना मैनाली र गायक कमल खत्रीको जोडी पनि कार्यक्रम अवधिभर नै हलमा बसेका थिए । पछिल्लो समय गायक कमल खत्री र मेलिना मैनाली गायन तथा अभिनयमा संगसंगै देखिदै आएका छन् ।

अवार्ड पाउँदा नि लाज

पछिल्लो केहि वर्ष यता अवार्ड पाएकाहरुले सामाजिक सञ्जालतिर पोट्याउन छोडेका छन् । किनभने अवार्ड लिनेलाई समेत लाज हुने गरे देखिन्छ । हरेक कलाकारहरुले पाएको अवार्ड थपक्कन घरको भित्तामा राख्ने गरेका छन् । केहि वर्षअघिसम्म सामाजिक सञ्जाल रंगाएका अवार्ड लिनेहरु अहिले चुपचाप अवार्ड कार्यक्रममा सरिक हुन्छन् । जताततै अवार्डलाई किनबेचको कुरा बाहिर आएपछि राम्रा कलाकारहरुले समेत अवार्डको फोटो सञ्जालमा पोष्ट गर्दैनन् ।
केहि साल अघिसम्म कलाकारहरुले अवार्ड पाएको भन्दै सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग खुसी साट्थेँ । हौसिएका हुन्थेँ र अवार्ड पाउँदा निकै रौनक छाएको प्रतिक्रिया दिन्थेँ तर अहिले अवार्डको महत्व घटेपछि कलाकारलाई नै लाज हुन थालेको आभास गर्न सकिन्छ । हिजो भएको अवार्ड कार्यक्रममा अभिनेत्री पुजा शर्माले अवार्ड प्राप्त गर्नासाथ बािहर निस्केर घर तिर लागिन् । अवार्ड पाउने मात्रै कार्यक्रममा उपस्थित हुन्छन् भन्दा केहि फरक न पर्ला ।

कमेन्ट्स
Loading...