सुचना, समाचार र मनोरन्जन

न्यौपानेलाई सहीद घोषणा सहितका मागमा सहमति जुटेपछि बर्दिबास आन्दोलन मत्थर

काठमाडौं ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न गृह मन्त्रालयमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने तथा मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिसँगै बर्दिवासको आन्दोलन अवतरणको अवस्थामा पुगेको छ ।

बर्दिवासमा बुधवार प्रजिअ र सुरक्षा निकायका प्रमुखसहित सर्वदलीय बैठक र सीडीओको नेतृत्वमा आन्दोलनरत पक्षसँग भएको वार्तामा सहमति जुटेको हो ।

त्यस क्रममा बालिका हत्या प्रकरणको तटस्थ अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने, घाइतेहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

यस्तै प्रहरीले चलाएको गोलीका कारण एक जनाको मृत्यु तथा केही मानिस घाइते भएको र उक्त घटनाको सत्यतथ्य छानबिनका लागि छानबिन समिति गठन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने सहमति समेत जुटेको छ ।

British college

यता आन्दोलनरत पक्षको वार्ता टोलीका संयोजक चिरञ्जीवी हमालले सहमति भएको र सोहीअनुसार पीडित परिवारलाई भेटेर सम्झाउन आफू त्यसतर्फ गइरहेको बताए ।

केही व्यक्तिहरूले आन्दोलन नरोक्ने बताए पनि भोलि उनीहरू सडकमा निस्किए आफूले सम्झाउने उनको भनाइ छ ।

सहमतिमा आन्दोलनरत पक्षका तर्फबाट वार्ता टोलीका १३ जना तथा सरकारी टोलीका तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल र ३ जना एसपीको हस्ताक्षर रहेको छ ।

स्थानीय ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या भएपछि बर्दिवासमा आन्दोलन भएको थियो ।

मङ्गलबार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएपछि आक्रोश थप बढेको थियो ।

सोही कारण बुधवार स्थानीय प्रशासनले बर्दिवासमा निषेधाज्ञा जारी गरे पनि निषेधाज्ञा तोड्दै प्रदर्शन भएको थियो । फाइल तस्बिर 

कमेन्ट्स
Loading...