काठमाडौं । नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगिको खोजी सुरु भएको छ ।
रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि.ले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छन् ।
चौथो ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गरिने पनि बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छन् ।विगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई बतृत्वकला, ब्यक्तित्व विकास, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।

प्रशिक्षार्थीलाई प्रशिक्षणको क्रममा टि सर्ट, फाईनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । विजेता सहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि बिजेतालाई क्राउन, ट्रफी सहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निशुल्क फोटो शेसन, विजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अवसर प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकास तालिक केन्द्र रवि भवन तथा विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतली सडकबाट फारम लिन सक्ने छन् ।