काठमाडौं ।
कोरोना महाव्याधिका प्रचण्ड कहरबीचसंसारका सम्पूर्ण गतिविधिहरु नराम्ररी प्रभावित भइरहेका छन् । भइरहेका संस्था–प्रतिष्ठानहरुका आर्थिक गतिविधिहरु डाँवाडोल भएका छन्, करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन ।
यस्तो विषम परिस्थितिमा पनि स्वरोजगारीका गोरेटो खन्दै केही उत्साही युवाहरु जोशिएर ‘प्रगतिशील’ सामग्रीहरुको प्रकाशन कार्यमा हात हालेका छन् ।

र, त्यसैक्रममा आफ्नो नाम ‘बेला’लाई सार्थक तुल्याउँदै दुई पठनीय कृतिहरु ‘जात वार्ता’ र ‘कोरोना कैरन’ लिएर बजारमा देखापरेको छ ।
जातवार्ताका लेखक आहुति हुन् भने कोरोना कैरनका खगेन्द्र संग्रौला । दुवै नामहरु नेपालका प्रगतिवादी लेखनका स्थापित र सिद्धहस्त नाम हुन् ।
र, दुवै पुस्तकमा उठाइएका विषयवस्तुहरु, नेपालका जातीय समस्याका गम्भीर पहलुहरु तथा कोरोना कैरनका कारण भुइँतहका मानिसहरुले भोगिरहनु परेका समस्याहरुमा आधारित छन् ।
पुस्तक प्रकाशन आफैंमा एउटा गम्भीर र चुनौतीपूर्ण कार्य हो । विशेषतः यतिखेर प्रगतिशील सामग्रीहरुको सन्दर्भमा पठन संस्कृति खस्किएको आवाज बढिरहेको छ ।
बजारलाई चर्को स्वरमा हल्लाखल्ला गरी झ्याली पिटेर प्रबर्द्धन गरिने ‘‘बजारु’ पुस्तकहरुले कब्जा गरिरहेको गुनासाहरु उठिरहेका बेलामा सार्थक र प्रगतिशील आवाज बोक्ने पुस्तकहरुको प्रकाशन गर्नु आफैंमा दुरुह र जोखिमपूर्ण कार्य हो ।
यस अर्थमा बेला प्रकाशनले माथि उल्लिखित दुई पुस्तकहरु प्रकाशन गरेर साहसिलो काम गरेकै हुन् ।