काठमाडौँ :
मंसिर महिना हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम मानिन्छ । यो समयमा शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने चलन हाम्रो सनातन परिपाटी रहेको पाइन्छ ।
विवाहको मौसम लाग्नै लाग्दा अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देल अभिनित नयाँ म्युजिक भिडियो ‘आउन राजा’ सार्वजनिक भएको छ । भिडियोमा बेनिशा र आर्यनको जोडी सुहाएको र दुवैको अभिनय तारिफ योग्य छ।गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने, एसडी योगीको सङ्गीत रहेको छ।

निखारिएको अभिनय गर्ने अभिनेत्री बेनिशाले आफ्नै प्रोडक्शन कम्पनीबाट पहिलो गीत मौरी पिक्चर्सबाट सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाउने कोसिस गरेको छ । भिडियोमा एक युवतिले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन्।
हरी हुमागाईँले छायाङ्कन गरेको भिडियोको कोरियोग्राफी सुभम भुजेलले गरेका हुन्। चानस पुन मगरको भिएफएक्स रहेको भिडियोमा सम्पादन प्रविन श्रेष्ठले गरेका छन्। यस भिडियोको कार्यकारी निर्माता केदार भुषाल हुन्। बेनिशाले अभिनय गरेको फिल्म ‘प्रेमगञ्ज’ गत भदौमा रिलिज भएको थियो । यो फिल्मबाट बेनिशाको अभिनयको तारिफ भएको थियो ।