सुचना, समाचार र मनोरन्जन

सन्दर्भ भानु जयन्ती : गण्डकी प्रज्ञा प्रतिष्ठानको ‘धुनमा कविता’ कार्यक्रम सम्पन्न

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा /

२०८ औं भानु जयन्तीका अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘धुनमा कविता’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बगर स्थित शिक्षा विकास निर्देशनालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशका १२ जिल्लाका १२ कविले कवितावाचन गरे ।

कार्यक्रममा कास्कीका कवि शिव त्रिपाठी, लमजुङका कवि सरस्वती श्रेष्ठ ‘सरु’, कास्कीका छन्दकवि शंकरमणी त्रिपाठी, लमजुङका कवि कुमार तामाङ, कास्कीका कवि लक्ष्मी थापा, तनहुँका कवि अम्बिका प्रसाद भट्टराई, गोरखाका कवि लोकनाथ पुडाशैनी, पर्वतका कवि डा. जगन्नाथ रेग्मी, स्याङजाका कवि डा.नारायण प्रसाद अधिकारी र सुदर्शन पौडेलले कविता प्रस्तुत गरेका हुन् ​।

म्याग्दीका कवि घायल श्री र तनहुँकी कवि सरस्वती ‘प्रतिक्षा’ को उपस्थिति थिएन । कार्यक्रममा प्राज्ञ बिम्ब कवि रमेश श्रेष्ठले समेत कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको औपचारिकतालाई उदघाटन गर्दै कवि तीर्थ श्रेष्ठले भानुभक्तले आफ्ना सिर्जनाबाट प्रस्तुत गरेका सबै विषय महत्वपूर्ण भएको बताए । उनले नेपाली भाषाको प्रचारप्रसार र महत्वमा भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरे । भानुभक्तलाई आधी कवि मात्र नभए आधी व्यंग्य कविका रुपमा परिचित गराउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । भानुभक्तलाई राष्ट्रियताका आधारमा बुझ्न जरुरी रहेको उनले बताए ।

कवि श्रेष्ठले अहिले राष्ट्रियता कमजोर बन्दै गएको र कमजोर बनाउने तत्व हामी भएको उल्लेख गरे । उनले भने, ‘अहिले हाम्रा कारण राष्ट्रियता कमजोर हुँदै गएको छ । राजनीति र भाषासाहित्यलाई हामीले बुझेनौं । भानुभक्तका पथमा हिँडेनौं ।’ उनले श्रष्टाहरुको सोच बदल्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । संगीतको ‘स’ नजान्ने व्यक्तिलाई प्रमुख अतिथि बनाएर उसैबाट सम्मान थाप्नु स्रष्टा प्रतिको अपमान भएको उल्लेख गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यखड्का बिखर्चीले २०८ औं भानुजयन्तीका अवसरमा आयोजित धुनमा कविता प्रतिष्ठानको पहिलो कार्यक्रम भएको जनाउँदै आगामी दिनमा प्रदेशका वाङमयिक क्षेत्रको विकास र हितका निम्ती सबै सँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले गण्डकी प्रज्ञा प्रतिष्ठानले स्रष्टाको सम्मान जिउँदै हुँदा हुनुपर्छ भन्ने मान्यता स्वरुप आफ्ना कार्यक्रम तय गर्न लागेको जानकारी गराए ।

कार्यक्रममा चलचित्रकर्मी प्रकाश घिमिरे, गीतकार दुर्गाशाह बाबा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु, संगीतकर्मी र कलाकर्मीहरुको उपस्थिति थियो । उपकुलपति गोरे गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य सचिव मनकुमार श्रेष्ठले गरेका थिए ।

कमेन्ट्स
Loading...