सन्तोष बस्याल
पोखरा /
तिमीले सुन्या को कुरा हो
मैले सुन्या को कुरा हो
गाउँघरमा तिम्रो मेरो
हल्या चल्या को कुरा हो
झयाम्म झयाम्म…….
लामो समय पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका आर्जुबिष्ट सल्यानीको रचनामा डी–मर्चा ब्याण्डको उक्त प्रस्तुतिलाई नसुन्ने कमै होलान् । ब्याण्डलाई सोही गीतले नै माथि उठायो भन्दा फरक नपर्ला । ‘झयाम्म झयाम्म…’ सार्वजनिक पश्चात डी–मर्चाले पछि फर्केर हेर्नुपरेन । देश लगायत विदेशका थुप्रै स्टेज कार्यक्रमहरूको लर्को लाग्यो ।

डी–मर्चा ब्याण्ड वि.सं २०५२ सालमा स्थापना भयो । त्यतिबेला भाष्करध्वज श्रेष्ठ, विश्वास गुरुङ, अशोक गुरुङ, विरेन पुन र ध्रुवलगायतको टोलीले ब्याण्डको स्थापना गरेका थिए । गाउँघरमा लोकल रक्सी पार्दा मर्चाको प्रयोग गरिन्थ्यो । अहिले पनि अक्सर गरिन्छ । सोही मर्चाको नामबाट ब्याण्डको नाम जुरेको थियो । जुराउने थिए ध्रुव । जो अहिले हामीमाझ छैनन् ।
०५४ सालको कुरा हो । त्यतिबेला माछापुच्छ्रे ब्याण्ड प्रतियोगिताको आयोजना पोखरामा गरिएको थियो । भाष्करसँगै विश्वास, अशोक, विरेन र ध्रुव भएर उक्त प्रतियोगितामा सहभागिता जनाउने सोच बनाए । भाष्कर काठमाडौंबाट प्लस टु १२ कक्षा सकेर पोखरा फर्किएका थिए । सोहि समयमा नै भाष्करले ती साथीहरूलाई भेटेका हुन् ।
भाष्कर सानैदेखि गीत गाइराख्थे । शब्द समेत आफैंले कोर्ने गर्थे । कोरेका शब्दलाई लय समेत हाल्न सक्ने खुबी उनमा थियो । आफूले सिर्जना गरेका गीत कसैलाई सुनाउन मन लाग्थ्यो । त्यतिबेला ¥यापको समय आइसकेको थिएन । तर पनि भाष्करले आफूलाई फरक रूपमा प्रस्तुत गर्न खोज्थे । पृथ्वीनारायण क्याम्पस पढ्दाताका उनले साथीभाइहरूलाई खुब गीत सुनाए । ‘तारा खसौली ए बैनी रुदै बसौली…’ गीत गुनगुनाइरहेका हुन्थे ।
प्रतियोगितामा सहभागिता जनाउँदा समेत उनले सोही गीत प्रस्तुत गरे । जसले उनीहरूलाई बेस्ट बेस गितारिष्टको अवार्ड समेत दिलायो । त्यतिबेला बेस गितार बजाउने ध्रुव नै थिए ।
भाष्कर संगीतमा त्यतिबेला लागे जतिबेला पोखरामा गायक कर्ण दास, हङ्ग्री हर्ट ब्याण्ड, मध्यान्ह ब्याण्ड, देउराली ब्याण्डका गीतलाई रुचाइएको थियो । चलेका कलाकारको भीडमा भाष्करलाई केही नयाँ प्रस्तुतिसँगै जोडिनु थियो । फलस्वरूप भाष्करले आफूलाई ¥यापशैलीमा प्रस्तुत गरे । जसलाई रुचाइयो पनि ।
०४९ देखि औपचारिक संगीत यात्रा
भाष्करध्वज श्रेष्ठ विसं २०४९ देखि नै औपचारिक संगीत यात्रामा होमिए । तत्कालीन समयमा डी—मर्चा ब्याण्डको स्थापना भइसकेको थिएन । कक्षा ९ मा पढ्दा ज्योति जंगम, राजु गिरी लगायतका साथीहरूलाई भेटेपछि उनको गायन क्षेत्रमा नयाँ मोड आयो । फलस्वरूप काठमाडौं छाउनीको अल्फा रेकर्डिङ स्टुडियोबाट ‘ट्रयाज’ एल्बम सार्वजनिक गरे । जसको बजार व्यवस्थापनको काम धौलागिरी क्यासेट सेन्टरलाई लिइएको थियो । त्यतिबेला नै उनले मीनभवन क्याम्पस, काभ्रे चौतारी, भक्तपुर लगायतका ठाँउहरूमा पुगेर सांगीतिक प्रस्तुति दिएका थिए ।
तत्कालिन समयमा मंगोल ब्याण्ड हिट थियो । नविन के भट्टराई पनि चलेका कलाकार थिए । उनीहरूका गीत भाष्करलाई असाध्यै मन पर्ने । सुनेर अक्सर गाइरहेका हुन्थे । भाष्करले ¥यापशैलीका गीत गाउन शुरू गर्दा नेपालमा ग्रीस पँडेल मात्रै थिए ¥याप गाउने । त्यसपछि लोकपप गीतमा ¥यापलाई समावेश गर्ने भाष्कर नै हुन् । २०५० र ०५१ सालदेखि नै भाष्करले ¥याप गाउन शुरू गरे ।
डी–मर्चा ब्याण्डको स्थापना भएपछि २०५३ सालमा पहिलो एल्बम ‘खैलाबैला’ सार्वजनिक भयो । त्यतिबेला सांगीतिक क्षेत्रमा खुब खैलाबैला मच्चिएको थियो । सोही समयलाई समात्दै उनले गीत सार्वजनिक गरे । जसलाई आम नागरिकले मन पराए । फरक शैली र नयाँ प्रस्तुति पनि भएकाले डी–मर्चाले दर्शकको माया पायो । २०५७ सालमा ‘हुन्देरे’ एल्बम सार्वजनिक भयो । त्यसपछि डी—मर्चाले ‘एक दुई तीन भन्दिने हो’, ’झ्याम्म झ्याम्म..’, ‘कोही छ किन्ने’ सार्वजनिक ग¥यो । समय सान्दर्भिक गीत भएकाले पनि डी–मर्चाका प्रस्तुतिहरू संगीतपारखीको दिमाखमा बस्न सफल भयो ।
सांगीतिक क्षेत्रको ट्रनिङ पोइन्ट गीत ’झ्याम्म झ्याम्म…’
पोखरा–३ तेस्रापट्टीमा २०३५ असोज ०६ गते बुवा गोविन्दध्वज श्रेष्ठ र आमा अम्बिका श्रेष्ठको तीन सन्तान मध्ये जेठो सुपुत्रको रूपमा जन्म लिएका भाष्कर अलिअलि गीत चल्न थालेपछि पोखराबाट प्रसारित रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको कार्यक्रममा अन्तर्वार्ताका लागि जाने गर्थे । त्यही नै उनको भेट आर्जु विष्ट सल्यानीसँग भयो । सल्यानी पश्चिम सल्यानका थिए । सल्यानमा धेरै चलेको शब्द थियो ’झ्याम्म झ्याम्म..’ । समुदायको लयलाई टपक्क टिपेर सल्यानीले एउटा गीत रचे । जुन गीत भाष्करको पोल्टामा आयो । भाष्करले उक्त गीतलाई नयाँ स्वरूप दिए । फलस्वरूप गीत रेकर्ड भयो । र, आज पनि सोही गीत आम जनमानसको मुखमा झुण्डिन पुग्यो । एक अर्थमा भन्दा भाष्करसँगै ब्याण्डको सांगीतिक ट्रनिङ पोइन्ट नै ‘झ्याम्म झ्याम्म…’ बन्यो ।
व्यवसायमा सक्रिय भाष्कर
धेरै नबोल्ने । अर्काको कुरा सुन्ने बानी भाष्करको अहिलेको होइन । सानैदेखिनै उनी यस्तै हुन् । नदिपुरको बालमन्दिरमा प्रारम्भिक शिक्षा लिएपश्चात काठमाडौंको सिदार्थ बन्स्थलीबाट एसएलसी दिएका भाष्करले काठमाडौंको पिपुल्स कलेजबाट प्लस टु उत्तीर्ण गरे । त्यसपश्चात उनी पोखरा फर्किए । पीएन क्याम्पसमा स्नातक सम्मको अध्ययन गरी उनको पढाई रोकियो । त्यसपछि संगीतलाई रहरको रूपमा प्रस्तुत गर्दै जीवन जिउनका लागि व्यवसाय शुरू गरे ।
उनले न्यु मोडल स्कूलमा शिक्षकको रूपमा काम गरे । हिमश्री फूड्समा समेत आबद्ध रही भाष्करले काम गरेका छन् । त्यसपछि पञ्चकन्या फर्निचरको स्थापना गरी व्यवसाय शुरूआत गरे । जिरो प्रतिशत सरल किस्ताबन्दी व्यवसाय समेत भाष्करले गर्न भ्याए । यसमा एकैचोटी सबै पैसा तिरेर सामान खरीद गर्न नसक्नेलाई जिरो प्रतिशत ब्याजमा किस्ता दिने गरी सामान उपलब्ध गराइन्थ्यो । ससेज उद्योग समेत उनले सञ्चालन गरेका थिए । त्यसपछि भाष्करले व्यवसाय परिवर्तन गर्दै ‘जोजोलोपा नेवारी किचन’, ‘बीलीस फूल केक्स ’ सञ्चालनमा ल्याए । उक्त व्यवसाय अहिले पनि चलिरहेको छ । संगीतसँगै व्यवसायमा समेत उनी सफल छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सहभागिता
डी–मर्चा ब्याण्डले देशका अधिकांश जिल्लामा आयोजना गरिएको स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेको छ । हालसम्म ७५ वटा मात्र गीत सार्वजनिक गरेको ब्याण्डले विदेशमा भने मलेसिया, हङकङ, कोरिया, जापान, अष्ट्रेलिया लगायतका शहरमा प्रस्तुति दिएको छ ।
ब्याण्डले कोभिडकै समयमा ‘नेताज्यू नमस्कार’ र ‘रोगले भन्दा भोकले मरे’ बोलको गीत सार्वजनिक ग¥यो । अहिले ब्याण्डमा सञ्जय नेपाल, विरेन पुन, प्रज्वल विक, सफल परियार रहेका छन् ।
भाष्कर भन्छन्, ‘कोरोनाले सबै क्षेत्र थलिएको छ । सांगीतिक क्षेत्र सबै भन्दा प्रभावित छ । धेरै ब्याण्ड फुट्ने अवस्थामा पुगेका छन् । तर हाम्रो ब्याण्ड स्थिर छ ।’
ब्याण्डका सबै कलाकार व्यवसायी भएकाले पनि सहज भएको भाष्कर बताउँछन् । ब्याण्ड फुट्नुपर्ने स्थिति नभएको उनको भनाइ छ ।
‘पोखरामा चलेका कलाकारको निरन्तरता छैन’
भाष्करध्वज श्रेष्ठ पोखरामा चलेका कलाकारको निरन्तरता नभएको पाउँछन् । उनी भन्छन्, ‘पहिलेका कलाकारले निरन्तरता दिएका छैनन् । अपडेट नहुँदा पोखराको संगीत सुस्ताएको आभाष हुन्छ ।’ अग्रजले अनुजलाई माया र अनुजले अग्रजलाई सम्मान गर्न सके पोखराको संगीतले गति पाउने विश्वास भाष्करको छ । नयाँ कलाकार पनि एउटा गीत राम्रो भयो भन्दैमा मात्तिन नहुने उनको तर्क छ ।
भाष्कर पछिल्लो समय यूट्युब ट्रेण्डिङमा पार्न गरिने खर्चको विरोधमा छन् । अनावश्यक खर्चले संगीतमा समस्या आएको उनी बताउँछन् । राम्रा गीतले ढिलो चाँडो सफलता पाउने भाष्कर बताउँछन् । कोरोनाले पोखरेली संगीतमा परिवर्तन ल्याउने विश्वास उनको छ । भन्छन्, ‘महामारीपछि पोखराको संगीत क्षेत्र फेरि ब्यूँतिने छ । ’
प्रेमी भाष्कर
भाष्कर एक सफल प्रेमी पनि हुन् । प्रगति बिजुक्छे श्रेष्ठसँग उनी प्रेममा परे । जुन सफल पनि भयो । उनीहरूको प्रेम कहानी पनि चाख लाग्दो छ । आफूभन्दा ९ वर्ष कान्छी प्रगतिसँग कतिबेला प्रेममा परे भाष्कर आफैंलाई थाहा छैन । प्रगति भाष्करको प्रशंसक थिइन् । डी–मर्चाका गीत प्रगतीले अक्सर सुन्ने गर्थिन् । टेलिभिजनमा गीत बज्दा सबै काम छोडेर सुन्न हेर्ने पुग्थिन् । डायरीमा समेत भाष्करको नाम उल्लेख हुन्थ्यो । पछि भेट भयो । सालिन स्वभावका भाष्करसँग मायाप्रिती गाँस्न पुगिन् प्रगति । र, भाष्करसँगै लगनगाँठो कसिन् । अहिले उनीहरूको एक खुशी र सुखी परिवार छ ।