सुचना, समाचार र मनोरन्जन

भौतिक पूर्वाधार मन्त्रालय गण्डकीको सय दिन : प्रविधिमैत्री यातायातमा जोड, टुक्रे योजनामा कटौती

सन्तोष बस्याल
पोखरा ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन पुरा भएको छ । सोहि अवसरमा मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सय दिनमा भएका कार्यप्रगतिको विवरण पेश गरेको छ । जसमा यातायात र भौतिक क्षेत्रमा उल्लेखिय सुधार भएको मन्त्री रेशम बहादुर जुग्जालीले बताए । उनका अनुसार २०८० भाद्र १ गतेदेखि पोखरामा चल्ने ट्याक्सीहरुमा अनिवार्य मिटर संचालन हुनेछ । जसबाट ट्याक्सीबाट यात्रु ठगिएको र चर्को भाडाको मारमा परेको गुनासो न्यूनिकरण हुने विश्वास गरिएको छ ।

सार्वजनिक विद्युत्तिय सवारी संचालन मापदण्ड २०८० स्वीकृत भई लागू भएको मन्त्री जुग्जालीले उल्लेख गरे । उनले २० वर्षे ट्याक्सी विस्थापन हुँदा विद्युत्तिय भाडा कार दर्ता गर्ने प्रकृया अगाडि बढेको जानकारी गराए । यातायात कार्यालयहरुको सेवालाई व्यवस्थित छिटो, छरितो र सहज तथा अनधिकृत व्यक्तिहरुको सहयोग लिन नपर्ने बनाउने प्रयास स्वरुप नेपालमा नै पहिलोपटक यातायात व्यवस्था कार्यालय कास्कीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइनबाट नवीकरण शुल्क तिर्ने व्यवस्था मिलाएको छ । सेवाग्राही मैत्री कार्यालय बनाउन हेल्प डेस्क निर्माण गरी सहजता बनाउने विषयमा मन्त्रालय अग्रसर रहेको भनाई उनको छ ।

‘यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा झन्झटिलो, पट्यार लाग्दो लामो लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यतालाई हटाई कार्यालयबाट सेवा प्रदान गर्दा छोटो समय भित्र काम सकिने गरी सेवा संचालनको प्रकृयामा सरलीकरणको व्यवस्था गरिएको छ ।’, उनले भने ।

जसबाट सेवाग्राहीको चाप घटेर भिडभाड कम हुने र धौलागिरी क्षेत्रका सेवाग्राहीहरुलाई पोखरा आउने जाने समय तथा खर्च घट्ने भनाई उनको छ । यातायात व्यवस्था कार्यालय (लाइसेन्स) कास्कीको चार पाङ्गे्र ट्रायल परिक्षामा अधिकांश परिक्षार्थीहरु अनुतीर्ण हुने जनगुनासोलाई मध्येनजर गर्दै ड्याटसन गाडीले मात्र ट्रायल दिनुपर्ने बाध्यकारी व्यवस्थालाई परिवर्तन गरी अन्य कम्पनीका गाडीलाई पनि ट्रायल परिक्षामा समावेश गराई ट्रायल दिने व्यवस्था मिलाइएको उनले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा दर्ता भएका सवारी साधनहरुको ढड्डा तथा फाइलहरु स्क्यान गरी सम्पूर्ण विवरण डिजिटाइजेशन गर्ने काम सम्पन्न भएको उनले उल्लेख गरे । प्रविधिमैत्री यातायात सेवा प्रवाह गर्ने दिशामा मन्त्रालय अग्रसर रहेको भनाई उनको छ । यातायात क्षेत्रमा नीतिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संशोधन तथा नियमावली र कार्यविधि निर्माणको काम तदारुकताका सात अगाडि बढीरहेको छ ।

गण्डकी प्रदेश सरकारको आ.व.२०८०÷८१ को भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका साना टुक्रे योजनालाई कटौती गरि ३० लाख रुपैयाँ भन्दा माथिका योजनाहरु मात्र समावेश गरिएको मन्त्री जुग्जालीले बताए । अघिल्लो आर्थिक वर्षमा १८ सय योजना रहेकोमा चालू आ.व.मा ११ सय वटामा घटाइएको छ । विगतका ठेक्का लागेका आयोजनालाई निरन्तरता दिन र सम्पन्न गर्नका लागि प्रयाप्त बजेट विनियोजनको व्यवस्था गरिएको उनले बताए ।

‘योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाई भार कम पर्ने, योजना कार्यान्वयन नियमन र अनुगमन गर्न सहज हुने, प्रशासनिक लागत घट्ने र योजना निर्माणकोे कार्य देखिने गरि काम हुनेछ ।’,उनले भने ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजना मस्यौदाका लागि प्राविधिक सहयोग समिति गठन भई सो प्रकृया अन्तिम चरणमा पुगेको उनले उल्लेख गरे । जसबाट सडक यातायात सञ्जालको योजनाबद्ध विकास गरी यातायात सेवाको भरपर्दो व्यवस्था गर्न, निर्माण भएका भौतिक संरचनाहरुको प्राथमिकिरकरण सहित मर्मत सम्भार गर्न सडक छनौट, निर्माण, स्तरोन्नती, वर्गीकरण गर्न सहयोग पुग्छ ।

प्रदेश सरकार अन्तर्गतका सडकहरुमा वर्षायामको समयमा पनि नियमित यातायात सेवा संचालन तथा बाह्रै महिना सडक सुचारुको लागि आपतकालिन सडक मर्मत सम्भार कोष खडा गरी सडक मर्मत सम्भार छिटो छरितो तवरले अनुगमन तथा निर्देशन बमोजिम काम भइरहेको उनले बताए ।

मन्त्री जुग्जालीले आफुले कार्यभार सम्हाल्दा रुग्ण आयोजनाहरुको संख्या ४७ भएकोमा अहिले सहजिकरण गरेर १७ वटामा झारिएको बताए । गण्डकी प्रदेशको मुख्य राजमार्ग, सहायक राजमार्ग र जिल्लाको मुख्य राजमार्ग सञ्जालहरुको वैकल्पिक बाटो पहिचान तथा मर्मत सम्भार गरी वर्षायाममा समेत सडक सुचारु गर्न सडक विभाग, मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख, ट्राफिकहरुसँग आवश्यक समन्वय गरिएको उनले बताए ।

नयाँ आर्थिक वर्षमा थप ३ सय किलोमिटर सडक कालोपत्रे, २५ वटा सडक पुल र २० वटा झलुङ्गे पुल निर्माण गर्ने मन्त्रालयको लक्ष्य छ । मन्त्री जुग्जालीले मन्त्रालय क्वालीटि मेन्टन गराउने विषयमा प्रतिबद्ध रहेको बताए । यातायात कार्यालयमा विचौलियाहरुको अन्त्य गराउने गरी नै लागि परेको भनाई उनको छ । मिटरमा ट्याक्सी संचालन गर्ने र रुट परमीट जारी गर्ने विषय सजिलो नहुँदा नहुँदै पनि थालनी गरिएको र यसलाई निचोडमा पु¥याएरै छाड्ने प्रतिबद्धता मन्त्री जुग्जालीले व्यक्त गरेका छन् ।

‘मेरो कसैसँग सेटीङ छैन । खेलो मेलो गर्न मलाई आउदैन । निश्पक्ष तरिकाले काम गर्ने हो । जसमा म दृढ छु ।’, उनले भने ।

Leave A Reply

Your email address will not be published.