काठमाडौं :
नेपालमा हरेक पटक फिल्मीकर्मीको गुनासो हुन्छ चलचित्र विकास बोर्डले नेपाली भन्दा पहिला विदेशी फिल्मलाई प्राथमिकतामा राखिन्छ । विदेशी फिल्म नेपालका फिल्म हलमा लाग्ने कुरामा चल्यो कि तर्सिन थाल्छन् ।
कुनै कुनै निर्माता तथा निर्देशक विदेशी फिल्मसँग भिड्न तयार हुन्छन् भने कोही प्रदर्शन मिति सार्ने गरेका छन् । अहिले केहि चलचित्रकर्मीहरु फेरि तर्सिएका छन् । विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित बलिउड फिल्म ‘लाइगर’ बिहीबार प्रदर्शन हुने भएपछि चलचित्र विकास बोर्डलाई रोक्न भनेका थिए ।
तर, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशी फिल्मलाई तत्काल प्रदर्शनमा रोक लगाउनुको साटो शुक्रबार रिलिज हुन लागेका फिल्मका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै रिलिज गर्न आग्रह गरेका छन्। चलचित्रकर्मीको हकहितका लागि काम गर्छु भन्दै बोर्ड अध्यक्ष भएका केसीले ‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक दिनेश राउतलाई बिहीबार नै फिल्म रिलिज गर्न भनेका छन् ।
भुवनको यो आग्रहलाई दुवै फिल्मका निर्माताले अस्वीकार गरेका छन् । दुवै तर्फका निर्माताले आफ्नो सेड्युल अनुसार नै फिल्म शुक्रबार रिलिज गर्ने बोर्ड अध्यक्षलाई जवाफ फर्काएका छन् । त्यस कारण अब ‘लाइगर’ बिहीबार तथा ‘राधा’ र ‘प्रकाश’ शुक्रबार नै रिलिज हुनेछन् ।
