काठमाडौं ।
कोरोना भाइरसको संक्रमण कायमै रहेकाले विद्यालयका शिक्षक पढ्न आएका विद्यार्थीले हाँछ्यु गर्दा नै डराउने गरेका छन् ।
कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले धेरै विद्यालय बन्द गरे पनि खुलेका केही विद्यालयमा पढ्न आउने विद्यार्थीसँग शिक्षक यसरी सतर्क हुन पुगेका छन् । सरकारले विद्यालयमा जम्मा गरेर नभई वैकल्पिक विधिको प्रयोग गरेर पढाइ सञ्चालन गर्न निर्देशन दिए पनि ग्रामीण र सहरी क्षेत्रमा पढाइ सुरु भएका केही विद्यालयमा यस्तो समस्या देखिएको हो ।

सहरी क्षेत्रका अधिकांश विद्यालयहरूले अझै पनि अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने गरेका छन्। ग्रामीण क्षेत्रका विद्यालयले भने वैकल्पिक शिक्षाका लागि आवश्यक स्रोतको अभावमा महिनौंदेखि जोखिम मोलेर पठनपाठन सञ्चालन गर्दै आएका छन्।
एफएम रेडियो, टेलिभिजन, कम्प्युटर, अनलाइनलगायतका मध्यमबाट कक्षा सञ्चालन गर्न सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो।
ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थी यी कुनै पनि साधनको पहुँचमा छैनन्। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको शिक्षा शाखाकाअनुसार गाउँपालिकाले ४० विद्यालयका ४ हजार ५६८ जना विद्यार्थीमा गरेको सर्वेक्षणमा इन्टरनेटमा ३.३ प्रतिशतको मात्र पहुँच रहेको देखिएको थियो।
घरमा टेलिभिजन भएका १९० जना र सूचना प्रविधिको कुनै पनि पहुँच नभएका ८९८ जना विद्यार्थी भेटिएका थिए।
उक्त सर्भेक्षणअनुसार पहाडी क्षेत्रमा अध्ययनरत बालबालिकामध्ये ४५ प्रतिशतभन्दा बढी एफएम-रेडियोको पहुँचमासमेत छैनन्। बाँकी ५५ प्रतिशत बालबालिकाका अभिभावकसँग एफएम सुन्न मिल्ने रेडियो-मोबाइल छन्।
‘रेडियोको पहुँच पनि नभएको क्षेत्रमा टेलिभिजन, कम्प्युटर र अनलाइनको पहुँच त हुने कुरै भएन,’ गाउँपालिकाको शिक्षा शाखाकी प्रमुख दुर्गादेवी खड्काले भनिन्, ‘वैकल्पिक शिक्षाको सम्भावना नभएपछि जोखिम मोलेरै भए पनि औपचारिक कक्षा नै सञ्चालन भइरहेको छ।’
विद्यार्थीमात्र नभएर विद्यालयसँग समेत वैकल्पिक कक्षा सञ्चालन गर्ने साधन छैनन्। इच्छाकामनाका अधिकांश पहाडी क्षेत्रमा विद्युत् पुगेको छैन। गाउँपालिकाको पहाडी क्षेत्रको केन्द्र मानिने हात्तीबाङस्थित राष्ट्रिय माविका प्रधानाध्यापक लोकबहादुर मगर विद्युत् पुगेका विद्यालयमा पनि कम्प्युटर, इन्टरनेटलगायत साधन नहुँदा वैकल्पिक कक्षा सञ्चालन गर्न नसकिएको बताउँछन्।