सुचना, समाचार र मनोरन्जन

जसका सिर्जनाले अरुण थापा चम्किए

सन्तोष बस्याल

पोखरा / 

‘आँखाको निद खोसिलाने
हृदयको तरंग छेडिजाने
तिमीलाई के सजाय दिउ
कि सँधैलाई बाँधी दिउ …. ’

स्वर्गीय अरुण थापाद्वारा स्वरबद्ध रहेको गीतका रचनाकार हुन् विक्रम गुरुङ । गुरुङकै रचनाले अरुण थापालाई स्थापित गायकको रुपमा परिचित बनायो भन्दा फरक नपर्ला । पेशाले अध्यापन क्षेत्रमा भएता पनि संगीत प्रतिको उनको मोह सानैदेखिको हो । नातिकाजी, बच्चुकैलाश र अमर गुरुङका सिर्जनालाई उनले खुब सुनेका छन् । उनीहरुका गीत सुन्दा आफ्ना सिर्जनाहरुलाई समेत रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी सँधै विक्रमलाई हुन्थ्यो । उपयुक्त समयको खोजीमा थिए उनी । भन्निछ नि संगीत संगत हो । राम्रो संगत मिलेको खण्डमा सफलता दैलोमा आउँछ । ठ्याक्कै विक्रमको जीवनमा समेत यस्तै भएको छ ।

अरुण थापा र विक्रम गुरुङको भेट

अरुण थापा र विक्रमको भेट पोखरामा भयो । अरुणका बुुबा गञ्जु थापा नेपाल बैंकको रिजनल म्यानेजर भएर पोखरा आएका थिए । अरुण पनि बुबासँगै पोखरा भित्रिए । उनीहरु महेन्द्रपुलमा बस्ने गर्थे । विक्रमका दाई पर्नेका साथी थिए अरुण । अरुणसँगको पहिलो भेट महेन्द्रपुलको कर्नरमा भएको अझै सम्झना छ बिक्रमलाई । त्यसक्रममा सामान्य चिनजान मात्र भयो । डाँफे कला मन्दिर पोखरेली संगीत इतिहासमा कोसेढुङ्गाा साबित भएको स्थान हो । कलाकारका लागि डाँफे कला मन्दिर एक उदाहरणीय ठाँउ थियो त्यतिबेला । डाँफे कला मन्दिरमा अरुणले गाउन शुरु गरेका रहेछन् । दोस्रो भेट उनीहरुको त्यहिँ नै भयो । किशोर कुमारका हिन्दी गीत र दीप श्रेष्ठका गीतहरु गाउन अरुणलाई असाध्यै मन पथ्र्यो । डाँफे कला मन्दिरले अरुणको प्रतिभालाई अझै निखारता मिल्दै गयो । विक्रम पनि अरुणका ठूला प्रशंसक बने । अरुणका गीतहरु सुन्न डाँफे कला मन्दिर नगएको त्यस्तो कुनै दिन नभएको तर्क प्रस्तुत गर्छन गुरुङ ।

अरुणसँग मित्रता बढ्दै गएपछि पोखरेली युवा सांस्कृतिक परिवारका कार्यक्रमहरुमा सहभागिता उनीहरुको हुन थाल्यो । पोखरेली युवा सांस्कृतिक परिवार पोखरामा रहेर विगत ४ दशक भन्दा बढी समय देखि क्रियाशिल छ । जसको स्थापना २०३४ सालमा भएको थियो । त्यसबेला सरुभक्त श्रेष्ठ र नवराज कार्कीको नाटक लेखेका थिए । जसका विषयमा विनोद गौचन, अरुण थापा, किरण थापा (अरुणको भाई), हरि खनाल लगायतसँग चर्चा हुने गथ्र्यो । सरोज गोपालका गीतसंगीतहरु चलेका थिए त्यतिबेला । पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना पश्चातको पहिलो कार्यक्रममा अरुणले विक्रमको रचना भएको गीत‘ कतै टाढा तिमीबाट पुगे भने…’ प्रस्तुत गरे । उक्त गीतलाई सबैले मन पराए । यो गीतले अरुण र विक्रमको सम्बन्धलाई अझै घनिष्ठता दियो ।

विक्रमलाई अरुणबाट सरप्राइज गिफ्ट

तत्कालिन समयमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगिताको आयोजना हरेक वर्ष गथ्र्यो । अहिले पनि नहुने होइन, हुन्छ । पोखरेली सांस्कृतिक परिवारको प्रतिनिधित्व गर्दै अरुण सहभागी बने । तर सफल हुन सकेनन् । त्यतिबेला रेडियो नेपालमा भ्वाइस टेष्ट समेत गर्नुपथ्र्यो । अरुण भ्वाइस टेष्टमा भने सफल भए ।

भ्वाइस टेष्ट पास भएपछि एउटा गीत रेकर्ड गर्न पाउने प्रचलन थियो । उनले आफुले पहिलो पटक सार्वजनिक कार्यक्रममा प्रस्तुत गरेको गीत‘कतै टाढा तिमीबाट…’ रेकर्ड गराए । जसको सुइँको समेत विक्रमले थाहा पाएका थिएनन् । आफ्नो सिर्जनाको गीत अरुण थापाको स्वरमा रेडियो नेपालका माध्यम बज्दा विक्रम हर्षित भए ।उक्त गीत विक्रमका लागि सरप्राइज गिफ्ट भयो ।

‘आँखाको निद खोसिलाने…’ गीतको रचना

‘आँखाको निद खोसीलाने…’ गीत विक्रमको रत्नचोक स्थित निवासमा बनेको थियो । त्यतिबेला विक्रमसँग गितार थिएन । तर उनलाई बजाउन असाध्यै मन पर्ने । उनका साथी अमृत गुरुङले विक्रमलाई गितार उपलब्ध गराए । प्रातकालिन समय थियो । विक्रमलाई ट्युनिङ आयो । त्यसपछि मात्र जन्मियो ‘ आँखाको निद खोसीलाने…’ । स्थायी र पहिलो अन्तरा त बिक्रमले बनाए । त्यसपछि अड्किए । गीतको ट्युनिङ नै अड्किएपछि अरुण थापाको रुममा विक्रम पुगे । अरुण त्यतिबेला गैह्रापाटन अहिलेको फिस्टेल हस्पिटल वरिपरि बस्थे । बाँकी गीतको अन्तरा अरुण र विक्रम मिलेर पूरा गरे ।

अरुण भलादमी स्वभावको व्यक्ति भएको विक्रम सम्झन्छन् । भन्छन्,‘ उ भलादमी थियो । उसमा झगडा गर्ने स्वभाव थिएन । नचाहिँदो शब्दहरु बोल्ने खालको मान्छे थिएन अरुण । गीतचाहिँ सधैं गाइरहनुपर्ने उसलाई । जतिबेला पनि गीत गाउने गथ्र्यो अरुण । साथीभाइसँग कतै घुम्न जाँदा पनि उसको गीतमै हामी भूल्ने गथ्र्यौ । अरुणलाई गितारको प्रफेक्ट ट्युन चाहिन्थ्यो । ट्युन नभएको गितारलाई अरुणले समय लगाएर भए पनि ट्युनिङमै ल्याउथ्यो । कुनै पनि बेला गाउन अरुण तयार हुन्थ्यो ।’

‘भुलुभुलु लाग्यो मलाई…’ गीतको रचना

‘भुलुभुलु लाग्यो मलाई…’ गीतको रचनाका विषयमा चर्चा गर्दा अन्नपूर्ण ब्याण्डलाई सम्झनै पर्ने हुन्छ । ब्याण्डको टोलीमा अम्बर गुरुङ (पोखरेली), मिन गुरुङ, विक्रम, अरुण थिए । उनीहरुले अन्नपूर्ण खेलकुद परिवार संस्था समेत स्थापना गरे । जसले फुटबल र भलिबलका प्रतियोगिताहरुको आयोजना गर्ने गथ्र्यो । सोहि कार्यक्रमलाई सफल पार्न आर्थिक समस्या पथ्र्यो । समस्या समाधानका लागि उनीहले अन्नपूर्ण ब्याण्डको स्थापना गरी च्यारिटी कार्यक्रम गर्ने सोच बनाए । । ब्याण्डले हरेक महिनामा एउटा सांगीतिक कार्यक्रम गरेर आर्थिक संकलन गरी टिमलाई सहयोग गर्न थाल्यो । त्यसै कार्यक्रमको दौडानमा जन्मेको गीत थियो ‘भुलुभुलु लाग्यो मलाई…’ ।

विक्रमले एक वर्ष पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराएका छन् । उनले शिक्षा विभागमा आबद्ध रहेर अध्यापन क्षेत्रमा समेत दखलता दिएका छन् । संगीत सँगै शिक्षण क्षेत्रमा समेत उनको लगाव प्रशंसा गर्ने लायक छ । त्यसपछि विक्रम स्वदेश छाडेर प्रदेश हाँकिए । हङकङको ब्रिटिश आर्मी बोर्डिङ स्कुलमा एक अङ्ग्रेजी विषयको शिक्षकको आवश्यक्ता परेको खबर उनको कानमा आयो । अलिअलि संगीत जानेको शिक्षकको खोजीमा समेत उनीहरु रहेछन् । विक्रमको जाने विचार थिएन तर साथीभाइको करकापले उनी हङकङ पुगे । फेरि गीतसंगीतमा लागेर मात्र जीविकोपार्जन गर्न त्यतिबेला गाह्रो थियो । अहिले केही सहज भएको छ ।

पहिले जस्तो गीतसंगीत सुन्न छाडेका छन् विक्रमले अहिले । पुराना गीतहरु भने अक्सर उनी सुनिरहन्छन् । यसो भनिरहँदा नयाँ गीतका विषयमा उनी अवगत नभएका होइनन् । अहिलेका गीतमा मौलिकता हराएको तर्क विक्रम गर्छन् । नेपाली गीतको कम्बिनेशनलाई बुझ्न बाँकी रहेको भनाई उनको छ ।

कमेन्ट्स
Loading...