सुचना, समाचार र मनोरन्जन

प्रदेशको नामाकरण र ६६ वटा कानून निर्माणलाई मेरो र पार्टीको सफलता बुझेको छु : थापा

कास्की :

पोखरामा विन्दुकुमार थापाले आफुलाई प्रदेशसभा सदस्य कास्की, क्षेत्र नम्बर २ ‘२’मा विजयी गराउने सबै मतदातालाई धन्यवाद दिएका छन्। शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै मतदाता तथा आफुलाई विजयी गराउन साथ दिनेलाई धन्यवाद दिएका हुन्।

पत्रकार सम्मेलनमा उनले भने,‘म यहाँहरुलाई साक्षी राख्दै, २०७९ सालको आम निर्वाचनमार्फत् कास्की क्षेत्र नम्बर २ ‘२’ बाट दोस्रो कार्यकालको लागि गण्डकी प्रदेशसभा सदस्यमा विजयी बनाउनुहुने आदरणीय मतदाताहरुप्रति हार्दिक कृतज्ञता जाहेर गर्दै मनैदेखि धन्यवाद व्यक्त गर्दछु । २÷२ कार्यकालसम्म यहाँहरुबाट प्राप्त माया र सद्भाव मेरो व्यक्तिगत तथा हाम्रो पार्टी नेपाली काँग्रेसको लागि यति महत्वपूर्ण छ कि, म यसलाई शब्दमा व्यक्त गर्न असमर्थ छु ।’

उनले अघिल्लो पटक सांसदका रुपमा केहि सिक्ने र कानून निर्माण गर्ने काम गरेको बताउँदै जनताको चाहाना अनुसारको विकासमा सहजीकरण गरेको बताए।

‘सांसदको रुपमा मेरो अघिल्लो कार्यकाल केही सिक्ने, कानून निर्माण गर्ने, थिति बसाल्ने र जनताका चाहना अनुसारका विकास निर्माणमा सहजीकरण गर्दैमा बित्यो,’उनले भने,‘प्रदेशको नामाकरणको लागि गठित समितिको संयोजकको जिम्मेवारी प्राप्त गर्दा होस् कि गण्डकी प्रदेश सरकारको कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीको रुपमा रहेर नीति निर्माण एवं कानून बनाउने जिम्मेवारीमा रहँदा नै किन नहोस्, मैले मेरो बलबुता र विवेकले भ्याएसम्म निष्ठापूर्वक आफ्नो जिम्मेवारी निभाएँ ।’

परदेशको नामाकरणका लागि आफुले ठुलो भुमिका खेलेको उल्लेख गर्दै यसलाई आफुले र पार्टीको सफलता मानेको जानकारी दिए।

‘प्रदेशको नामाकरण र ६६ वटा कानून निर्माणमा पाएको सफलतालाई मैले मेरो र हाम्रो पार्टीको सफलताको रुपमा बुझेको छु । बाँकी मूल्याङ्कन त यहाँहरुबाट हुने नै छ,’उनले अगाडि थपे।

उनी दोस्रो कार्यक्रममा एक वर्षको समय बितिसकेको र अहिले आफ्नै पार्टीको नेता सरकारमा रहेको उल्लेख गरेका छन्। उनले सोचे अनुसारको काम गर्न समेत स्वीकार गरेका छन्।

उनी भन्छन्,‘यहाँहरुकै माया र सद्भावका कारण गण्डकी प्रदेश सांसदको रुपमा मेरो दोस्रो कार्यकालको एक वर्ष व्यथित भएको छ । अहिले.गण्डकीमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय सुरेन्द्रराज पाण्डेज्यूकै नेतृत्वको सरकार रहेको छ । माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा हामी प्रदेशको समृद्धि यात्रामा निरन्तर अगाडि बढीरहेका छौँ । तर, दुःखका साथ भन्नुपर्छ–सिंहदबारको सुस्त गतिका कारण हामीले जनअपेक्षा अनुसार सोचेजस्तो काम गर्न सकेका छैनौं ।’

उनले जग्गा कारोबारीका बारेमा समेत आफुना भनाई राखेका छन्।

‘हामीले आफूलाई चाहिने कानून बनाउँछौं भन्दा पनि गाँठो नफुकाइदिने, जग्गा प्राप्तिलगायतका विषयहरुमा छिटो निर्णय नहुने रोगको निदान हुन सकेको छैन,’उनले भने,‘जबसम्म प्रदेशलाई आवश्यक पर्ने कानूनहरु निर्माणको सँघले गाँठो फुकाउदैन तबसम्म यो समस्या कायमै रहन्छ भन्ने हाम्रो बुझाइ छ । माननीय मुख्यमन्त्रीज्यूले यो विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ र संघीय सरकारमाथि दबाब सिर्जना गरिरहनुभएको छ ।’
उनले ढिलो चाँडो आउदा दिनहरुमा जनताले गरेका आशाहरु सुखद हुने दावी गरेका छन्।

उनी भन्छन्‘आशा गरौं, आउँदा दिनहरु सुखद हुनेछन् । जनचाहना अनुसारका कार्यसम्पादनमा ढिलो गर्ने छुट छैन भन्नेमा हामी स्पष्ट छौँ । तर, प्रदेश सरकारको सामथ्र्य नबढ्दा र राजश्वका थप स्रोतहरुको जोहो नहुँदाका दुखेसाहरुबाट मुक्ति खोज्न हामीले हरसम्भव प्रयास गरिरहेको व्यहोरा पनि म यहाँहरुसमक्ष जानकारी गराउन चाहन्छु । आज जनताहरुले चाहेको सुशासन, समृद्धि, सर्भिस डेलिभरी र रोजगारी नै हो । त्यस तर्फ प्रदेश सरकार लक्षित हुनैपर्दछ ।’

पछिल्लो समय संघीयताको र परदेश खारेजीको माग भइरहेको अवस्थामा आफुहरु जानकार रहेको बताउँदै उनले त्यो आलोचना लोकतन्त्रमा सहनुपर्ने बताए। उनले ठुलो बलदानीबाट प्राप्त समावेशीता सहितको संघीय संरचनालाई असफल बनाउनेहरुको सपना पुरा नहुने दावी गरे।

उनले थपे,‘अहिले देशमा संघीयता र प्रादेशिक संरचनाबारे अनर्गल प्रचारबाजी भइरहेको विषयप्रति हामी जानकार नै छौं । लोकतन्त्रमा आलोचना स्विकार हुन्छ तर ठूलो बलीदानीबाट प्राप्त समावेशीतासहितको संघीय संरचनालाई नै असफल बनाउने, असन्तुष्टिलाई उराल्ने र त्यसलाई नै भँजाएर राजनीतिक यात्रा तयको सपना देख्ने प्रवृत्तिलाई किमार्थ पनि राम्रो मान्न सकिँदैन । नेपाली काँग्रेस लोकरिझ्याइँको राजनीति गर्दैन, देशको आवश्यकता र यथार्थमा टेकेर पारदर्शी तवरले जनपक्षीय कामको लागि निरन्तर खटिइरहन्छ ।’

उनले आफ्नो कार्यकालमा राज्यबाट पाएको सुविधा जनसेवामा नै खचिएको र कानुनमन्त्री हुँदाको सरकारी आवास समेत प्रयोग नगरको बताए।

पत्रकार सम्मेलनमार्फत आफ्ना भनाई राख्दै उनले भने,‘अफवाहलाई व्यवहारले नै जवाफ दिने हाम्रो प्रयत्न रहन्छ । र, मैले अघिल्लो कार्यकालको लागि उम्मेदवारी दिनुअगावै राज्यबाट प्राप्त सेवा–सुविधा जनसेवामै खर्चने घोषणा गर्नुमा पनि त्यही पुनित भावना रहेको थियो । जुन घोषणालाई मैले अघिल्लो र यो कार्यकालमा पनि अक्षरशः पालना गरेको छु । सेवा सुविधाको अलावा कानूनमन्त्रीको जिम्मेवारीमा रहँदा सरकारी आवास प्रयोग नगर्ने र त्यसबापत् थप सुविधा नलिने निर्णय लहडको उपज थिएन, मनदेखि नै गरिएको प्रण थियो ।’

उनले निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुल ध्येय हुनुपर्छ र राज्यकोषको दोहन वा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ भन्ने अठोटका साथ सुरु भएको मेरो गण्डकी प्रदेशसभा यात्राको दोस्रो इनिङ्स सुरु भएको बताए। उनले आफ्नो कहाँबाट कति खर्च आयो र गयो भन्ने बारेमा समेत जानकारी दिएका छन्।

‘प्रदेशसभा सचिवालयबाट २०७९ साल पौष २५ गतेदेखि हालसम्म प्रदेशसभाका विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधासमेत गरी मेरो बैंक खातामा ८ लाख ९६ हजार १ सय ६० रुपैयाँ जम्मा हुन आएको छ,’उनले भने,‘मेरो खातामा प्राप्त रकममा थप गरि व्यक्तिगत तवरले ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरि यो कार्यकालमा पनि निरन्तरता दिएको व्यहोरा यहाँहरु समक्ष राख्न चाहन्छु ।’

Leave A Reply

Your email address will not be published.