काठमाडौं । साहित्यकार डा. बालाकृष्ण अधिकारीको‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ पुस्तक सार्वजनिक भएको छ। नेपाली साहित्यमा मार्क्सवादको प्रयोगलाई उतारिएको पुस्तकमा नेपाली ज्ञान संकथनको विमर्श गरिएको अधिकारीले बताए ।
उनले आफ्नो पुस्तकमा पाँच वटा परिच्छेदमा राखको जानकारी दिए । पुस्तकको पहिलो परिच्छेदमा इतिहासको अवधारणा, इतिहास र साहित्य र इतिहासबीचको सम्बन्ध, साहित्य इतिहासको अर्थ, परिभाषा र साहित्य इतिहासको स्वरूप प्रस्तुत गरिएको छ भने दोस्रो परिच्छेदमा साहित्य इतिहासका मार्क्सवादी आयामहरूमा अधिरचनाका रूपमा साहित्य इतिहास, साहित्य इतिहासमा परम्परा र नवीनताका बिचको द्वन्द्व, अतीत र वर्तमानको सम्बन्ध तथा अन्तर्वस्तु र रूपको सम्बन्धका बारेमा विमर्श गरिएको जानकारी दिए ।
यस्तै, पुस्तकको तेस्रो परिच्छेदमा साहित्य इतिहासको अन्तर्वस्तु निर्माणका घटनावृत्त, विचारधारा र भावधारा, कालविभाजन, जीवनी, कार्यकारण सम्बन्ध, प्रकल्पना, इतिहासचेतना र मूल्यनिर्णय गरी आठ ओटा तत्वको मार्क्सवादी कोणबाट व्याख्या–विश्लेषण गरिएको डा. अधिकारीले बताए । यस्तै, चौथो परिच्छेदमा क्रमश : साहित्य इतिहासमा रूपयोजनाको महत्व स्थापित गर्दै योजना, विधि र प्रस्तुतीकरणका बारेमा सैद्धान्तिक विमर्श र पाँचौमा साहित्य इतिहास अध्ययन–विश्लेषणको पद्धतिका बारेमा चर्चा गरिएको बताए ।

शिखा बुक्सबाट प्रकाशित यस पुस्तकले नेपाली साहित्यमा नयाँ बहसको आरम्भ गर्ने बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए। पुस्तक नवीन ज्ञानसंकथन भएकाले पाठकका लागि पठनीय, संग्रहणीय र मन्थनयोग्य पौडेलको दाबी छ ।