काठमाडौँ :
मंगलबार चलचित्र विकास बोर्डले आफ्नै हलमा साइबर सेक्यरिटी डेक्सबारे छलफल राखेको थियो। छलफलमा फिल्मका पाइरेसी र यसबाट निर्माण टिमलाई पर्ने असरका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । तर, जसका लागि कार्यक्रमको उदेश्य राखिएको थियो तिनै कलाकार,निर्माता तथा निर्देशक नै कार्यक्रममा उपस्थिति नभएको बोर्ड अध्यक्ष भुवन केसीले मन अमिलो पारे।
उनले भने,‘कार्यक्रमका लागि सबै कलाकार तथा फिल्मका निर्माण टिमलाई खबर गरेका थिर्यौ,तर, उहाँहरुलाई जानकार भएन कि या खबर पुगेन। उहाँहरु नै आउनु भएन। यसका लागि क्षमा प्रार्थी छु।’
पछिल्लो समय बोर्डका अध्यक्ष समेत रहेका केसीको कार्यक्रममा कलाकारहरुको कमै मात्रामा उपस्थिति जनाउने गरेका छन् । सोही अनुरुप कार्यक्रमका बारेमा जानकारी नभई निर्माता,कलाकारका साथै निर्देशकहरुले थाहा नपाएर उपस्थिति नभएको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए । उनले भने,‘बेलुका फोन आयो बोर्डमा छलफल छ भनियो । के बारेमा हो भनेर सोध्दा सामान्य हो भनियो । तर, अहिले यहाँ आउँदा राम्रै कार्यक्रमको थालनी गरिएको रहेछ। आइन्दा कार्यक्रम गर्दा स्पष्ट रुपमा भन्ने गरियोस् ता कि हामी पनि बोल्न तयारी अवस्थामा आउन सकियोस् ।
कार्यक्रममा बोर्डका अध्यक्ष केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका थिए । यसको प्रतिबाद गर्दै निर्माता संघका अध्यक्ष खड्काले गर्दैछौ,हुँदैछौ,प्रोसेसमा छ भन्ने तर्फ नलागेर जे गर्न सकिन्छ मिनेटमै गर्नु पर्ने सुझाव दिए । ‘गर्दै छौ, हुदैछ,प्रोसेसमा छ भन्न थालियो भने हलमा चलेको फिल्म एकै दिनमा विश्वभर फैलिसक्छ। यस्तो अवस्थमा फिल्मका पाइरेसी रोक्नका लागि साइबर ब्युरो र बोर्डले सामाजिक सञ्जालमा अपलोड हुनै नदिने प्रावधान अपनाउनुपर्छ,’उनले भने,‘नत्र बकम्पुसे कुरा नगरौँ।’
कार्यक्रममा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक,टिकटक र युटुब जस्ता प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बारेमा छलफल भएको थियो । छलफलमा केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको र साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको समेत जानकारी दिए ।
बोर्ड अध्यक्ष केसीले,‘प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरू अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ ।,’
उनले विभिन्न चुनौतीहरूलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको बताए ।
कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन फिल्मकर्मीलाई आग्रह गरे। उजुरी आएपछिको काम प्रहरीको भएको उनको भनाई थियो।
