सन्तोष बस्याल
पोखरा /
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय व्यस्त कलाकारको रुपमा बुद्धी तामाङलाई पनि लिन सकिन्छ । अक्सर नेपालका राम्रा र व्यावसायिक रुपमा सफल भएका चलचित्रमा उनको अनुहार देख्न पाइन्छ । अलि फरक प्रस्तुतिकरण दिन सक्ने क्षमता भएका बुद्धीलाई टिपिकल क्यारेक्टरमा सुहाउँछ । नाटकबाट करिअर शुरु गरेका बुद्धीलाई अहिले चलचित्रमा पनि भ्याइनभ्याई छ । निर्देशन निर्माताको नजरमा उनि परिरहेकै छन् । ठट्टा गर्न सिपालु बुद्धी मिलनसार पनि भएकाले हुन सक्छ सबैको आँखा उनमा पर्न गएको ।
बुद्धीसँग भएको भलाकोसारीलाई यसरी प्रस्तुत गरेका छौं :
बाल्यकाल :
मेरो बाल्यकाल चकचके पनमै बित्यो । विशेषगरी पुल्पुलिएरै बढी बित्यो । परिवारमा चार दिदिबहिनी र म एक्लो भएकाले पनि होला त्यति दुख मैले भोग्नु परेन । बाल्यकालमा जुन चिज नगरे पनि हुने थियो त्यस्तो चिज पनि गर्थे । नबोले पनि हुने चिज बोल्ने स्वभावको म थिए । चकचके भन्ने बित्तिकै एकदम बदमास भने म थिइन । कसैलाई असर पर्ने काम मैले गरिन् । दुई दिदी र दुई बहिनीको बिचको परिवारमा एक्लो छोरो भएकाले पनि सानैमा सबैको असाध्यै माया पाए । जस्ले माया बढी पाउँछ उ उसैपनि पुल्पुलिएकै हुन्छ, कि कसो हौं । म अहिले पनि सम्झन्छु धनलाल दाई (मेरो आफ्नै ठूलोबुबाको छोरा ) लाई । उहाँले रामायण सुनाउनुहुन्थ्यो । रामायण सुनाए बापत उहाँको गाईगोरुहरु जम्मा पारीदिनुपथ्र्यो । एकदिन यस्तो पनि भएको छ कि मैले गाइगोरु हेर्न भूलेर अर्काको धानबाली माडीदिएको । त्यतिबेला दाईको गाली पनि खानुपर्यो ।
स्कुल लाईफ :
काभ्रेपलानचोक तिमालमा मेरो जन्म भएको हो । मैले प्राथामिक तहको अध्ययन पनि त्यही नै गरे । गाउँमै श्री काली प्राथामिक विद्यालय थियो । कक्षा ५ सम्मको अध्ययन मेरो त्यहीनै भयो । ६ वर्षको उमेरमा मैले स्कुल जोइन गरे । गाउँमा स्कुल थियो । त्यतिबेला स्कुलको त्यति धेरै राम्रो व्यवस्था त थिएन । अभावमै बस्नु पथ्र्यो । चकटी बोकेर स्कुल पढन जानु पथ्र्यो । प्रावीको बेलाको स्कुल लाईफ सम्झिदा ३ जना साथीहरु सँगै भइन्थ्यो । साथीहरु प्राय म सँगै हुन्थे । हामी ३ जना अलि पुड्केपुड्के होंचोहोंचो जुध्न नसक्ने खालको टाइपको थियौं । स्कुलको एउटा झ्यालमा बस्थ्यौं । कक्षा १ देखि ५ सम्मनै हामी तिनै जना भित्ताको झ्यालमै बस्यौं ।
पढाई पनि मेरो त्यति नराम्रो होइन, राम्रो थियो । सेकेण्ड थर्ड भईनैरहन्थे । कक्षा ५ को पढाई पुरा गरेपश्चात ६ देखि भने बेसीमा श्री भूमि मावीमा पढे । त्यहाँ हामीले धेरै स्कुलहरु सँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । त्यहाँ पनि स्कुलको राम्रो व्यवस्था त थिएन । एक कोठाबाट अर्को कोठामा छिर्नको लागी भ्वाङ्ग थियो । अहिले त्यही स्कुल अत्यन्त राम्रो भएको रहेछ । केहीसमय अघि गाँउ जाँदा मैले आफै पढेको स्कुल पनि चिन्न सकिन । त्यति फेरिएको रहेछ । हामीले पढ्ने समयमा त्यहाँ पनि चकटीनै लिएर जानुपथ्र्यो । अहिले धेरै विकसित भइसकेको रहेछ ।
६ कक्षा पढ्दानै मैले नाटकमा अभिनय गरेको थिए । गाउँको स्कुलमा बेन्चहरु जम्मा पारेर त्यहाँमाथी सुक्लो ओछाएर, तन्नाहरुको पर्दा बनाएर, मोइन्टल बालेर, मोइन्टलको साइडसाइडमा फिल्टर पेपर रातो, निलो, हरियो राखेर नाटक गरेको सम्झना आज पनि स्मरण छ । त्यसपछि पढाईमा असर हुँदै गयो । मेरो अलिकति पुल्पुलाई अझ बढ्दैबढ्दै गयो । त्यतिबेला गरेको नाटकबाट पपुलर त भए । तर पपुलर भनेको के हो थाहा थिएन । नाटकमा च्यान्टेको भुमिकामा देखिएको थियो । नाटक पश्चात पनि अरुले च्यान्टे भनेर भनिरहँदा जिस्काएको होकी जस्तो लागेर झनक्क रिस भने उठ्थ्यो । पढाई त्यति राम्रो पनि भएन नराम्रो पनि भएन । अलि बढि चकचके भने थिए म ।
कलेज लाईफः
कलेजमा जोइन त भए तर त्यसलाई कन्टिन्यु गर्न पाईन । श्री भुमि मावीबाट मैले एसएलसी पास गरिसकेपछि काठमाडौं आए त्यसपछि एक हिसाबको आफ्नो सोचमा बग्न थाले म । त्यतिबेला मलाई पैसाको आवश्यकत्ता थियो । पैसा कमाउछु, त्यसपछि पढ्ने कुरा त म पढिहाल्छु नि भन्ने थियो । पैसाको पछि लाग्दा यता पढाईमा असर भने पर्यो मेरो । खासमा एसएलसीमा मैले आफुलाई अब्बल ठानेको विषयमानै फेल भएपश्चात पढाइप्रति पनि वितृष्णा जस्तो भयो । २०५६ साल तिरको कुरा हो यो । त्यसपछि कलेजको पढाई भन्दा पनि पर्सनल विषयलाई पढछु लागेर नाटक पढ्न तर्फ म लागे ।
संघर्षको सुरुवाती चरण :
संघर्षको सुरुवाती चरण अलिक घनिभूतनै रहयो । भिडन्त गरिरहनु पर्ने । २०५६ सालमा एसएलसी दिनेबित्तिकै म काठमाडौं आए । काठमाडौं मेरा लागी नयाँ ठाउँ थियो । बिचमा कतै हराउने होकी भन्ने डर पनि नलागेको होइन । काठमाडौं आउनु मेरो एउटै लक्ष्य थियो । नाटक पढ्ने र गर्ने । सामान्यस्तरको परिवारको मान्छे काठमाडौं बस्न पनि धौधौ हुनेनै भयो । फेरि म आफ्नो लक्ष्य बोकेर पनि आएको थिए । सानोतिनो काम गरेर जिविकोपार्जन गर्दै नाटक पनि पढ्न थाले । त्यसपछि बिस्तारै नाटकबाटै काम अघि बढ्न थाल्यो । मलाई सहज पनि भयो काठमाडौ बस्न ।
कलाकारितामै लाग्नुको कारण:
यही कारणले म यो पेशामा लागे भन्ने छैन । बच्चै देखि नाटकमा अभिनय गरेको र कलाकारिता सँगै नजिक भएकाले यो पेशामा आबद्द हुने इच्छा जाग्यो । जीवनमा काम गर्दै जाँदा खेरी नाटक सँग ठोकिन पुगे । यो बिचमा धेरै ठाउँमा नभौतारिएको पनि होइन । नाटकमा अभिनय गर्दागर्दै लामो समय भइसकेछ ।
लाईफको टर्निङपोइन्ट :
मेरो लाईफको टर्निङपोइन्ट त्यस्तो ह्वात्तै मोडिएको अनुभुत मलाई भएन । सबै विस्तारै हुँदै गए । सुरुमा नाटक सिके । नाटक सिक्दैगएपछि चलचित्रमा काम गरे । केही चलचित्रमा काम गरेपश्चात सिरियलमा पनि काम गरे । सिरियलबाट अलिकति अझ आफ्नो परिचय बटुले । त्यसपछि चलचित्रमा पत्र्याराख्नुभएको छ निर्देशक निर्माताहरुले, त्यत्ति हो ।
विदेश पलायन हुने सोच :
पहिला पहिला सदाबार आउँथ्यो मनमा विदेश जाने कुरा । पछि अलिअलि सबैले चिन्न थालेपछि पनि फरष्टेशन नभएको होइन । मैले चाहेको के हो भन्ने कुराको निर्धारण नहुँदा यस्तो सोच आएको थियो । जतिबेला काम गर्दै गर्दा पनि अभाव भइनैरहन्छ, त्यतिबेला आउदोरहेछ यस्तो सोच । परिवारबाट पनि राम्रै सर्पोट पाएको थिए । विदेश जानुपर्ने फोर्स थिएन । त्यही पनि म आफै काम गरेर आफ्नै खुट्टामा उभिन चाहान्थे । यसको मतलब मैले परिवारबाट साथ नपाएको होइन । परिवारको साथ नभएको भए म आज यहाँ यसरी हुन्नथे होला ।
“हैट” शब्द :
मेरा लागी यो शब्द लक्की छ । कब्बडी चलचित्रका लागी रामबहादुर गुरुङ दाईले लेख्नुभएको यो शब्दनै पछिल्लो समय मेरो परिचय बनेको छ । मलाई बुद्धी तामाङ भनेर चिन्ने २५ प्रतिशत हुनुहोला । ७५ प्रतिशतले “हैट” नै भनेर चिन्नुहुन्छ । अहिले पनि कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुँदा यो क्यारेक्टरबाटनै मलाई पुकार्नुहुन्छ । हैटले मलाई व्यस्त पनि बनाएको छ । कब्बडी पश्चात सिरियल सहित चलचित्र छक्का पञ्जा सम्म आउँदा यो क्यारेक्टरले मलाई छोडेको थिएन, र अहिले पनि छैन । लाईफको टर्निङपोइन्ट यसैलाईनै त म मान्दिन तर मेरो अर्को परिचय भने हो ।
अहिलेको अवस्था :
अहिले नर्मलनै छ । नाटक, चलचित्र यही क्षेत्रमा लागेको छु भन्ने निश्चितनै भइसक्यो । अलिअलि व्यस्त पनि छु । जिविकोपार्जन गर्ने आम्दानी पनि भईरहेको छ । मान्छेको जीवनमा पैसाको आवश्यकत्ता त छ तर चाहाना अधिक के मा छ त्यसमा पनि भर पर्छ । चलचित्र क्षेत्रमा पैसा नभएको भने होइन । पछिल्लो समय सुधार हुँदै गएको छ । कलाकारले पाउने पारिश्रमिकमा पनि बुद्धी भएको छ । राम्रा कलाकारहरुले राम्रै दाम पाइरहेका छन् । मेरो पनि ठिकठिकै छ ।