सुचना, समाचार र मनोरन्जन

मर्मत भएन चावहिलको सडक, धुवाँधुलोको मारमा सर्वसाधारण

  •  
  •  
  •  
  •  

काठमाडौं ।

सरोकारवाला निकायबीच आपसी समन्वय नहुँदा चावहिलको सडकको दुर्दशामा सुधार आएको छैन ।

सडक विभाग, बाग्मती प्रदेशको भौतिक मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच तादम्य नमिल्दा सडकका खाल्डा पुरिन सकेका छैनन् ।

चाबहिल–मित्रपार्क मित्रपार्क-गौशाला खण्डमा आवतजावत गर्न सर्वसाधारणलाई निक्कै सकस परेको छ ।

चक्रपथको केही स्थान फराकिलो पारिए पनि यो क्षेत्रको सडकको काम हुन सकेको छैन । बल्लतल्ल रुख कटान गरेर काम अगाडि बढे पनि धिमा हुँदा यात्रुदेखि बटुवाले धुलो खानु परेको छ।

काठमाडौं उपत्यकामा प्रदुषणको मुख्य स्रोतका रूपमा सवारीसाधन र इँटाभट्टालाई लिइन्छ। तर, चाबहिलमा सडक विस्तार क्रममा सावधानी नअपनाउँदा धुलाम्य छ। तपाईं यही सडक हिँड्नुभो भने एकैछिनमा धुलाम्य भइन्छ। धन्य, कोरोना महामारीमा मास्क अनिवार्य बनिदिएको छ।

चिकित्सकहरूका अनुसार वायु प्रदूषणको सिकार बालबालिका, रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका युवा र रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आइसकेका वृद्धवृद्धा हुने गर्छन्।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका सहप्राध्यापक, छाती रोग विशेषज्ञ डा नीरज बमले धुलोको करणमा रसायनसमेत मिसिएको हुनसक्ने र ती कण श्वासप्रश्वास नलीको भित्तामा जम्मा हुने गरेको बतँए। ‘यसले दीर्घकालीन दम, ब्रोङ्कियल आज्मा, ब्रोङकाइटिस्टजस्ता रोग लाग्नुका साथै मुटु रोग बढ्ने, क्यान्सरको खतरासमेत रहन्छ,’ उनले भने।

स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्ययनअनुसार धुलोधुवाँले मुटुको समस्या, खोकी, रुघा तथा घाँटीको खसखस, दमजस्ता समस्या बढी गराउँछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वायु गुणस्तर मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पीएम -२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन।

तर यो मापदण्ड मुलुकहरूले आ-आफ्नै ढंगले कायम गरेका छन्। नेपालले यो सूचकांकलाई ४० माइक्रोग्राम तय गरेको छ। यी कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छन्।

काठमाडौं प्रदूषित सहरमा गनिन्छ। यहाँको हावा हिउँदमा अझ विषाक्त हुन्छ।

कमेन्ट्स
Loading...