सुचना, समाचार र मनोरन्जन

चिन्तामणिको व्यवसायिक प्रगति : तीन सयमा शुरूआत, अहिले करोडौंको मालिक 

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

पोखरा महानगर–२२ पुम्दिभुम्दिमा जन्मेका चिन्तामणि बास्तोलाको बाल्यकाल नेपालगञ्जमा बित्यो । एसएलसीसम्मको अध्ययन तनहुँको जामुने भन्ने ठाउँमा गरेका बास्तोला बाल्यकालमा सामान्य स्वभावका थिए ।

पढ्दै गर्दा उनी उत्कृष्ट विद्यार्थीको रूपमा समाजमा परिचित थिए । उनीबाट समाजले आशा गरेको थियो । सामाजिक प्रतिष्ठामा फलानो जस्तो हुनुपर्छ भन्ने उदाहरणको रूपमा बास्तोलालाई लिइन्थ्यो ।
प्राथामिक तहसम्मको अध्ययन नेपालगञ्जमा गरिसकेपछि बास्तोलाको माविसम्मको अध्ययन तनहुँमा भयो । पढाईमा अब्बल थिए उनी । सँधैं होलफस्ट हुन्थे । गाउँको शैक्षिक वातावरण नै राम्रो भएकाले पढाईमा बास्तोलालाई निकै रूची थियो ।

त्यसपछि उच्च शिक्षा अध्ययनका लागि उनी पृथ्वीनारायण क्याम्पस भर्ना भए । पीएन क्याम्पसमा पढ्दापढ्दै आईएसी गर्न बास्तोला काठमाडौं लागे । सोचेजस्तो सफलता पढाईमा त्यतिबेला मिल्न सकेन । अनि पुनः पोखरा फर्किए र बीएमा अध्ययन गर्न थाले ।

सामान्य परिवारमा हुर्केका बास्तोलालाई जीवन धान्ने बाटोको आवश्यकता प¥यो । फलस्वरूप क्याम्पस अध्ययन गर्दै जागिरमा लागे । जागिरका लागि उनले रोजेको क्षेत्र थियो एकेडेमी । जसोतसो जीवन सरल चलेकै थियो । त्यही दौडानमा उनको विवाह भयो । विवाह भएपछि बास्तोलामा आफूसँगै श्रीमतीको पनि जिम्मेवारी थपियो ।

व्यवसायिक सोच

पढ्दै जागिर गरिरहेका बास्तोलालाई डिग्री गर्ने ठूलो चाहना थियो । त्यसका लागि उनी काठमाडौं पनि नपुगेका होइनन् । विषयमा समस्याका कारण बास्तोलाको ट्रान्सकिप्ट रोकियो । अनि उनमा व्यवसाय गर्ने सोच पलायो ।

विसं २०५५ सालको कुरा हो । त्यतिबेला महेन्द्रपुलमा अहिले रहेको माडवाडी भोजनालयको ठ्याक्कै पारी पट्टी गण्डकी प्रेस थियो । जसलाई प्राध्यापक डा. कुशुमाकर न्यौपानेले सञ्चालन गर्दै आएका थिए । कारणबस न्यौपानेले उक्त प्रेस बेच्न खोजेको बास्तोलाको कानमा प¥यो । श्रीमतीलाई सो सम्बन्धी केही जानकारी थियो । सल्लाह गरी बास्तोलाले न्यौपानेको प्रेस खरीद गर्ने सोच बनाए र व्यवसायमा हात हाले ।

गण्डकी प्रेसमा खासै धेरै सामान थिएन । न्यौपानेसँग करीब ८० हजारको उधारो लागतमा उनले कम्युटर, यूपीएस र एउटा टेबलसहितको सानो कोठा लिएका थिए । तत्कालीन समयमा बास्तोलासँग कागज गर्न तीन सय रुपैयाँको समेत अभाव थियो । उनले आफ्नी सानीआमासँग सापट मागेर न्यौपानेसँग कागज गरेका थिए । तर अहिले सोही व्यवसाय करोडौंको मूल्यमा पुगेको छ ।

बास्तोला अनुभव सुनाउँदै भन्छन्, ‘मैले व्यवसाय सुर्वण बेलामा शुरू गरेको बुझ्नुपर्छ । त्यो बेलामा कम्युटरमा टाइपिङ गर्ने व्यक्ति औंलामा गन्ने हुन्थे । त्यतिबेला टाइपिङनै डिजाइन थियो । अहिलेको जस्तो डिजाइन त धेरै पछाडि आएको हो । टाइपराइटर भन्दा केही माथिल्लो भएपछि पुग्थ्यो । अहिले जस्तो फोटोकपीको त्यतिबेला विकास भइसकेको थिएन ।’

कन्चन कम्युटरको कार्यालय

कन्चन कम्युटरको प्रगति

हिजो कास्की जिल्लामा मात्रै सेवा दिने कन्चनको क्षेत्र फराकिलो भएको छ । नेपालदेखि बाहिर विदेशमा समेत सेवा प्रवाह गरिरहेको छ कन्चनले । नयाँनयाँ प्रविधि भित्र्याई ग्राहकको इच्छाबमोजिमको सेवामा तल्लीन छ कन्चन ।

यो घडिसम्म आउँदा कन्चनले चुनौती नै भोगेको छैन भन्ने होइन । हरेक समस्यालाई छिचोल्दै गण्डकी प्रेसबाट कन्चन प्रिन्टर्स बनेको हो । बास्तोला भन्छन्, ‘अहिले सम्मको यात्रामा आर्थिक समस्या त कति प¥यो प¥यो । पैसा भएर मात्र हामीले कुनै दिन पनि काम गरेनौं । मलाई आँट गरे सफलता अवश्य मिल्ने थाहा थियो । त्यसैले आँट गरेको हुँ । आखिर गरे नै सबै कुरा सम्भव छ, नगरे केही छैन ।’

सामाजिक प्रतिस्पर्धादेखि प्रशासनिक समस्या झेल्दै आएको कन्चनलाई अरूभन्दा फरक हुनुपर्ने थियो । त्यसैले त माओवादी द्वन्दकालमा समेत कन्चन बन्द भएन । बास्तोलाले भने, ‘आमा बितेर दाहसंस्कार गर्दाको बाहेक हामीले कन्चन कहिलै बन्द गरेनौं । कन्चन आफ्नो मात्रै नभई समग्र पोखरेलीको हो भन्ने मैले बुझेको थिएँ । सानोभन्दा सानो कामलाई पनि हामीले कहिल्यै नाईँ भनेर ग्राहक फर्काउने काम गरेनौं ।’

आजसम्म कन्चन बन्द भयो भनेर जनमानसमा पर्न दिइएको छैन । यो कन्चनको अर्को विशेषता हो । संस्था चलाउने भनेको म्यानपावरले हो । कर्मचारी राम्रो भए भने मात्र संस्थाको प्रगति हुन्छ । अन्यथा संस्था पछाडि धकेलिनु स्वभाविक हो । कन्चनमा दुई जना कर्मचारी आवश्यक प¥यो भने एक जना थप गरी तीन जना राख्ने गरिन्छ । कारण भोलि कसैलाई दुःखबिमार भयो भने पनि काममा बाधा नहोस् ।

कन्चनबाट ६० जनाको परिवार आश्रित

हिजो दुई जनाबाट शुरू भएको ‍कन्चन पिन्टर्सबाट हाल ५० देखि ६० जनाको परिवार आश्रित छन् । लगानीको हिसाबमा व्यवसायमा सबैभन्दा सजिलो व्यवसाय यही भएको बास्तोलाको अनुभवले भन्छ । उनी भन्छन्, ‘अहिलेको समयमा पनि सामान्य तरिकाले व्यवसाय गर्छु भन्ने हो भने एक लाखको लगानीमै शुरू गर्न सकिन्छ । यति हो व्यवसाय कुन स्तर र कुन गुणस्तरीयताको गर्ने भन्ने हो । सामान्य दुईदेखि चार जनाको परिवार पाल्नलाई त्यति लगानीले उक्त व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

नयाँ व्यवसाय गर्नेहरूका लागि हाल कन्चन सिक्ने थलो बनेको छ । कन्चनमै आबद्ध रहेका कति कर्मचारीले पोखरामै सो व्यवसाय गर्न थालेका छन् र उनीहरू सफल समेत भएका छन् ।

सिक्नेहरूका लागि कन्चन प्रिन्टर्सले विभिन्न उद्योग वाणिज्य संघ, क्यानका मेलाहरूमा समेत स्टल राख्ने गरेको छ ।

बास्तोला भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धाले व्यवसायमा समस्या बनाइरहेको अवस्था छ । अहिले अनलाइनबाट पनि सेवा दिन लागेका छौं । हामीले प्रतिस्पर्धा सोझै रूपमा काठमाडौंसँग गर्नुपर्ने स्थिति छ । व्यवसायको नम्स नबुझिकन व्यवसाय गर्दा कतिपय व्यवसायीहरू मारमा परेका छन् । अरूभन्दा सस्तो गर्छु भनेर लाग्दा आफैं डुबिने खत्रा बढ्छ । व्यवसाय गर्दा उत्पादन लागत कति लाग्छ त्यसको सुक्ष्म अध्ययन गरिनुपर्छ । कर्म गर्न जानिएन भने व्यवसायले हामीलाई ठग्छ ।’

आफूले गर्न लागेको व्यवसायको इतिहास बुझेर लगानी गरियो भने सुरक्षित भइने बास्तोला बताउँछन् । कन्चन प्रिन्टर्सले गुणस्तरमा रहेर काम गरिरहेको छ । कोही पनि ग्राहकलाई काठमाडौं जाने बाध्य नपार्ने गरी काम गरिरहेका बास्तोलाको भनाइ छ । विदेश जाने युवालाई सीप सिकाई नेपालमै केही गर्ने वातावरणको सिर्जना समेत कन्चनले गरिरहेको उनले बताए ।

उनका अनुसार हामी व्यवसाय समूहमा गरिनुपर्छ । व्यवसायलाई चाहिने वस्तुहरूको उत्पादन समेत आफैंले गरियो भने दिगो भइने बास्तोला बताउँछन् ।

कोरोनाकालिन समयमा पनि बन्द भएन कन्चन

कोरोना महामारीका कारण बजार ठप्प हुँदा कन्चनलाई पनि समस्या नभएको होइन । कन्चनमा आबद्ध कर्मचारीलाई घरघरमै कम्युटरको व्यवस्थापन गरेर लकडाउनका समयमा पनि व्यस्त रह्यो कन्चन । बास्तोला भन्छन्, ‘कन्चन सम्पूर्ण पोखरेलीको हो । त्यसैले हामीले महामारीमा कमाईको दृष्टिकोण भन्दा पनि राज्यलाई सहयोग गर्ने हेतुले काम ग¥यौं । कर्मचारी कटौती नगरी समय घटाएर पालैपालो काम गर्ने व्यवस्थापन गर्दै कन्चनले सेवा दिएको हो ।’

कोरोना महामारीले आफूलाई पाठ सिकाएको बास्तोला बताउँछन् । भन्छन्, ‘कोरोना महामारीले ठूलो पाठ सिकाएको अनुभूति भएको छ । अब हामी अनलाइन व्यवसायमा केन्द्रित हुनुपर्छ । भोलिको लागि आजै सोचिएन भने पछि गाह्रो पर्छ ।’

कमेन्ट्स
Loading...