नेपाली सांगितिक क्षेत्रमा १५ वर्षदेखि निरन्तर लागि रहेका गायक तथा संगीतकार हुन् चिरन्जीवी भण्डारी । बुटवल रुपन्देही तिलोत्तमा घर भएका गायक भण्डारी सानैबाट गीत गाउन सिपालु रहेका थिए । स्कुल तथा स्टेज कार्यक्रममा गीत गाउदा साथीभाई आफ्ना आफन्तको हौशलाले काठमाडौ छिरेका भण्डारीले दर्जनौ गीत गाइसकेका छन् ।
उनी नेपाली हिन्दी गीतहरु मज्जाले गाउँछन् । उनले हिन्दी भाषाका पनि केहि गीतहरु गाएका छन् । नेपालका चर्चित गायिका अन्जु पन्त, एलिना चौहान,रचना रिमाल लगायतका कलाकारसँग गीतहरु गाइसकेका छन् भने गाउनेक्रम पनि जारी रहेको छ ।
उनले गाएका गीतहरुमा ‘बिस्तारै बिस्तारै, चट्टै मुटु काटेर,सान्नानी सुनन, झ्याइ पुल्टूङ, बदमाश, मन त यो हरामी’ लगायत चर्चामा छन् । यिनै गीतका गायक चिरन्जीवीले आफ्नो सांगितिक क्षेत्रका बारेमा परिचय डटकमका भोला अधिकारीसँग कुराकानी गरेका छन् ।
निकै व्यस्त हुनुहुन्छ है ?
पछिल्लो समय निकै व्यस्त नै रहेको छु भन्नु पर्यो । कामहरु गरिरहेको छु । केहि गीतहरु बजारमा आउनेक्रममा रहेका छन् ।
गीत बनाइसकेपछि भिडियो कतिको अनिवार्य छ?
अहिले अनिवार्य जस्तै भइसकेको छ । अडियो मात्रै त खै कसले सुन्छ र । भिडियो पनि बनाउनु परिहाल्यो नि।
तपाई सांगितिक क्षेत्रमा लाग्दाको समय र अहिलेकोमा गीत निकाल्न कतिको महँगो सस्तो के छ ?
अहिले निकै महँगो छ । पहिलो एल्वम निकाल्ने चलन थियो । त्यस समयमा ७,८ ओटा गीत रेकर्ड भइसकेपछि क्यासेटमा डव गर्नुपर्थो । तर, विस्तारै सिडीको समय आयो । यस बेलासम्म २,४ वटा गीत रेडर्क गर्दा ठिकै हुन्थ्यो । अहिले त एउटा गीत निकाल्ने,त्यसैलाई भिडियो बनाउने युटुबमा राख्ने सकियो । तर, लगानी पहिलाको तुलनामा अहिले निकै महँगो ।एउटा भिडियो बनाउन नै ५,६ लाख रुपैया लाग्छ । त्यो पनि साधारण । अनि ।
भनेपछि विस्तारै गीतहरु महँगो बन्दैछन् ?
हो नि । अहिले गीत निकालेपछि भिडियो गर्नुपर्ने अनिवार्य जस्तै छ । नभए चल्दैन । अर्को कुरा हिरो हिरोइन पनि असाध्यै महँगा हुन थाले । उनीहरुलाई भिडियोमा हालेपछि गीत हिट भए त ठिकै छ । नभए लगानी डुब्ने डर । भोलीका दिनमा के हुन्छ थाहा छैन ।
नयाँ नयाँ हुँदा त आफै गीत रेकर्ड गराउनुभयो होला । लगानी पनि आफै हाल्नुभयो कि कसैले गरिदियो ?
मैले धेरै गीतहरु आफै लगानी गरेर स्रोता तथा दर्शकमाझ पस्किएको हो । नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेको १५ वर्ष भयो । यो १५ वर्षको अन्तरालमा धेरै गीतहरु गाउने अवसर पाईयो भने धेरै गीतहरु आफै लगानी गरेको छु ।
यसबाट के फाइदा भयो जस्तो लाग्छ ?
सबैभन्दा ठुलो त हिजो भन्दा आज धेरै स्रोता तथा दर्शकले चिन्नु हुन्छ । यो नै मैले कमाएको र फाइदा भएको कुरा हो । कुनै गीत राम्रै चले, कुनै चलेनन् । हिड्ने मान्छे लड्छ भने जस्तै कहिले काँही लडियो पनि । यसमा फाइदा र घाटाको कुरा नहुने रहेछ ।
तपाईले चलचित्रमा पनि गीत गाउनुभयो कि भएन ?
मैले केहि चलचित्रमा पनि गाउने अवसर पाए । मैले गाएको फिल्म रेलीमाईको चट्टै मुटु काटेर गीतले पार्श्व गायकमा पनि चिनायो त्यसपछि फेरि फिल्म दीपज्योती फिल्मको झ्याइ पुल्टुङ गीत पनि सरदरमा राम्रै चल्यो । हास्य सिरियलमा पनि मैले गाएको छु । हास्यकलाकार उत्तम केसीको ‘जे होला होला’ बोलको गीत मैले नै गाएको हो । जुन निकै पपुलर पनि भयो ।
कस्ता विद्याका गीतहरु गाउन रुचाउनुहुन्छ ?
प्राय सबै विद्याका गीतहरु गाउन रुचाउछु । यहि भन्ने छैन । आधुनिक, पप’लोक,रक, तथा भजन गीतहरु पनि मैले गाएको छु । त्यस्तै सबै खाल्का गीतहरुमा संगीत भरेको छु । नेपालका नयाँ देखि पुराना चलेका गायक गायिकाले मेरो संगीतमा गीत गाउनु भएको छ । शिव परियार’ प्रमोद खरेल,सुरज पौडेल, प्रदीप ग्लान,अन्जु पन्त, मेलिना राई,एलिना चौहान, रचना रिमाल, मिलन नेवार,दिपा सुहांग,सुजता पाण्डेले मेरो संगीतमा आवाज भरिसक्नुभएको छ । मैले गाउँदा र संगीत भर्दा यहि विद्याका भन्ने छैनन् ।
तपाईलाई के भनेर चिन्ने, गायक कि संगीतकार ?
जसले जसरी चिने पनि संगीत क्षेत्र नै त हो ।
कसको प्रेरणाबाट यो गीतसंगीतमा लाग्नुभएको हो ?
सबैभन्दा पहिला त स्कुले साथी देखि लिएर गाउँका अग्रजबाट मैले गीत गाउन प्रेरण पाए । जब मैले काठमाडौँ आएर गीत गाउन थाले,त्यसपछि मेरो ममी,अनि गीतकार समाजसेवी प्रतिमा गुरुङ, गीतकार शंकर देव कंडेल, गीतकार शंकर पाण्डे हुनुुहुन्छ । मलाई संगीतमा तैले केहि गर्नुपर्छ भनेर धाप मार्ने उहाँहरु नै हुनुहुन्छ ।
तपाई काठमाडौ छिर्दाको पल कस्तो थियो ? कतिपय कलाकारहरु पाँच सय बोकेर आए भन्छन् कोही, गाडीको छतमा बसेर आए भन्छन् ? तपाई आउँदा के लिएर आउनुभएको थियो ?
म काठमाडौँ आउदा हार्मोनियम बोकेर आएको हो । गीत संगीतमा केहि गर्नुपर्छ भन्ने मनमा थियो । त्यहिक्रममा घरबाट हार्मोनियम बोकेर काठमाडौँ हिडेको थिए । यो शहरमा मलाई टिक्न त्यतै सहज थिएन । म एक्लो मान्छे चिनजान कोहि थिएन, कहाँ जाने के गर्ने के खाने कुनै अत्तो पत्तो थिएन । मेरो गाउँकै चिनजानको एउटा साथी यतै काठमाडौँमा पढ्न बसेको थियो । हार्मोनिमय बोकेर काठमाडौँ छिरेको मान्छे मान्छे बस्ने ठाउँ नभएपछि उसैलाई फोन गर्दै गए । केहि दिन म त्यहि साथीकोमा बसे ।
सधैँ भरि एउटै साथीकोमा त्यतिकै बस्न पनि भएन । अनि अर्को दिनबाटै कामको खोजिमा निस्किए । भगवानले अफ्ठ्यारो परेको बेला हेर्छन् भन्थेँ । त्यो बेला बल्ल बल्ल सानो काम पाए । काम अहिले नभनौ होला । अनि मैले त्यहि जागिर गर्दै आफ्नो म्युजिक क्षेत्रलाई अगाडी बढाउने कोसिस गरे । अहिले पनि गीत संगीतको यात्रा जारी नै रहेको छ ।
अन्तमा दर्शक स्रोता दर्शकका लागि के भन्न चाहानुहन्छ ?
मलाई हिजो र आज जसरी माया गरिरहनु भएको छ । त्यसै गरि भोलीका दिनमा पनि माया गरिदिनुहोला भन्न चाहान्छु ।
