सुचना, समाचार र मनोरन्जन

लोकदोहोरी गायक चोलेन्द्र पौडेलको सांगीतिक ‘आरोह—अवरोह’

सन्तोष बस्याल

पोखरा/ 

एक समय थियो जतिबेला पोखरालाई संगीतको उर्भर भूमिको रुपमा चिनिन्थ्यो । लोकदोहोरी देखि सुगम संगीत सम्म यहाँको चर्चा राम्रै हुन्थ्यो । ब्याण्डहरुको राजधानीका रुपमा समेत पोखरालाई परिचित गरिन्थ्यो । पोखराबाट संगीत कर्म सुरु गरी स्थापित भएका कलाकारका गीतहरु आज पनि अजरअम्बर छन् । रेडियो टेलिभिजनमा घन्कने गर्छन । सांगीतिक क्षेत्रमा पोखराको महत्व ठूलो छ । पोखरा लोककवी अलिमियाँ, धर्मराज थापा, बुद्धि परियार, हरिदेवी कोइराला, प्रजापती पराजुली लगायतका कलाकारहरुको जन्मथलो हो । जस्ले पोखराको माटोमा संगीतको सुगन्ध छरेको छ ।

पोखरेली संगीत नेपालमा मात्रै होइन, उनिहरुको चर्चा देशभरमा छ । बुद्धि परियारको आवाज, शब्द र लयमा रहेको गीत ‘रेशम फिरिरी रेशम फिरीरी उडेर जाउँकी डाँडामा भञ्ज्याङ रेशम फिरीरी….’ नसुन्ने सायदै नै होला । देश वा विदेशका हरेक ठाउँमा ठेट नेपाली लोकगीतको रुपमा परिचित छ । पोखरेली लोकभाकालाई पछिल्लो पुस्ताले समेत रिमेक गरी गाउन थालेका छन् । अग्रजका गीतसंगीतको यात्रालाई पछ्याउँदै थुप्रै कलाकारको जन्म सहित कर्म थलो बनेको छ पोखरा ।

पोखरा देखि केही माथि भलाममा जन्मेका गायक हुन् चोलेन्द्र पौडेल । पौडेलको बाल्यकाल भलाममै बित्यो र त्यहीबाट उनको संगीत कर्म सुरु भयो । सानै देखि चञ्चले स्वभावका उनी लोकदोहोरी क्षेत्रमा अब्बल खरिए । आज उनलाई नचिन्ने सायद नै होलान् ।

सांगीतिक सुरुवात

गाउँमा छैटीको पूजा हुँदा होस् या विवाह व्रतबन्धमा होस् उनको सहभागीता रहन्थ्यो । आमासँंगै रत्यौली गाउन नाँच्न पुग्थे । त्यतिबेला उनी आठ अथवा नौ वर्षको हुँदा हुन् । ठ्याक्कै याद उनलाई पनि छैन । बाल्यकाल अवस्थादेखिनै गीत संगीतप्रतिको मोहले उनलाई कलाकार बनायो । स्कुलका अतिरिक्त क्रियाकलापमा समेत जानीनजानी लोकदोहोरी गीत गाउने गर्थे ।

कक्षा १ देखि कक्षा ५ सम्म उनले जनचेतना प्राथामिक विद्यालय भलाममै अध्ययन गरे । त्यसपछि एसएलसी सम्मको अध्ययन महेन्द्र माध्यामिक विद्यालय भलाममै भयो । पढाईमा उनको श्रेणी राम्रै थियो । पहिलो दोस्रो हुन नसके पनि तेस्रो चौथो भने भइराख्थे । २०५१ सालमा एसएलसी पास गरे । त्यसपछि पृथ्वीनारायण क्याम्पसमा आईकम भर्ना भए । त्यतिबेला क्याम्पसमा प्रमाणपत्र तह पनि थियो । अहिले छैन ।

स्कुल लेभलमा कहिलेकाहिँ गीत गाउने पौडेलको वास्तविक गायन यात्रा भने कलेज समयमा भयो । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले दोहोरी गीत प्रतियोगिताको आयोजना गथ्र्यो । उक्त प्रतियोगितामा पौडेलको सहभागिता रहन्थ्यो । क्याम्पसमै पहिलो पटक दोहोरी गीत प्रतियोगितामा उनले भाग लिएका थिए । प्रतियोगिताबाटै उनको लोकसंगीतको यात्रा सुरु भयो । हिजो प्रतियोगितामा प्रतियोगीका रुपमा प्रस्तुत हुने पौडेल आज निर्णायक हुन्छन् ।

क्याम्पसको प्रतियोगितामा पहिलो पटक उनले आफ्नै ठूलदाईकी छोरीलाई लिएर गाएका थिए । त्यतिबेला उनको हातमा कुनै पुरस्कार परेन । निरन्तर भाग लिदै गए पछि उनलाई जित्ने कोही भएन । प्रतियोगिताका लागि पौडेल पोखरा मात्रै नभई देशका विभिन्न ठाउँमा पुगेका छन् ।

औपचारिक सांगीतिक सुरुवात

औपचारिक रुपमा पहिलो रेकर्ड गीत उनको वि.सं २०५६ सालमा ‘जाउँ डाडै काटेर…’ आयो । लय शब्द पौडेलकै थियो । २०५६ मै उनले अर्को गीत रेकर्ड गरे । गीत थियो ‘सेती माथि पूल…’ । जुन गीतले उनलाई चर्चा दिइयो । चोलेन्द्र पौडेल भनेर चिनाउन थाल्यो । सेती माथि पुलको महिला आवाजमा शर्मिला गुरुङको साथ पाएका थिए । शब्द लय भने उनकै थियो ।

बिचमा उनी साथीभाईको संगतले विदेश हाँकिए । २०६४/०६५ ताका उनी कतार पुगे । त्यहाँ करिब १४ महिनाको बसाई भयो पौडेलको । गीतसंगीतको क्षेत्रमा वितृष्णा नभई युवा उमरेको जोशले उनलाई विदेश पुर्यायो । ‘हुन्छ भने हुन्छ भन….’ गीत उनले ०६३ सालमा गाएका थिए । उक्त गीतले बजार राम्रै पिटिरहेको थियो । तर विडम्बना पौडेल कतार थिए । गीतसंगीतको मोहले उनलाई कतार टिक्न दिएन स्वदेश फर्किए ।

विस्तारै लोकदोहोरी गीत संगीतमानै पौडेल व्यस्त देखिन थाले । पोखराका दोहोरी साँझ रेष्टुरेण्टमा समेत उनले काम गरेका छन् । सञ्चारकर्ममा समेत पौडेल केहीसमय सक्रिय रहे । पोखराको हिमचुली एफएममा लोकदोहोरी कार्यक्रम चलाउथे । उक्त कार्यक्रमको चर्चा राम्रै थियो । व्यस्तता बढ्दै गयो उनले सञ्चारकर्म छोडे गीतसंगीतको बाटो रोजे ।

‘नेपाली गीतसंगीत विचलित बाटोमा छ’

गीतसंगीतको पहिले अहिलेको परिवर्तन बारे प्रश्न गर्दा पौडेल भन्छन्,‘सुरुको अवस्थामा गीतसंगीतको अडियो बिक्थ्यो । दर्शकस्रोताले गीत मन पराएको नपराएको थाहा हुन्थ्यो । मन पराएका गीतका अडियो चक्काहरु बिक्ने गथ्र्यो । त्यसको आम्दानी सर्जकले लिन पाउँथे । अहिले डिजिटल माध्यम आएको छ । गीत चलेको नचलेको पत्तो हुदैन । तर सर्जक गीत निकाल्न बाध्य छ । कारण उसको पेशा यहि नै हो । अहिले सिर्जना सहित कन्सेप्ट बिक्न थालेको छ । लगानी गर्न सके प्रतिफल राम्रै पाइन्छ ।’

पौडेलले अडियो देखि अहिलेको भिडियो सम्मको अवस्था भोगेका छन् । लोकसंगीत अथवा कलाकारलाई समाजले हेर्ने दृष्टिकोण त्यतिखेर सम्मानित रहेको पौडेल बताउँछन् । अहिले नेपाली गीत संगीत विचलितको बाटोमा गएको उनलाई लाग्छ । ‘हिजो हरेक गीतमा मौलिकपन पाइन्थ्यो आज हराउँदै गएका छन्’, पौडेलले भने,‘ मौलिकतामा परिवर्तन भएको छ ।’

‘पानी मुनी मुनी…’, ‘चढ्यो चढ्यो जवानी…’, ‘जाम झोला बोकेर…’ ‘किन हुन्छौं उत्ताउली…’, ‘पछौरीको छेउ…’ गरी हालसम्म ६५ वटा गीत रेकर्ड गराएका पौडेललाई पोखरा देखि काठमाण्डौं जान्छु भन्ने कहिल्यै लागेन । उनी पोखरामै बसेर संगीत क्षेत्रमा संघर्ष गरिराखे । काठमाडौंको भीडमा हराउनु भन्दा पोखरा आफ्नै थलोमा बसेर यहाँको माटोमा संगीत सुगन्ध छर्नमा व्यस्त रहे पौडेल ।

व्यवस्थापन विषयमा स्नातक सम्मको अध्ययन गरेका पौडेलको शैक्षिक यात्रा त्यहि टुंगियो । गीत संगीत क्षेत्रमै रमाउन थाले । उनी थुप्रै सङ्घसंस्थाबाट सम्मानित भइसकेका छन् । पौडेल भन्छन्,‘पछिल्लो समयका टेक्नोलोजीलाई प्रयोग गर्न सकियो भने गीत संगीत क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिन्छ ।’ आफ्नै युट्युब खोली आफ्ना सिर्जनालाई राख्न सके आम्दानी गर्न सकिने उनको बुझाई छ । निश्चित चलेका गीतलाई युट्युबबाट राम्रै आम्दानी हुने उनी बताउँछन् ।

‘केन्द्रमा काम गर्दैमा राष्ट्रिय, मोफसलमा काम गर्दैमा स्थानिय भन्ने हुँदैन’

लोकदोहोरी मन पराउने दर्शकस्रोताको संख्या अहिले पनि बढेको तर गीत संगीतको गुणात्मक घटेकोमा पौडेल सहमत जनाउँछन् । केन्द्रिय र मोफसलबाट संगीत संघर्ष गरेका कलाकारमा राष्ट्रिय कलाकार को भन्ने सवालमा पौडेलको सधै असहमति छ । उनी भन्छन्,‘ कलाकार सबै कलाकार हो । केन्द्रमा काम गर्दैमा राष्ट्रिय, मोफसलमा काम गर्दैमा स्थानिय भन्ने हँुदैन । कलाकारमा लोकप्रियता हुनुपर्छ । लोकले मन पराएको कलाकार राष्ट्रिय हो ।’

अहिलेका कलाकारमा सिकाई कम चर्चा कमाउने हुटहुटी ज्यादा भएको उनी पाउँछन् । क्षणिक भरको हावाहुरीले गीतसंगीतको क्षेत्रलाई माथि लान नसक्ने उनको तर्क छ । प्रतिष्ठान समेत यसमा सजक रहेको पौडेल बताउँछन् । नयाँ कलाकारका लागि प्रतिष्ठानले बेलाबखतमा विभिन्न प्रतियोगिताको आयोजना गरी स्थान दिएको छ । सकेसम्म मेलामहोत्सवमा समेत समेट्ने प्रयास गरेको छ ।

कलाकारको पारिश्रमिक विषयमा प्रश्न गर्दा पौडेल भन्छन्, ‘मेला महोत्सव भनेको अरुले आयोजना गरेको कार्यक्रम हो । कतिपय अवस्थामा आयोजकले नै मेलालाई सफल बनाउनका लागि कुन कलाकार ल्याउँदा महोत्सव प्रभावकारी हुन्छ ? त्यसका लागि वर्तमान अवस्थामा बजारमा चलेका कलाकारको डिमान्ड आयोजकबाटै हुन्छ । कलाकार आफैले म कत्तिको बजारमा बिकेको छु ? भन्ने कुरा बुझ्न जरुरी छ । दर्शक श्रोताको मनमा म कत्तिको बस्न सफल भएको कलाकार हुँ ? आफैले मूल्यांकन गर्नुपर्ने विषय हो । आफैले आफैलाई मूल्यांकन गर्न सकिएन भने गुनासो गरेर मात्र सार्थक हुन्छ जस्तो मलाई लाग्दैन । अर्को कुरा संस्थागत रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले मेला महोत्सवको कलाकार संयोजन गरिरहँदा संस्थागत हिसाबले सबै कलाकारलाई एउटै मेलामहोत्सवमा समेट्न नसकेपनि पालैपालो समेट्ने प्रयास गरिरहेको छ । प्रतिभा भएका कलाकारले अवश्य ठाउँ पाइरहेका छन् ।’

पौडेल सांगीतिक यात्राकै क्रममा १७ वटा देश घुमिसकेका छन् । नेपालमा भन्दा विदेशमा नेपाली संस्कृतिको महत्व देखिएको उनी बताउँछन् । ‘हाम्रा नेपाली गीतहरुले विदेशमा ठाउँ पाउँदा गर्व लाग्छ’, उनले भने,‘मौलिकता हामीले समेट्न सकेका छैनौं, विदेशमा संस्कृति कला मौलिकपन भनेपछि प्राण भन्दा प्यारो छ ।’

सरकारले गीतसंगीत र कलाकारप्रति चासो दिन थालेको जस्तो उनलाई लाग्छ । हिजोको तुलनामा आज कलाकारिता क्षेत्रमा सरकारको नजर राम्रै भएको उनी पाउँछन् । तर जतिहुनुपर्ने हो त्यो नभएको उनको बुझाई छ । पौडेलका अनुसार छिमेकी मुलुक भारतमा एउटा गीत चर्चामा आएपछि त्यो गीतको सर्जकलाई जिन्दगी भरलाई बाच्नेआधार मिल्छ । राम्रै सँग जिवनयापन गर्ने वातावरण राज्यले सिर्जना गरिदिएको हुन्छ । तर नेपालमा त्यो अवस्था छैन । लाखौं लगानी गरेर गीत निर्माण गर्यो, चल्ने नचल्ने थाहाछैन । अथवा भनौ कलाकारको लगानीको सुरक्षा छैन । सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनको माग छ । चलचित्र विकास बोर्ड भएजस्तै लोकदोहोरी विकास बोर्डको आवश्यकता रहेको पौडेल बताउँछन् ।

कमेन्ट्स
Loading...