सुचना, समाचार र मनोरन्जन

भीड लाग्ने नापीका दुई कर्मचारीमा कोरोना, मालपोतका कर्मचारी पनि जोखिममा

 

विराटनगर । नापी कार्यालय विराटनगरमा कार्यरत खरिदार र कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएको छ ।

आइतबार नापीका दुई जना पुरुष कर्मचारीसहित विराटनगरका १० जनामा कोरोना पुष्टि भएको हो ।

कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा शुक्रबार पठाइएको थियो । परीक्षणका क्रममा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नापी र मालपोत कार्यालयमा अत्याधिक भीड लाग्ने गरेको थियो । नापीका कर्मचारीमा जस्तै मालपोतको बाहिर बस्ने लेखापढी संघका पदाधिकारीमा समेत लक्षण मिल्ने खालको समस्या देखिएपछि स्वाब नमूना संकलन गरिएको छ ।

त्यसपछि मालपोत कार्यालयका कर्मचारीको पनि स्वाब संकलन गरिएको छ । तर त्यो स्वाबको परीक्षण रिपोर्ट आइनसेकेको मालपोतका कार्यालय प्रमुख नगेन्द्र पौड्यालले जानकारी दिए । अत्याधिक भीड लाग्ने दुवै कार्यालय आइतबार खुल्ला भएपनि सेवाग्राहीको काम भने गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार नै संघीय सरकारको इकाई मालपोतका प्रमुख पौड्यालले के गर्ने भन्ने विषयमा राय माग्नु भएको थियो । त्यसको कुनै यकीन निर्णय भने भएको छैन । संक्रमण पुष्टि भएको अवस्थामा कार्यालय सिल गरिने प्रमुख पौड्यालले जानकारी दिए ।

आइतबार विराटनगरका विभिन्न वडाका ४ महिला र ४ पुरुषमा समेत कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये कोशी अस्पतालकै स्वास्थ्यकर्मी समेत छन् । महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले १३ जनाको रिपोर्ट पोजेटिभ आएपनि सबैको विवरण यकीन भइनसकेको बताए ।

कमेन्ट्स
Loading...