काठमाडाैं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ६ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४१४२ जनाको पीसीआर परीक्षण गर्दा ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।
नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार कोरोना संक्रमणबाट देश भरमा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संख्या नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित थपिएका हुन् ।