सुचना, समाचार र मनोरन्जन
kumdini

कोभिसिल्ड खोप नेपाललाई ‘अनुकूल’

काठमाडाैं । बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल हुने देखिएको हो ।

बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ । नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने ‘एजेडडी १२२२’ खोप भारतमा कोभिसिल्डको नामबाट विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य खोप पनि सिरमबाट ल्याउने गरेको छ ।

‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र बेलायतका प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादलगायतका कूटनीतिक पहल गरेर कोभिसिल्ड किनेर वा जसरी भए पनि मुलुकमा भित्र्याउन प्रक्रिया सुरु गर्नुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘गोर्खा सैनिकले गर्दा बेलायतसँग पनि हाम्रो विशेष सम्बन्ध छ । भारत त झन् सांस्कृतिक रूपले समेत अति निकट छिमेकी हो ।’

बेलायतमा पहिले ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने फाइजर–बायोएनटेकको खोपले आपत्कालीन स्वीकृति पाएको थियो । हालसम्म करिब ५ लाख जनाले उक्त खोप लगाइसकेका छन् । ‘कोभिसिल्ड’ बेलायतमा आपत्कालीन स्वीकृति पाएको दोस्रो खोप हो । अमेरिकाले पनि फाइजर र मोडर्नाको खोपलाई स्वीकृति दिइसकेको छ ।

नेपालमा शून्यभन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने खोप अहिलेकै संरचनाअनुकूल नरहेको औंल्याउँदै डा. मरासिनीले भने, ‘विश्वकै विश्वसनीय संस्थाबाट उत्पादित र मूल्य पनि अत्यन्त कम, प्रभावकारी, हालसम्म राम्रो देखिएको खोप भारतसम्म आइपुगेकाले हामीले जतिसक्दो छिटो ल्याउनुपर्छ ।’

British college

भारतमा कोभिसिल्ड खोपको तेस्रो चरणको ट्रायल गरिरहेको सिरमले आपत्कालीन स्वीकृति मागेको छ । पछिल्लो साता सब्जेक्ट एक्सपर्ट कमिटीले बेलायतमा यो खोपलाई मान्यता दिएपछि यसमा विचार गरिने बताएको थियो । ‘ड्रग्स कन्ट्रोलर अफ इन्डिया’ का एक पदाधिकारीले कोभिसिल्ड खोप लगाउने विषयमा भारतमा निरन्तर बैठक जारी भएको कान्तिपुरलाई बताए । उनले छिट्टै कोभिसिल्डलाई आप्तकालीन स्वीकृति दिएपछि भारतमा जनवरीमै खोप अभियान सुरु हुने बताए ।

भारतले खोप ल्याउन नेपाललाई सहयोग गर्ने बताउँदै आएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग भएको भेटवार्तामा पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने विषय उच्च प्राथमिकतामा रहेको बताए । क्वात्राले कोभिड खोप खरिद तथा आपूर्तिमा सहकार्य गरी महामारीको सामना गर्ने साझा प्रयासमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपाली जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्घता दोहोर्‍याए । ‘नेपालले प्रोपर च्यानलबाट पहल गरे खोप समयमै पाउन गाह्रो हुँदैन,’ एसआईआई स्रोतले कान्तिपुरसँग भन्यो, ‘कोभिसिल्डलाई भारतमा जनवरी पहिलो साता आपत्कालीन स्वीकृति मिल्ने आशा छ ।’

प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार सिरमले पाँच करोड डोज खोप उत्पादन गरिसकेको छ । २०२१ मार्चदेखि हरेक महिना १० करोड डोज उत्पादन गर्ने सिरमलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । सिरमका सीईओ आदर पुनावालाले बेलायतपछि यो खोप भारतमा आपत्कालीन प्रयोगका लागि अनुमति पाउने बताए ।

एस्ट्राजेनेका (कोभिसिल्ड) खोप ७० प्रतिशत प्रभावकारी देखिएको छ । क्लिनिकल परीक्षणको अन्तिम नतिजाअनुसार दुई डोज खोप दिइसकेपछि यो कोभिडविरुद्ध लड्न प्रभावकारी र सुरक्षित भएको एस्ट्राजेनेकाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । ‘हालसम्म विश्वमा आपत्कालीन प्रयोगमा आएका सबै खोपमध्ये कोभिसिल्ड मन्त्रिपरिषद्‍बाट तोकिएको प्राथमिकता अनुकूल छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

मन्त्रिपरिषद्ले खोपका लागि तोकेको प्राथमिकताअन्तर्गत गुणस्तरीय (सुरक्षित र प्रभावकारी) हुनुपर्ने, यहाँको चिस्यान भण्डारणलगायत पूर्वाधारसँग अनुकूल हुनुपर्ने, उपलब्धता र कम लागत मुख्य बुँदा हुन् । ‘२ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने प्रमुख विशेषतासँगै सिरम इन्स्टिच्युटको खोप हामीले वर्षौंदेखि उपयोग गर्दै आएकाले यसको विश्वसनीयतासँग अवगत छौं,’ कोभिड–१९ विरुद्धको खोपसम्बन्धी दूत कार्य योजना तयारी समितिका एक पदाधिकारीले भने, ‘सिरमको उत्पादन क्षमताले समेत बढी आशावादी छौं ।’

बेलायतले अक्सफोर्डको खोपलाई मान्यता दिनु, त्यो खोप भारतमा उत्पादन हुनु नेपालका लागि राम्रो मौका रहेको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘अब हाम्रो सरकारले राम्ररी पहल गरे भारतले तिर्ने मूल्य (प्रतिमात्रा करिब ४ सय नेपाली) वा यसभन्दा पनि कम अथवा सहयोगकै रूपमा खोप आउन सक्छ ।’ कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

कमेन्ट्स
Loading...