काठमाडौं :
नेपालीहरुको महान चाड दसैँ नजिकिदै गरेको अवस्था छ । बजारमा किनमेल गर्नेको घुँइचो बढेको छ भने शहरमा बसोबास गर्दै आएकाहरु गाउँघर फर्कन थालेका छन् । कोही घर जानका लागि चाँजोबाचो मिलाइरहेका छन् । मान्छेको मानसपटलमा दसैं भन्ने बितिक्कै उत्साह बढेको देखिन्छ । यहि दसैं विशेष कुराकानी संगीतकार दीपक शर्मासँग भोला अधिकारी गरेको कुराकानी :
दसैं तपाईलाई कस्तो लाग्छ ?

दसैं भनेको नेपालीहरुको महान चाडपर्व हो । दसैंलाई म कल्चरल रुपमा हेर्छु । विभिन्न देश विदेशमा छरिएर बसेका नेपाली दाजुभाई तथा दिदीबैनीहरु नेपाल आउने एउटा अवसर पनि हो । किनभने यो समयमा सबै परिवार एकआपसमा भेट गराउने पर्व पनि भएकाले जो जहाँ भए पनि ,दसैंको बेला भेट हुने गर्दछ ।
यदि दसैं भन्ने पर्व थिएन भने सायद आफ्ना आफन्त एकै थलोमा भेट हुन निकै कठिन नै हुन्छ । अर्को कुरा साथीभाईको पनि यहि मौकामा जमघट हुने हुँदा दसैंलाई म विशेष रुपमा हेर्छु । सरकारी तथा अनय ठाउँमा जागिर भएकाहरुले पनि केहि दिन फुर्सद पाउने गर्दछन् । कामको मानसिक तनावलाई केहि दिनका लागि भए पनि कम गर्न सकिन्छ ।
दसैं भनेपछि तपाईको दिमागमा के कुरा आउँछ ?
दसैं भनेपछि सामाजिक र धार्मिक कुरा त छँदैछ । सबैभन्दा पहिला दसैं भन्ने बितिक्कै मैले सम्झिने भन्या बाल्यकाल नै हो । बाल्यकालमा खेलेको पिङ,अनि साथीभाई मिलेर उडाएको चङ्गा नै बढि सम्झिने गरेको छु । साथै रोटेपिङको पनि उतिकै याद आउने गर्दछ । अहिले जस्तो जताततै त्यो समयमा बजार थिएन । त्यस कारण गाउँघरमा लाग्ने मेला सम्झिने गरेको छु । किनभने ति बाल्यकालमा घुमेका कुराहरु बढि याद अहिले आउने गरेका छन् । मेलमा हुने सास्कृतिक कार्यक्रमहरु पनि उतिकै मात्रामा रोमाञ्चक थिए ।
मायाघर जाँदाको याद पनि त आउँछ होला नि ?
एकदमै आउँछ । म आमासँग मामाघर जाँदा आमाले रोटी,केरा,कुरौनी बोकेर मलाई डो¥याउदै जानुहुन्थ्यो । हाम्रो घरबाट मामाघर पुग्न चार घण्टाको बाटो हिड्नुपथ्र्यो । फेरि हाम्रो मामाघर जान त्यति सजिलो बाटो पनि थिएन । गाउँ,जंगल,भीर पाखा हुँदै उकालो आरालो गर्दै चार घण्टा हिडेपछि पुगिन्थ्यो । त्यसरी हिडेर मामाघर पुगेको याद दसैं आयो है भन्दा झलझली आँखामा आउने रहेछ ।
यति लामो बाटो हिड्दा मामाघर कहिले पुगिएला भन्ने लाग्थ्यो होला है ?
अवस्य पनि । मेरो घर भन्दा पनि मावलीघर अझैँ लेकमा छ । चिसो ठाउँ,जंगलै जंगल पार गरेर मामाघर जानुपथ्र्यो । हुन त मामाघर टाढा भए पनि यसै प्यारो हुने रहेछ बाल्यकालको समयमा । अहिले आएर म महशुस गर्दछु । त्यो समयमा आमाको हात समाउँदै मामाघर जानुको छुट्टै मज्जा थियो । म ति दिनहरु अहिले पनि दसैं आयो है भन्दा मानसपटलमा आइहाल्छ। मामाघर जाने भनेपछि एक महिना अघिबाटै तयारी अवस्थामा हुन्थेँ ।
दक्षिणा कहाँ कति पाइएला भन्ने सोच कतिको आउँथ्यो ?
एकदमै आउँथ्यो । ठुला मामाकोमा कति पाइएला, माइला मामाले कति दिनु होला भन्ने मनमा कुरा खेलाइन्थ्यो । यो मामाले यति दिनुहुन्छ होला भनेर समेत अनुमान गरिन्थ्यो । दसैंको टीकाको दिन मामा घर पुगेपछि कसले कति दिनुभयो भनेर गन्ने गर्थे । आज कति भयो । भोली कति होला यस्तै यस्तै खाल्को थियो । जुन अहिले सम्झदा खेरि पनि एकदमै दसैंको महत्व त्यो बेला रहेछ भन्ने लाग्छ। तीन चार दिन जति मामाघरमा नै बसिन्थ्यो । त्यहाँ रहँदा साइनो पर्ने जतिको सबै घरमा टीका थाप्न पुग्थेँ । गाउँका मान्छेले आमालाई बैनी दिदी भनेर साइनो लगाउन जो जो हुन्थेँ । तिनका घरमा समेत पुगेर टीका थाप्थेँ। किनभने त्यो पैसाका लागि थियो ।
दसैं भन्दा एकदमै सम्झन लायक कुरा के लाग्छ ?
मलाई अहिले भनेको मध्ये अझैँ सम्झन लायक भन्नुपर्दा कुराउनी रहेको छ । हाम्रोतिर दसैंमा विशेष विवाह गरेको वर्ष चेली दसैंमा माइत जाँदा कुराउनी लैजाने चलन छ । आफ्ना फुपुहरु,दिदी बैनीहरुले चार पाँच जनालाई कुरौनी बोकाएर ल्याउने गर्नुहुन्थ्यो । त्यो कुराउनी आमाले कतापट्टि राख्नुहुन्छ भनेर चिहाएर हेर्ने गर्थे । प्राय आमाले कुराउनी बाकसमा नै राख्ने गर्नुहुन्थ्यो ।
त्यो कुराउनी कसरी खाने भनेर जुक्ति निकाल्थे र बाकसको चाबी कताबाट हुन्छ फुत्काएर कुरौनी खान्थेँ। अनि त्यो चाबी आमाले पटुकामा राखेपनि जहाँ राख्नुभए पनि राति नै निकालर कुरौनी चोर्थे र जहाँबाट निकालेको साँचो त्यहाँ सर्लक्क राखिदिन्थे। फेरि भोली पल्ट आमाले थाहा पाउनुभयो भने ढाँड भाँच्नु हुन्थ्यो । बच्नका लागि पनि उपाय त लाउनै पर्यो । त्यस कारण मलाई अहिले ति कुराहरु दसैंका समयमा विशेष सम्झन्छु । किनभने त्यो समयमा चोरेर कुराउनी खानलाई निकै मजा आउँथ्यो ।
आमालाई थाहा हुन्न थियो र ? कि थाहा पाउनुहुन्थ्यो?
आमाले थाहा पाउनु हुन्थ्यो । तर, पनि धेरै कुरौनी खाएपछि पेट दुख्ने, पखला लाग्ने हुन्थ्यो । अनि केले पेट दुख्यो भन्ने कुरा आमालाई थाहा भइहाल्थ्यो । किनभने धेरै कुरौनी खाएपछि पचाउन गाह्रो हुन्थ्यो र पखला चल्थ्यो । अनि आमाले कुरौनी बाकस खोलेर हेर्दा निकै घटेको हुन्थ्यो ।
यसरी बदमास गर्दा पिटाई खाइयो कि खाइएन ?
विरामी मान्छेलाई के कुट्नु । गाली चाही भक्कु गर्नुहुन्थ्यो ।
अहिले र पहिलेको दसैंमा कतिको फरक पाउनुहुन्छ ?
धेरै फरक छ नि । बाल्यकालको दसैं एकदमै रमाइलो थियो । अहिले जिम्मेवारी बोकेर होला पहिलाको तुलनामा निकै कम छ ।
तपाईको विचारमा दसैंको राम्रो पक्ष र नराम्रो पक्ष के होला ?
राम्रो पक्ष भनेको सबैसँग भेटघाट गर्ने हो । रातो टीका लगाएको एकदमै राम्रो लाग्छ । दसैंमा नराम्रो पक्ष भनेको चाही बलीप्रथा मन पर्दैन । यो चाही नराम्रो पक्ष हो । अरुको ज्यान काटेर रमाइलो गर्नु चाही हुन्न जस्तो लाग्छ ।