काठमाडौ :
‘पर्ख पर्ख मायालुका’ संगीतकार दीपक शर्माले आफ्नो जन्मदिन अघिल्ला वर्ष भन्दा फरक शैलीले मनाएका छन् । आफ्नो जन्म दिनमा केक नकाट्ने घोषणा गरेका शर्माले वृक्ष रोपन गरेका छन् । अन्य कुरामा फजुल खर्च हुने भएकाले आफ्नो जन्मदिनमा वृक्षारोपणमा खर्चिएको बताए ।
संगीतका दीपक शर्माले मंगलबार भक्तपुरको चाँगु नारायण नगरपालिका नागडोलको छालाङस्थित ब्रम्हकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगणमा वृक्षारोपण गरेका हुन् । वृक्षारोपण गरेर जन्मदिन मनाउनुको कारणबारे उनले आफ्ना भनाई समेत राखेका छन् ।
उनले भने,‘गीत संगीत सृजना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सृजना पस्कदै आएको छु । यस्तै अन्य सामाजिक काम पनि गर्ने उदेश्यले वातावरण संरक्षणको लागि यहि वर्षबाट आफै वृक्षारोपण गरेको हुँ ।’
उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समी सहित विभिन्न प्रजातिको वृक्षारोपण गरेको बताए । उनले भने,‘औषधी जन्य बनस्पती, सुगन्धित बनस्पति र अन्य बनस्पतीको बिरुवा आज रोप्ने काम गरियो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु ।’
ति बिरुवाहरु संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मा समेत दिएको पनि उनले बताए । एक हजार भन्दा बढी गीतमा संगीत गरिसकेका दीपक शर्माले पछिल्लो समय दीपकदीपाको फिल्म ‘छक्का पञ्जा ४’ लगायतका फिल्मलाई संगीत सृजनामा गर्नमा व्यस्त रहेका छन् ।
