सन्तोष बस्याल
पोखरा ।
टिकटकमा यतिबेला एउटा गीत भाइरल छ । गीत हो “च्याप्प पर्वते माया…” । धेरैले यसमा टिकटक बनाएका छन् । लाखौंले हेरेका छन् । युटुबमा पनि अहिलेसम्म हेर्नेको संख्या २४ लाख बढी छ । टिका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीको आवाज रहेको गीतमा दुर्गेश थापा, अर्जुन सापकोटा, स्मिारिका ढकाल, रविना भण्डारी र टिका सानुको अभिनय छ ।
गीत चलिरहँदा सर्जकको खोजी हुनु स्वभाविक हो । टिकटकमा रुचाइएको गीत आखिर कसले लेखेका होलान् त ? भन्ने प्रश्नको कौतहलता जाग्नु अनौठो होइन । अत्याधिक रुचाइएको गीतका सर्जक भने पोखराका दिपक अधिकारी हुन् । पोखरा महानगरपालिका ३२ ढोडबेसीका अधिकारीको गीतसंगीतमा सानै देखिको लगाव हो । स्कुल पढ्दाताका बाट नै उनले कलम चलाउन थालेका हुन् । कविता, गजल बच्चै देखि लेख्ने गर्थे । विद्यालयस्तरिय लेखन प्रतियोगितामा समेत उनको संलग्नता हुने गथ्र्यो ।
अधिकारीले गीत लेखन सुरुवात गर्दा अहिले जस्तो डिजिटल प्रविधिको विकास भइसकेको थिएन । सिडीको जमाना विस्तारै हराउँदै थियो तर पिआरबीटी र सिआरबीटीको समय थियो । चलेका गीत सिडी किनेर नै सुन्ने गर्थे । रेडियो नेपाल त्यतिबेला कलाकारका लागि गीत सुन्ने राम्रो माध्यम । प्रस्तोताले फलानोको गीत भन्दा उनी उत्सुक हुन्थे । त्यहि उत्सुकताले नै आज अधिकारीलाई गीतकार बनायो भन्दा अत्युक्त नहोला ।
भन्छन्,“गीत संगीतमा लगाव मेरो सानै देखि हो । रेडियो नेपाल बज्ने सबै गीत प्राय सुन्थे । कार्यक्रम प्रस्तोताले फलानोको गीत भन्दा उत्सुक हुन्थे । एकदिन म पनि गीत संगीतमा नै लागेर रेडियोमा नाम आउने बनाउँछु भन्ने लाग्थ्यो । संगीत प्रतिको मोहले नै आज मलाई गीतकार बनायो ।”
२०५२ साल चैत ९ मा बुबा इश्वर अधिकारी र आमा रेवती अधिकारीको पहिलो सन्तानका रुपमा जन्मिएका अधिकारीको औपचारिक संगीत यात्रा भने २०६८ सालबाट मात्रै सुरुवात भयो । लोकदोहोरी गायक रामजी खाँडका गीत उनी नछुटाई सुन्ने गर्थे । जसका प्रेरणाले गीतसंगीतमा लागे आज उनैसँग सहकार्य समेत गर्ने गरेका छन् अधिकारी ।
गाउँमै भएको चन्द्रज्योती प्राथमिक विद्यालयबाट उनको औपचारिक शिक्षा सुरुवात भयो । कक्षा ५ सम्मको अध्ययन उनले त्यहाँ गरे । त्यसपछि ब्रह्मारूपा उच्च माध्यमिक विद्यालय राजाको चौतारामा उनले १२ सम्मको अध्ययन पुरा गरे । अहिले उनी पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् ।
मन परेका गीत उनी सयौं पटक सम्म सुन्ने गर्थे । अधिकारी राम्रा स्रोता पनि हुन् । जसले उनलाई लेखन शैलीमा तिखारिन मदत गथ्र्यो । रहरले नै उनलाई संगीतमा डोरायो भन्दा फरक नपर्ला । अग्रज राजन ठकुरी, रामजी खाँड, शिव हमाल लगायतका सर्जकहरु जस्तै बन्ने सपनाले आज सफलता दिलाएको छ ।
भन्छन्,“अग्रज कलाकारका गीत सुन्दा । म पनि त्यस्तै बन्न पाए हुने भन्ने लाग्थ्यो । मेरा गीत पनि रेकर्ड भएर रेडियो टेलिभिजनमा घन्काउन पाए हुन्थ्यो । कलाकार बन्ने सपना थियो । हुटहुटी थियो । आज त्यहि हुटहुटीले नै केही हदसम्म भए पनि सफलता दिलाएको महशुस हुन्छ ।’
२०६८ सालमा अधिकारीले “तिम्रै मिठो बोली सुन्छु म त…” बोलको गीत सार्वजनिक गरे । त्यतिबेला उनमा खुशीको सिमा थिएन । कलाकार बन्ने सपना उनको पुरा भए जस्तो अनुभुति भयो । उक्त गीतमा गगन गुरुङ र चिना थापा मगरले आवाज दिएका थिए । अधिकारीको शब्दमा गगनले लय भरे । अडियो गीत सार्वजनिक भएता पनि भिडिओ भने उनले गर्न सकेनन । लगभग अडियो निस्किएको वर्षदिनमा भिडिओ बन्यो ।
त्यस लगतै २०७० सालमा अधिकारीले “मायालुकै भलाई…” गीत रेकर्ड गराए । त्यसपछि भने उनले गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । हालसम्म लगभग एक सयको हाराहारीमा उनले लेखेका, संगीत भरेका गीत सार्वजनिक भएका छन् ।
अधिकारीले लोकदोहोरी मात्र नभई सुगम संगीतका गीत समेत लेखेका छन् । तर लोकदोहोरी जस्तो सफलता भने सुगम संगीतमा उनलाई मिलेको छैन । फलस्वरुप उनले लोकदोहोरी गीतको सिर्जना नै बढी गरेका छन् ।
कलाकार बन्ने इच्छाले नै उनी गीतसंगीतमा लागे । सबैले चिन्ने हुँदा कलाकारितामा लागेको भनाई उनको छ । रहरका लागि उनले म्युजिक भिडिओमा निर्देशन देखि अभिनय समेत गरेका छन् । तर उनलाई बढी सन्तुष्टि भने गीत लेखन र संगीतमा नै मिल्छ ।
सुरुवात देखि नै उनलाई परिवारको सहयोग समेत मिल्यो । बुवाआमा, श्रीमती, सानीमा, भाईबहिनी सबैको साथ छ उनलाई । अधिकारीको सफलतामा दाजु अर्जुन अधिकारीको समेत ठूलो हात छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कास्कीका उपाध्यक्ष समेत रहेका अधिकारी परिवारको साथ समर्थनले नै आफुले सफलता पाएको बताउँछन् ।
पहिले भन्दा अहिले गीत संगीत क्षेत्र राम्रो बन्दै गएको भनाई उनको छ । व्यवसायिक रुपमा नै राम्रा सर्जकहरुले जिविकोपार्जन गर्न सकिरहेका छन् । गीत लेखेर नै पेट पाल्न सक्ने वातावरण बनेको अधिकारी बताउँछन् ।
भन्छन्,“मान्छे बढी महत्वाकांक्षी भयो भने जुनसुकै पेशामा लागेर पनि सन्तुष्ट हुन सक्दैन । अप्ठेरो नभएको होइन छ तर अप्ठेरोलाई चिर्दै अगाडि बढियो भने सहज हुने हो ।”
खोली दोभान गीतबाट चर्चा कमाएका अधिकारी पोखरामा नै बसेर व्यवसायिक रुपमा नै गीत लेखन तर्फ लागिरहेका छन् । उसो त रेकर्डिङका सबै काम उनी काठमाडौं नै गर्ने गर्छन् । चलेका कलाकार सबै काठमाडौं भएको र अहिले सबै सँग सम्बन्ध राम्रो भएकाले पनि उनलाई रेकर्डिङमा सहज भएको छ । भन्छन्,“गीतकार बन्न काठमाडौं नै जानुपर्दैन । पोखरा बसेर पनि राम्रा सिर्जना गर्न सकिन्छ । गायक र संगीतकार भन्दा गीतकारले काठमाडौं बाहिर आफ्नै थलोमा बसेर पनि सिर्जनामा निरन्तरता दिन सक्छन् ।”
सर्जक जरा मुनि जति रहन्छ त्यति महत्व हुने भनाई उनको छ । जरा बलियो भएनै रुख बलियो हुने उनी बताउँछन् ।
लोकदोहोरी गायिका देवी घर्तीले गाएको “अन्तै नाता जोड्यौ भने सानु…” बोलको गीत सिआरबीटी पिआरबीटीका समयमा चलेको दाबी अधिकारीको छ । तर पछिल्लो समय भने “च्याप्पै पर्वते माया…” बोलको गीतलाई अत्याधिक रुचाइएको उनी बताउँछन् ।
उसो त दिपक अधिकारी विगत ८ वर्षदेखि संचार क्षेत्रमा पनि आबद्ध छन् । स्थानीय र केन्द्रीय स्तरका मिडियामा उनले काम गरिसकेका छन् । संचार क्षेत्रमा लगानी उनको रहेता पनि कलाकारितालाई भने प्राथमिकता साथ अगाडि बढाउने लक्ष्य उनको छ । गीतसंगीत क्षेत्रबाट उनलाई सन्तुष्टि मिल्छ ।
