काठमाडौं :
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरलाई डिजिटल राइट्स खरिद गरेको कम्पनी जी–२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
टिजरमा पछिल्लो समय काठमाडौंमा बस्ने मान्छेको सपनालाई फिल्ममार्फत देखाउन खोजिएको छ । दुइ परिवारकाबीच काठमाडौंमा घर किन्न संघर्ष गरिरहेको देख्न सकिन्छ भने कतिपयले आफ्नो घर भए लुकाउन बाध्यात्मक परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
सुरक्षा पन्त,दयाहाङ राई, विपिन कार्की,वर्षा राउतको मुख्य भुमिका रहेको फिल्ममा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतको पनि अभिनय रहेको छ । सार्वजनिक भएको टिजर १ मिनेट ५८ सेकेन्ड छ ।
महेश दवाडीको कथा तथा पटकथा रहेको यो फिल्म कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको हो । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता युवराज कार्की रहेका छन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । फिल्ममा सिंगे लामाको कथा,शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।
