पोखरा /
गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका डोबाटे विकको नाम अन्तिममा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए । मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्धन पोखरेलले राजनितीमा ल्याएका थिए । २०३६ साल यता सक्रिय राजनीतिमा लागेका डोबाटे विभिन्न राजनीतिक घटनाक्रमका साँक्षी बसे । एकले अर्कालाई खुइल्याउने राजनीतिको साँक्षी बसेका डोबाटे गत शुक्रबार आफै पनि त्यसको सिकार बने । राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डोवाटेलाई मन्त्री नबनाइएको चर्चा छ । रामचन्द्र पौडेल गुटकै भएको कारण उनी मन्त्री बन्न पाएनन् । उनै डोबाटेसँग पछिल्लो घटनाक्रमको बिषयलाई लिएर गरिएको कुराकानीको सम्पादित अंश :
गण्डकी प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरेको शुक्रबारको क्षणलाई कसरी सम्झनु भएको छ ?
यो क्षण मेरो लागी निकै दुखद रह्यो । शुक्रबार जे भयो मेरो लागि मात्र भन्दा पनि यो सिंगो दलित समुदायमाथि गरिएको उपेक्षाको रुपमा लिनुपर्दछ । एउटा न्यून वर्ग र समुदायबाट निरन्तर रुपमा पार्टीमा त्याग सर्मपण गरिरहँदा अवसर पाउने बेलामा विमुख बनाउनुलाई अझै पनि मेरो समुदाय र यो समुदायबाट प्रतिनिधित्व गर्नेहरुलाई कसरी हेरिदो रहेछ भन्ने राम्रोसँग अनुभुत गरेको छु । झण्डै ४२ बर्षसम्म राजनीतिक रुपमा सक्रिय भइरहँदा यो पल निकै पीडादायी र अन्याय पुर्ण रहेको ठान्दछु ।
आफुलाई पार्टी र सहकर्मीबाट धोका अर्थात अन्याय भयो जस्तो लागेको छ होलानी ?
मैले भनि सके नि, म एउटा ब्यक्तिलाई गरिएको छल मात्र हैन यो समुदायमाथिको अन्याय हो भनेर । मलाई त के नै हुन्थ्यो होला र ? केही दिन गाडीमा झण्डा हल्याएर हिडेको देख्नु हुन्थ्यो तर समुदाय र यो प्रदेशका विकासको पक्षमा मैले गर्न सक्ने योगदानबाट अलग्याउने काम त अन्याय नै हो नी । यो घटना समीक्षा गर्नुपर्ने विषय पनि हो जस्तो लाग्छ ।
पुर्वनिश्चित मन्त्रीहरुकै लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो जस्तो लाग्छ ?
यो विषयमा त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन । सवैलाई थाहा भैसक्यो । यस बीचमा जति पनि जानकार र मिडियाले सबैकुरा बाहिर ल्याइसकेको छ । प्रमुख विषय म माथि पुर्वाग्रह राख्ने साथीहरु र पार्टी भित्र मौलाएको गुटउपगुटको असर हुनसक्छ ।
शुक्रबार भएको घटनालाई पार्टी भित्र नै रामचन्द्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्नेहरु पनि छन् नि ? यो विषयमा तपाईको धारणा के छ ?
पार्टीमा रामचन्द्र पौडेलको जुन किसिमको छवि छ त्यसका विरुद्ध लाग्नु त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु । किन त्यस्तो अस्वस्थ खेल खेल्नुपर्याे ? यो जरुरी पनि छैन । म त पार्टीमा आफ्नो योगदानलाई सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ । यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो । मेरो स्वाभावले पनि यो सब हुन दिदैन्थ्यो । म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसे त्यस्तो छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन ।
निष्ठाको राजनीति गर्नेहरुलाई समुदाय र आर्थिक पक्षले पनि असर पर्दाे रहेछ भनेर बुझ्न सकिन्छ ?
त्यस्तो हुनुहुदैन तर यस्तो भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । निष्ठाको राजनीति गरेँ । पार्टीले योगदानको सम्मान गरेन तर एक दिन यो विषयले पार्टी पंक्तिमा स्थान पाउँछ । बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरु पार्टीमा हावी हुने हो भने हाम्रो पार्टी नेपाली काँग्रेसमात्र होइन कुनै पनि पार्टीमा लगनशिल भएर लाग्ने नेता कार्यकर्ताको अभाव हुनेछ । अन्तत पार्टीको भविष्य रहँदैन । अब मेरै कुरा गर्ने हो भने पनि न्यून वर्गीय समुदायबाट राजनीतिमा लागेको, त्यस्तो सम्पन्न परिवारबाट पनि हैन फेरि चरित्र पनि बलमिच्याई गर्ने स्वाभाव म मा छैन र यो पक्ष राजनीतिका लागि नकरात्मक हो भन्ने पनि मलाई लाग्दैन ।
राजनीतिमा बेला बखत हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्छ ?
पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्ता घटनाले निम्त्याउने हो । पार्टी सञ्चालनका लागि सबैखाले स्वभाव चरित्र भएका नेता कार्यकर्ता हुनुपर्दछ तर नेतृत्वमा पार्टीको साख जोगाउनका लागि उचित निर्णय गर्नसक्ने क्षमता हुनुपर्दछ । यसरी एउटा पक्षले पार्टी र राजनीतिमा प्रभाव देखाउने वा पार्ने विषयले हामी जस्ता कार्यकर्ता तहमा नैरास्यता बाहेक के हुन सक्छ ?
राजनीतिमा अवसर खोसिएको एक पात्र तपाई, अबको दिनमा सरकार र पार्टीमा तपाईको भूमिका कस्तो रहन्छ ?
पार्टी भित्र देखिएको यस किसिको क्रियाकलापको अन्तर विरोध गर्नुपर्ने आवश्यकता छ । त्यस्तो सार्वजनिक रुपमा विरोधका भाषा र कार्यक्रमहरु गर्नु एक कार्यकर्ताका लागि उचित होइन । पार्टीले जुन तरिकाले बोलेको छ सोही कुरालाई व्यवहारमा देखाउन जरुरी छ । दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितीलाई टार्न प्रदेश सरकार जे बोलेको छ त्यो हुनुपर्दछ । यो विषयमा म एक पार्टीका सदस्य तथा प्रदेश सभा सदस्य भएको नाताले बोलिएका कुरा र पार्टीको सिद्धान्त विपरित भएका कार्यहरुका सदनबाटै पनि विरोध गर्नेछु ।
तपाईप्रति शुभेच्छा राख्ने शुभेच्छुकहरुलाई अन्तिममा के भन्न चाहानुहुन्छ ?
खास त्यस्तो भन्नुपर्ने केही छैन, तर शुक्रबारको घटना पछि म प्रति देखाउनुभएको चासो, चिन्ता र शुभेच्छाले मलाई उर्जा मिलेको छ । यति लामो राजनीतिक यात्रामा मैले त्यस्तो खास प्रभाव नपारेको हुँला, अहिले मेरो पक्षमा जनभावना सकरात्मक रहेको पाएँ । म प्रति देखाउनुभएको चासोको लागि तपाईहरु सहित विशेष गरि मिडियालाई धन्यवाद ब्यक्त गर्न चाहान्छु ।
