काठमाडौं ।
गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतराज चौधरीलाई निलम्बन गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार उनलाई मन्त्रालयले मंसिर १२ गते गत शुक्रबार देखि लागू हुने गरी निलम्बन गरेको हो।
‘प्रहरी आचरणविपरीत काम गरेको भन्दै उनलाई निलम्बन गरिएको छ,’ उनले भने।
डिएसपी चौधरी मंसिर ९ गते राति सम्पर्कविहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक डिएसपी प्रतीक विष्टको नेतृत्वको टोली खटाएको थियो।
अर्को दिन बिहान उनी आफैं सम्पर्कमा आएका थिए।
उनीमाथि छानविन गर्न प्रदेशका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाको नेतृत्वमा छानविन समिति गठन भएको छ।
उक्त समितिमा चार जना सदस्यहरू रहेको एसएसपी सिंहले बताए।
उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। चौधरी इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका इन्चार्ज थिए। त्यस घटनापछि उनलाई प्रदेश कार्यालयमा तानिएको थियो।
