सुचना, समाचार र मनोरन्जन

गुरुको स्वतः स्थायी चेलाको विरोध

सम्पादकीय/

मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापक स्वत: स्थायी गर्ने निर्णयले विरोधको बतास सुरु भएको छ, जो आफैमा आत्मघाती कदम हो । यसले प्राज्ञिक र शैक्षिक क्षेत्रमा कतिसम्म वेथिति छ भन्ने कुराको पुष्टी गर्छ । चेतना, विवेक, ज्ञान, चिन्तन, मनन र बुद्धि विकास र निर्माण गर्ने थलो नै विसङ्गतिको बाटोमा लाग्दा गन्तव्य अँध्यारो देखिन्छ ।  विश्वविद्यालयमा कार्यरत ४ सय ८० करार प्राध्याकपकलाई स्वतः स्थायी गर्नु त्रिवि सेवा आयोगको मर्यादा विपरित छ ।त्रिवि सभा वैठक बालुवाटारमा बस्यो । प्रधानमन्त्री शेरबहादुर देउवाको हुकुम प्रमाङ्गी र ठाडो आदेशमा स्वतः स्थायी गर्ने निर्णय सार्वजनिक भयो ।

प्रधानमन्त्री देउवा त्रिविका कुलपति हुन् । उनले दिएको ठोडा निर्देशन त्रिवि सभाले ताली ठोकेर सर्वसम्मतिले पास गरेको छ । यो देउवाको अनुचित दवाव हो । उपकुलपति धर्मकान्त बाँस्कोटा, रजिष्टार पेशल दाहाल, रेक्टर शिवलाल भुसाल देउवाका अर्दली सावित भए । हुप्रको कुनै जवाफ हुँदैन् भन्ने सावित गरे । प्रतिवाद गर्ने हैषियत कसैले देखाएनन् केवल मालिक भक्ति प्रदर्शन गरेर विश्वविद्यालयको मान मर्दन गरे । सभामा भाग लिएका विद्वान् वर्गले विमतिको एक शब्दसम्म उच्चारण गर्ने हैषियत राखेनन ।

यसले त्रिविको हालत कस्तो रहेछ भन्ने प्रमाणित गर्दछ । आन्तरिक प्रतिस्पर्धा पनि केवल देखाउने दाँत मात्रै हो सामान्य औपचारिकताको नजिर हो । सामान्य पास भयो पुग्यो, सफल हुनु पर्दैन् । यस्तो वेथितिले दक्ष जनशक्तिलाई सेवा प्रवेशमा तगारो लगाएको छ ।
विश्वविद्यालयमा १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकका आफ्नै कहर र दुःख छन् । आंशिकले ज्याला समेत पाएका छैनन् । यसरी करारमा नियुक्त भएका प्राध्यापक राजनीतिक दलको फेरो समाएर जस्केलाबाट प्रवेश गरेका हुन् । योग्यता, क्षमता र दक्षताको कसीमा खरो सावित नभइ भर्तीकेन्द्रबाट नियुक्ति पाएका प्राध्यापकले पनि आन्तरिक प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गरेर लागेको आरोप खण्डन गर्ने ल्याकत पनि राख्नुपर्छ ।

करारले पनि खुल्ला प्रतिस्पर्धामा सहभागी हुन इच्छा जाहेर गर्नुपर्छ । स्वतः स्थायीको माग गर्नु अल्छीको उपाय मात्रै हो । प्रतिस्पर्धाबाट आएको हुँ भन्ने स्वाभिमान पनि कायम रहन्छ र विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग पनि पुग्छ ।विश्वविद्यालयले पनि करारलाई पटकपटक स्थायी हुने मौका दिएको हो । तर फेल भएपछि गरिने रोदनको कुनै अर्थ छैन् । करार र आंशिकले खुल्ला विज्ञापन नगर्न दवाव दिनु आफैमा मोलाहिज्जा हो ।

British college

विश्वविद्यालयको आङ्गिक क्याम्पसमा भर्ती भएका १ हजार ९ सय प्राध्यापकलाई कुनै मापदण्ड पूरा नगरी दर्जानी चिह्न दिनु त्रिविको लागि घातक हो । यसरी आन्तरिक प्रतिस्पर्धाका नाममा स्वतः स्थायी गर्ने परिपाटीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविलाई निर्देशन दिएको थियो । तर पालन भएन । आयोगले त्रिविजस्तो गरिमामय संस्थालाई पत्र काटेर निर्देशन दिनु आफैमा लाजको पसारो हो । डिग्री हाँसिल नगरी त्रिविको कुनै पनि पदमा पुगिदैन । तर पिएचडी होल्डर निरिह सावित भए ।

खुल्ला प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक लिने त्रिविको नियमलाई बर्खिलाप गर्नु फेल हुनेलाई स्वतः प्राध्यापकको पगरी गुथाउनु हो । २०६२÷०६३ सालको आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले १ हजार ३ सय ८० आंशिक प्राध्यापकलाई करार घोषित गरिदिए विशेष आन्तरिक प्रतियोगिताको हवला दिएर ९ सय स्थायी भए । ४ सय ८० फेल भएकालाई देउवाले मौका दिन चाहेको देखिन्छ । १ हजार ४ सय २० आंशिकलाई स्वतः करारमा नियुक्त दिँदा मुलुकलाई १ अर्ब ४ करोड २१ लाख व्ययभार लाग्छ ।

पहिला चोर बाटोबाट आफ्ना मान्छे र कार्यकर्तालाई त्रिवि छिराउने अनि नियम मिचेर, ठोडो निर्देशनमा स्थायी गर्ने परिपाटीले विश्वविद्यालयलाई पतनको खाडलमा जाक्ने छ । त्रिवि सधैं स्वतः स्थायीको महारोगले थलिने छ । स्थायी हुन साथ नुनको सोझो गर्न प्राध्यापकहरू राजनीतिक दलको झण्डा बोकेर जुलुशमा निस्कने छन् । कति त राजनीतिक पार्टीका निर्वाचित पदाधिकारी छन । कि पढाउ कि राजनीति गर भनेर गुरुहरूलाई चेलाहरूले सवक सिकाउन अपरीहार्य भएको छ ।

आफैलाई पढाउने गुरुको स्वतः स्थायीलाई खारेज गर्नुपर्ने माग राख्दै चेला र विद्यार्थी संगठनले ताला लगाइसकेका छन् । योग्यहरूलाई पाखा पारेर फेल भएका प्राध्यापकलाई स्थायी गर्नुले जग हसाइको काम हुनेछ । यस्तो अव्यवहारिक वेथितिले त्रिवि अझ् शिथिल हुने निश्चित छ । विज्ञ टोलीले हेड हन्टिङ गर्नुको सट्टा फेल भएकालाई मौका दिनु गुणस्तरको कसीमा तल झर्नु हो ।

विश्वविद्यालयले आफ्नो निर्णयलाई बदर गरेर त्रिवि सेवा आयोग मार्फत् ताजा र दक्ष प्राध्यापकको खोजी गर्नुपर्छ । प्राज्ञिक मर्यादाको सामान्य ख्याल गरेर आफ्नो छविलाई उज्यालो बनाउनुको विकल्प छैन् । आयोगले आफ्नो कार्यविधि बनाएर कति संख्यामा पदपूर्ति गर्ने हो त्यसको खाका बनाएर प्रतिस्पर्धा मार्फत् योग्यको छनौट गरेमा नै शिथिल शैक्षिक गुणस्तर कायम हुन्छ । झ्यालबाट छिरेर करारमा नियुक्ति लिएकालाई स्वतः स्थायी गरेर ढोकाबाट कक्षाकोठामा पढाउन पठाउँदा विद्यार्थीले दिने प्रतिक्रियालाई पनि ख्याल गर्नुपर्छ । विश्वविद्यालय सुधार र शैक्षिक गुणस्तर कायमका लागि पनि उम्दा प्राध्यापकको आवश्यकता रहन्छ ।

अध्ययनसँगै गरिने अनुसन्धानले त्रिविको गरिमा बढ्छ । चोरीचाकरी र अल्छी पाराले प्राज्ञिक उन्नयन हुँदैन यसले मुलुकलाई झन्झन् वर्वादीतर्फ लैजान्छ । त्रिविको छविमा गम्भीर प्रश्न उठान हुनेछ । त्रिभुवन विश्वविद्यालय कुनै राजनीतिक दलको पेवा होइन । नेपाल र नेपालीको ज्ञान आर्जन गर्ने थलो हो । पतनको बाटो होइन प्रगतिको मार्गमा त्रिवि लाग्नु आजको आवश्यकता हो । तालाबन्दी, धर्ना, हड्ताल, नाराबाजी, जुलश, , आमरण अनसन, कालोमोसो शैक्षिक जगतका लागि सुहाउने शब्द होइनन ।

कमेन्ट्स
Loading...