सुचना, समाचार र मनोरन्जन

संविधानको शोषण

सम्पादकीय /

समाज वर्गीय छ, राजनीतिमा धु्रवीकरण । हुनेले नहुनेलाई सधैं शोषण गरिरहेको छ । शोषणको विधि र प्रक्रिया आआफ्नै प्रकारको हुन्छ । शासकी स्वरूप र राजनीतिक प्रणाली स्थापनाका लागि मुलुकले पटकपटक आन्दोलन, संघर्ष र क्रान्ति गर्दै आयो । यसैको उपज नेपाली जनताले संविधान पाए । संविधानको शोषण गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भङ्ग गर्दा नागरिक दङ्ग परेका छन् ।

दुई तिहाईको शक्तिशाली सरकार पार्टीको आन्तरिक किचलोका कारण लथालिङ्ग र भताभुङ्ग भएको छ । ‘ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प छैन्’ भन्ने हवाला दिए पनि पटकपटक नेताले चुनाव जित्दा देश भने हारिरहेको छ । जनताका सपना र चाहना काँचको ऐना झै झ¥यामझुरूम फुटेको छ । चुनावपछिका चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषय झन् जटिल छ ।

आधिकारिकताको दावीमा नेकपा तानातानको स्थितिमा छ । आरोप प्रत्यारोपको बीउ सतविज छरेसरी सडकमा पोखिएको छ । केपी ओलीलाई कारवाही गरिएको घोषणा गरिएको छ । ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट वर्खास्त गरेको जनाएका छन् । राजनीतिक संस्कार पूर्ण रूपमा स्खलित हुँदा चरित्रमा ह्रास आएको छ । ओलीको असंवैधानिक कदमले आलोचनाको बढायो । अवसरवादी चरित्र हावी हुँदै गयो । सर्वोच्च अदालतले गर्ने फैसला र निर्वाचन आयोगले दिने मान्यता अझै अन्यौलमा छ । प्रभाव र दवावका लागि सत्ता र सडकले औंला देखाएको छ ।

जनताले चुनेका प्रतिनिधिले विधि र विधानका लागि वहस गर्नुपर्ने थलो विघटन हुँदा सडक आन्दोलनको माहोल देखियो । समाजवादको सपना देखाउँदै आएको नेकपा बदाम छोडिए झैं दुई समूहमा विभाजन हुँदा प्रतिपक्ष दलमा पनि विभाजनका रेखा कोरियो । आन्दोलन वा निर्वाचन कता जाने भन्ने विषयममा प्रष्टता आएको छैन् ।

आफ्नो सनकका भरमा संसद विघटन गरेका ओलीले नागरिक समाज, न्यायधीश, अधिवक्ता, सञ्चारकर्मी, अदालत, आयोग कसैलाई पनि छोडेका छैनन् । ओलीको अभिव्यक्तिमा रोष, आवेग र धम्कीपूर्ण अहम् प्रतिविम्बत हुन्छ । यसले स्वेच्छाचारीपनको छनक दिन्छ । शासकहरू गन्जागोल र अस्तव्यस्ततामा नै शासन गर्न चाहन्छन् । संविधानको सक्दो शोषण गरेर आफ्नो स्वार्थको सत्ता टिकाउनु उनीहरूको एकमात्र ध्येय हो ।

राजा ज्ञानेन्द्रको कदमका विरुद्ध पनि नागरिकहरू सडकमा निस्केका थिए । पत्रकार सम्मेलन गरेर ‘जनताको नासो जनता मै सुम्पिएको’ घोषणा गरी उनी मोटर चढेर दरबार छोडी हिडे । राज्य व्यवस्थालाई अक्सिजन दिने संविधानलाई च्यातचुत पारेर शासन गरिरहन्छु भन्ने हठले नेपाली समाजलाई नोक्सान पु¥याउने निश्चित छ । कोरोनाले ग्रसित समयमा कालो माक्स र स्वाभिमानको प्रतीक कालो टोपी लगाउन प्रतिबन्ध गर्नु यसैको उपज हो ।

नेपालको संविधानमा मनोगत धारा छैन् । लहड चलेको बेला जे पनि गर्न मिल्ने । शक्ति पृथकीकरणका लागि नै हो कार्यपालिका , व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरिएको । संविधानको व्याख्या आसेपासेले होइन सर्वोच्च अदालतले गर्ने हो । संविधानको हुर्मत लिएर आफ्नो मनोबल बढाउनु मात्रै राजनेता हुनु होइन । सात दशकको संघर्षले बनेको संविधान आफैमा एउटा शास्त्र हो । शास्त्र विपरित राजनीतिक पण्डितहरू चल्दा मुलुक दूर्घटना तर्फ धकेलिएको छ ।

संविधानले प्रतिनिधिसभाको समयावधिको अभिलेख गरेको छ । यो दलको पैत्रिक सम्पत्ति होइन । संविधान भोटो जात्रामा देखाइने कुनै टालो होइन । संविधानको मर्म विधिको शासन हो । संविधानमा संविधान च्याने कुरा लेखिएको छैन् ।

संविधानको धारा कतिले प्रतिनिधिसभा विघटन गर्ने अधिकारी दिएको छ भनेर सामान्य नागरिकले प्रश्न गर्दा दिने उत्तर के हो ? नागरिक कोरोनाको भ्याक्सिन चाहन्छन् कि निर्वाचन ? छनौट गर्ने अधिकार दिनुपर्छ कि पर्दैन ? यस्ता सवालहरूमा चिन्तन नगरी संविधानका पाना जलाएर आगो ताप्नु केवब ‘मुतको न्यानो’ मात्रै हो ।

नेकपाको घर झगडा केवल आन्तरिक मामिला मात्रै रहेन । अन्तरद्वन्द्वले पार्टी फुट्ने, संसद विघटनसम्म हुने परिस्थितिको सिर्जना ग¥यो । सार्वभौम देशका जनता मालिक हुन्छन् तर नेताले दासको व्यावहार गरेको छन् । संविधान चोरबाटोबाट आएको होइन । जनताको लामो संघर्ष र बलिदानबाट लेखिएको हो । प्राप्त उपलब्धिको रक्षाका लागि सचेत हुनुपर्ने बेला खतरा बढेर गएको छ । ओली महान् नेताका रूपमा रहने सम्भावना थियो तर आफ्नै कदमले उनको कद घटाउने निश्चित छ ।

समृद्धिको नारा र राष्ट्रवादको जामा च्याएको घडी सबैलाई गाली गरेर सत्तामा टिक्नु अधिनायकवादी फासिस्ट चरित्र हो । राज्यशक्तिको दुरुपयोग गरेर दुईचार वर्ष शासन गर्दैमा ओली अजम्बरी हुँदैनन् । संविधानको शोषण गरेको दाग र कलङ्क इतिहासमा रहिरहने छ ।

कमेन्ट्स
Loading...