सुचना, समाचार र मनोरन्जन

सङ्क्रमण खेलाँची होइन संवेदनशील बनौं

सम्पादकीय /

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को नयाँ भेरिएन्टले आक्रमक रूप लिँदा विश्व मानव समुदायलाई आतङ्कित बनाएको छ । भारतमा कोरोनाको ग्राफ बढ्दा खुल्ला सिमानाका कारण नेपाल अछुतो रहन सकेन । सङ्क्रमितको सङ्ख्या र मृत्यु दर थेग्नै नसक्ने गरी उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमणको त्रासदीलाई काबुमा राख्न नसक्दा स्थिति भयग्रस्त बनेको छ ।

लापर्वाही जनस्तरदेखि सरकारी स्तरसम्म यथावत नै छ । स्वास्थ्य मापदण्डको पालना गर्न उर्दी लगाउने सरकार आफै ठाउँठाउँमा चुकेको छ । शिल्यान्यास, उद्घाटन र कार्यक्रममा भीडभाड गर्नुमा सरकार रमाउँदा भुईंतहसम्म प्रभावकारी सन्देश गएको छैन् । कामभन्दा भाषण गर्ने आदत यथावत छ, सोचमा परिवर्तन नहुँदा महाव्याधीलाई कम आँकेको देखिन्छ । सरकारी निवास वालुवाटारमा दिनहुँ रमिता र तमासा लागिरहन्छ । जनतालाई घरभित्रै बस्न आग्रह गर्ने सरकार किन भीडभाडमा रमाउँछ ? जोखिमका बेला सचेतनाका कामहरू प्रभावकारी बन्न सकेनन् । सजिलो उपाय केवल निषेधाज्ञा र बन्दाबन्दीलाई मानिएको छ ।

सरकारी धनमा रजगज गर्नेलाई सर्वसाधारणको स्वास्थ्य, मुलुकको माया छैन केबल सत्ता प्रिय बनेको छ । मुलुकको स्वास्थ्य सेवा प्रवाह, भौतिक संरचना र उपकरण चाहेजस्तो छैन् ।अस्पतालमा बेड र अक्सिजनको चरम अभाव भएको समाचार आइरहँदा सङ्क्रमित सिधै मसानघाटको प्रतीक्षामा छन् ।

भौतिक दूरी कायम राख्ने, माक्स लगाउने, साबुन पानीले हात धुने, स्यानीटाइजर लगाउने, भीडभाडबाट टाढै रहने सामान्य हेल्थ प्रोटोकललाई ठूलावडाले वेवास्था गर्दा सर्वसाधरणमा कोरोना केही होइन रहेछ कि जस्तो भान परेको छ । कोरोना उपचारको डेडिकेटेड हस्पिटलको हवाला केवल भाषणमा मात्रै सीमित भयो । अब नागरिकले ज्यान जोगाउन सरकारको मुख ताकेर हुँदैन आफै सचेत बन्नुपर्ने अवस्था आएको छ । सङ्क्रमणलाई खेलाँची नठानी संवेदनशील बन्नु समयको माग भएको छ ।

नेपाललाई भारतले पूर्व, पश्चिम, दक्षिण तीनतिरबाट घेरेको छ । भारत विश्वको सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने देशमा पहिलो पङ्क्तिमा रहेको छ । रोटी बेटीको सम्बन्ध रहेको भारतसँग नेपालको खुल्ला सिमाना छ । घरदेश फर्कन चाहने नेपाली हुलका हुल नाकामा लामबन्द हुँदा परीक्षण गर्ने परिपाटी नै भद्रगोल बनेको छ । सीमानामा परीक्षण केन्द्र, क्वारेन्टिन, होल्डिङ सेन्टर र उपचारको लागि अस्थायी अस्पतालको बन्दोबस्ती गर्न सरकारले जाँगर नदेखाउँदा कोभिड रोकथाम गफमै सीमित भएको छ ।

सङ्क्रमण रोकथामामा सरकारको ढिलासुस्ती र प्रधानमन्त्रीको अक्रमन्यता कारक तत्व बनेको छ । उर्दी लगाउनेले नै उर्दी पालना गरेन भने त्यसको के औचित्य हुन्छ ? नागरिकहरू धरहरा र भ्यूटावर होइन उपचार खोजिरहेका छन् तर सरकारको चासो र चिन्ता जनताको जीऊ ज्यान बचाउने तर्फ छैन् । सरकार संवेदनशील नहुँदासम्म नागरिकले कोरोनाको त्रासदीबाट मुक्ति पाउने छैनन् ।

खुल्ला नाकामा थोरै सतर्कता मात्रै अप्नाउँदा कोरोनाको डढेलो गाउँसम्म पुग्न रोकिन्छ यस तर्फ मुलुक र नागरिकप्रति जिम्मेवार बन्न सरकारले आनकान गर्नु हुँदैन् । स्वास्थ्य क्षेत्रमा सङ्कट देखिएको छ । भयावह परिस्थितिलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर विज्ञसँग आवश्यक छलफल र परामर्श गर्दा सर्वज्ञानी प्रधानमन्त्रीलाई घाटा हुँदैन न त उनको प्रतिष्ठामा नै आँच आउँछ ।

स्वास्थ्य संरचना लथालिङ्ग छ । सरकारले आफ्नो उपस्थिति देखाएर नागरिक तहसम्म अनुभूति दिनुपर्छ । राहत दिन नसकेपनि भ्रष्टाचार रोक्दा सरकारको इमान्दारिता झल्किन्छ । संकट र सास्तीमा साथ दिँदा विगतको त्रुटीलाई जनताले क्षमादान दिनसक्छन् ।कोरोनाको शृङ्खला तोड्न सरकारले प्रभावकारी कदम अविलम्ब चाल्नु पर्छ । आवश्यक ठहर भएमा मात्रै निषेधाज्ञाको कडा उपाय अप्नाउन चुक्नु हुँदैन् । हतारमा लकडाउन गर्नु गलत सावित भएको विगतबाट पाठ सिक्नु पर्छ ।

सयौं किलोमिटर पैदल हिँडेर घरतर्फ लागेका नागरिक, टुँडिखेलमा भात पर्खेर बसेका जनताको विजोग यसपटक दोहोरिनु मनासिव छैन । जात्रा र तमासामा भाषण गरेर सङ्क्रमण रोकथाम हुँदैन झन् बढ्छ भन्ने चेत खुल्न आवश्यक छ ।

लकडाउनको मूल्य चर्को परेको यथार्थलाई विर्सन मिल्दैन । गल्तीबाट पाठ नसिक्ने सरकार मूर्ख ठहरिन्छ । संकटबाट पार पाउन नागरिक अझ् सचेत बन्नुको विकल्प छैन् । कोरोनाको आगोले युवाहरूलाई छोयो भने त्यसघडी राज्यले ठूलो मानवपूँजी गुमाउनु पर्नेछ । पशुपतिनाथको भरोसामा स्वास्थ्य क्षेत्र चलिरहेको छ ।

मौजुदा स्वास्थ्य सेवा, उपलब्ध साधनस्रोतले सङ्क्रमितको भार थाम्न नसक्ने अवस्था आइसकेको छ । सघन उपाचार कक्ष र भेन्टिलेटर चाहेजति उपलब्ध छैन् । कोरोना सङ्क्रमितलाई भ्याक्सिन भन्दा पनि अक्सिजन पहिलो शर्त भएको छ जसको अभाव बजारमा देखिएको छ । कोरोनाले पद, प्रतिष्ठा र पैसालाई चिन्दैन न त सत्ता र शक्तिका भोकालाई चिन्छ । सङ्क्रमणको चपेटामा परेपछि, आफन्त र प्रियजन गुमाउँदाको पीडा जुनीभरका लागि रहन्छ । सतर्कता अरूका लागि होइन आफ्नै लागि हो । समयमै चेत खुल्यो भने बाँचीबस्दा संसार देख्न पाइन्छ । कोरोना मजाक होइन सतर्क र संवेदनशील बनौं ।

कमेन्ट्स
Loading...