पोखरा /
गण्डकी प्रदेशमा सरकारको विस्तारको तयारी गरिएको छ । कांग्रेसले यतिबेला माओवादीको निर्णय कुर्दै छ । सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विहिबार ५ बजेसम्म सरकार विस्तार हुने बताएका छन् । मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तारमा अब ढिलाई गर्न नसकिने र कुराई पनि धेरै भएको उल्लेख गरेका छन् । उनले माओवादीले मन्त्री बन्नेहरुको नाम दिनेबित्तिकै क्याबिनेट पुरा हुने जानकारी गराएका छन् ।
६० जना सांसद रहेको गण्डकी प्रदेशमा १२ जना सांसद मन्त्री बन्न पाउनेछन् । नेपाली कांग्रेसले माओवादी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्दा जसपालाई दुई तथा माओवादीलाई ४ मन्त्रालय दिने गरी सम्झौता गरेको थियो । जसमध्ये माओवादीकी मधुमाया अधिकारी र जसपाका हरिशरण आचार्यले मन्त्रालयको जिम्मेबारी पाइसकेका छन् । अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेकी छिन् भने आचार्यले भौतिक पूर्वाधारबाट फुटेको उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मा सम्हालेका छन् । यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) सँग पनि कांग्रेसको मन्त्री बनाउने शर्तमा सम्झौता भएको थियो । सोहि अनुरुप उनले तेस्रो पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएका छन् । कांग्रेसले मुख्यमन्त्री र शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी सम्हालेको छ । सामाजिक विकास मन्त्री सरकारका प्रवक्ता समेत रहेका कुमार खड्का भएका छन् ।
यसरी जेठ २९ गते मुख्यमन्त्रीका रुपमा सपथ खाएका पोखरेल नेतृत्वको सरकारले अहिले सम्म प्रदेशमा ५ मन्त्रालयको मात्र टुंगो लगाएको छ । अरु मन्त्रालयको भागबण्डा अझै सम्म मिल्न सकिरहेको छैन । जसपाले आफुलाई दुई मन्त्रालय चाहिने भन्दै अडान छोडेको अवस्था छैन । यता कांग्रेसले जसपासँग गरेको सम्झौता तोड्नुपर्ने स्थिति देखिएको छ । जसपालाई एउटा मात्रै मन्त्रालय दिने, आफुसँग ५ मन्त्रालय राख्ने, माओवादीलाई ४ मन्त्रालय र स्वतन्त्र सांसद मनाङेलाई एक मन्त्रालय गरी ११ जनाको मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा कांग्रेस छ । तर जसपाले आफुलाई दुई मन्त्रालय नदिए सरकारमै सहभागी नहुने चेतावनी दिँदै आएको छ ।
माओवादीबाट भने को मन्त्री बन्ने अझै टुंगो लागिसकेको अवस्था छैन । केन्द्रलाई जिम्मेबारी दिए पनि केन्द्रले उत्तै मिलाउनुहोस् भन्दै अभिव्यक्ति दिएको छ । जानकारीमा आएअनुसार बागलुङका चन्द्रबहादुर बुढा, स्याङजाका दीपक घर्तीमगर, दीपक कोइराला र आशा कोइरालाको नाम अघि आएको छ । यता कांग्रेसमा भने स्याङजाका मेखलाल श्रेष्ठ, तनहुँका दोबाटे विश्वकर्मा, बागलुङका मणिभद्र शर्मामा मन्त्री बन्ने सम्भावना अधिक छ । उसो त कास्कीका विन्दुकुमार थापा, स्याङजाका भाग्वतप्रकाश मल्ल र गोरखाका प्रकाश मल्ल पनि मन्त्री बन्न दौडधुप गरिरहेका छन् । महिला सांसदलाई पनि एक मन्त्रालय भन्दै कांग्रेसका नेतृहरु गोरखाकी मनकुमारी गुरुङ, पर्वतकी ललितकला गुरुङ र नवलपुरकी ओमकला गौतम समेत मन्त्री बन्ने दौडमा छन् । जसपासँग काँग्रेसको पूर्वसहमति भएको खण्डमा जसपाका धनमाया लामा पोखरेल समेत मन्त्री बन्नेछिन् ।
