काठमाडौं :
नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’मा गरिमा शर्माको प्रवेश भएको छ । टिकटक हुँदै म्यूजिक भिडियोमा समेत चर्चामा रहेकी शर्मालाई निर्माण टिमले फिल्ममा लिएको हो । उनको यो फिल्म दोस्रो हो ।
यस अघि उनले फिल्म ‘लण्डन टू पेरिस’बाट नायिकाको रुपमा डेब्यू गरेकी थिइन् । जुन फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।फिल्म ‘ह्रस्व दीर्घ’मा गरिमालाई भित्राइएको यस फिल्मकी निर्मात्री समेत रहेकी नीता ढुंगानाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी हुन् ।
यस फिल्ममा नीता र उनका श्रीमान् हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ । भोजपुरी फिल्म निर्देशन चन्द्र पन्तले निर्देशन गर्न लागेको यस फिल्ममा साउथ इन्डियन फिल्मका लोकप्रिय कलाकारहरु ब्रह्मानन्दम, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र चर्चित कमेडी कलाकार अली यस अघि नै अनुबन्ध भइसकेका छन् । साथै नेपाली कलाकारहरुमा विपना थापा, सरोज खनाल, सलोन बस्नेत, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय रहनेछ ।
७ करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको फिल्मको सुटिङ नेपाल र भारतको विभिन्न स्थानमा हुनेछ । फिल्मको छायांकन आगामी फेब्रुअरी १ देखि हुनेछ ।
