सुचना, समाचार र मनोरन्जन

गौरी मल्लको ‘धिन ताका नाका धिन’ मार्फत गायनमा पुनरागमन

काठमाडौँ :

नेपाली अभिनेत्रीहरुमा छुट्टै पहिचान बनाएकी गौरी मल्ल लामो समयको अन्तरालमा गायन पनि फर्किएकी छन्। उनले गायिकाको परिचयलाई पुनःजीवित पार्दै मंगलबार तीज विशेष गीत ‘धिन ताका नाका धिन’ को भिडियो सार्वजनिक गरेकी हुन्। यस अघि उनले फिल्म ‘भाई’मा अभिनेत्री मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन् । बाल्यकालदेखि गायनमा सौखिन मल्लले दश वर्षअघिसम्म दर्जनबढि गीतमा स्वर भरेकी छन्।

अभिनेत्री मल्लले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडी बढाएपछि उनको गायनमा ब्रेक जस्तै लागेको थियो। तर, मंगलबार उनले शब्द, सङ्गीत र स्वर दिँदै गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट यूट्युब च्यानल समेत शुभारम्भ समेत गरेकी छन् ।

उनी आफैले अभिनय गरेको गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा,समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतले अभिनय गरेका छन्। भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अञ्जु पोखरेल दाहाल म्यूजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा मल्ल आफुले बोलाएका अथिति तथा पत्रकार उपस्थित भएको देखेर निकै उत्साहित र भावुक बनेकी थिइन् । कार्यक्रममा आमालाई समेत निम्त्याएकी मल्लले खुसीका आँसु झारेकी थिइन् ।

उनलाई शुभकामना दिन हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री बसुन्धरा भुषाल, गीतकार करुण थापा, नृत्य निर्देशक बसन्त श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै नयाँ यात्राको शुभकामना दिए ।अभिनेत्री बसुन्धरा भुसालले आफ्नो परिस्थितिले साथ नदिँदा यस गीतमा अभिनय गर्न नपाएको बताईन् । अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतमा अभिनयको लागि तत्कालै राजी भएको बताईन् ।

मल्लले आफ्नो गायन यात्राबारे स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिष्ट डिजे एलएक्सले प्रेरणा दिई आफैलाई गाउन लगाएको बताईन् । उनले आफुमा यसरी गाउन सक्छु भन्ने हिम्मत नरहेको तर सफल भएको बताईन् । उनले अब गायनमा निरन्तरता दिने बताईन् । कार्यक्रममा म्यूजिक भिडियोमा योगदान गर्ने टीमलाई कदरपत्र प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.