सुचना, समाचार र मनोरन्जन

सुनचाँदी चोरीका अभियुक्त पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त बौद्ध ९ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने ७ अभियुक्त लागूऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौंको आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा चोरी समूहको मुख्य नाइके हुन् । उनीसँगै चोरी तथा लागूऔषधमा संलग्न झापाको कन्काईका २५ वर्षीय सनम माझी, शिवसताक्षीका २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवादुङ्माका ३२ वर्षीय सन्तोष विक र ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा सिन्धुपाल्चोका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर छन् ।

लामो समयदेखि चोरीमा संलग्न अभियुक्तको खोजतलासमा प्रहरीले निकै मेहनत गरेको थियो । ७ जनालाई बुधवार पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो ।

काठमाडौंको बौद्धक्षेत्रलाई लक्ष्य गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले औं‌ठी र सिक्री गरी ६४ तोला ३४ लाल सुन, ५ किलो ६९३ ग्राम चाँदी र ५ लाख ३३ हजार ७० रुपैयाँ बरामद गरको छ । प्रहरीले चोरीका मुख्य अभियुक्त लामा र अन्य अभियुक्तका कोठा तथा बबरको पसलबाट गरी सुनचाँदी बरामद गरेको छ ।

विभिन्न घर तथा पसलबाट चोरी गरेको सुन अभियुक्तले जोरपाटी बराल पेट्रोल पम्प नजिकैको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्रमा लगेर त्यसको स्वरूप परिर्वतन गरी बेच्ने गरेको पाइएको छ । चोरीमा सहयोग गर्दै सामानको स्वरूप परिर्वन गरी बिक्रीवितरण गर्ने पसल सञ्चालक २३ वर्षीय बबरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनले सञ्चालन गर्दै आएको पसल हालसम्म दर्ता नभएको प्रहरीले बताएको छ ।

हालसम्म सुनचाँदी र नगद चोरी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त बौद्धमा ९ जनाले जाहेरी दिइसकेको तथा १ जनाले जानकारी मात्र दिएको बौद्ध प्रहरी प्रमुख कार्कीले बताए ।

प्रहरीले उनीहरूका साथबाट लागूऔषध खैरो हेरोइन २७ ग्राम, ५ लाख ३२ हजार, अमेरिकी डलर ६, ६० तोला ८७ लाल सुन, ५ किलो ६९३ ग्राम चाँदीसहित लुटपाटमा प्रयोग भएको बाग्मती प्रदेश ०२०२० प ६६११ र बाग्मती प्रदेश ०२–००५ प ३८३५ नम्बरको स्कुटर बरामद गरेको छ ।

ल्यापटप, मोबाइल, लागूऔषध तौल गर्न र सुनचाँदी जोख्ने तराजु एवं २ थान यन्त्र, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत सामग्री समेत बरामद गरिएको छ ।

कमेन्ट्स
Loading...